|

दाङ : पछिल्लो समय जिल्लामा खेतीयोग्य जमिन मासिँदै जान थालेको छ। जिल्ला कृषि विकास कार्यालय दाङका अनुसार वर्सेनि चार प्रतिशतका दरले खेतीयोग्य जमिन मासिँदै गएको छ।

सिँचाइ अभाव, प्लटिङलगायतका कारणले खेतीयोग्य जमिन मासिँदै जान थालेको हो। दाङको कुल क्षेत्रफल दुई लाख ९५ हजार ५०० हेक्टरमध्ये ६९ हजार ९५० हेक्टर खेतीयोग्य जमिन हो। जिल्ला कृषि विकास कार्यालयका अनुसार २०७० सालमा ३८ हजार ४३० हेक्टर जमिनमा धान खेती भएको थियो तर २०७२ सालमा घटेर ३६ हजार ५०० हेक्टरमा आएको कार्यालयले जनाएको छ।

दुई वर्षमा एक हजार ९३० हेक्टर जमिनमा खेती नहुँदा उत्पादनमा समेत ह्रास आएको थियो। यस्तै, २०७४ सालमा ३६ हजार ४१० हेक्टर क्षेत्रफलमा धान खेती भएको छ। घर घडेरीका लागि प्लटिङ, खेती गर्नेहरू विदेश पलायन, बाँझो राख्ने प्रवृत्ति बढ्दै जाँदा खेतीयोग्य जमिन घट्दै गएको छ। फलस्वरूप कृषि उत्पादनमा पनि गिरावट आएको छ।  

जलवायु परिवर्तनले पनि त्यस्तै प्रभाव पार्ने गरेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तिलक केसीले बताए। 'समयमै पानी पर्दैन, यसले गर्दा खेतहरू बाँझो रहने अवस्थाको सिर्जन हुन्छ। अर्कोतर्फ सिँचाइको समस्या पनि त्यस्तै छ', उनी भन्छन्। दाङको आधाभन्दा बढी खेतीयोग्य जमिनमा अझै सिँचाइ पुग्न सकेको छैन। कुल खेतीयोग्य जमिनमध्ये आधाभन्दा बढी जमिन अहिले पनि आकासे पानीकै भरमा छ।

वर्षा राम्रोसँग भयो भने खेती हुन्छ। नभए हुँदैन। वर्षातको पानीको भरमा दाङका खेतहरूमा रोपाइँ भइरहेको छ। यसले गर्दा पनि समस्या निम्तिएको छ। धेरै जमिनमा सिँचाइका लागि कुलो, नहर पुर्‍याउन नसकिए कृषि विकास कार्यालयको भनाइ छ। कार्यालयका अनुसार दाङमा करिव खेती हुने ५९.८ प्रतिशत जमिनमा अझै पनि आकासे पानीकै भर पर्नुपर्छ। अर्कोतर्फ अव्यवस्थित रूपमा खेतीयोग्य जमिन प्लटिङ हुनुले पनि खेतीयोग्य जमिन मासिँदै जान थालेको छ।  

जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत केसीका अनुसार यस वर्ष पनि करिव तीन प्रतिशतका दरले खेतीयोग्य जमिन घट्ने सम्भावना रहेको छ। विगतमा भन्दा प्लटिङ गर्ने क्रम केही न्यूनीकरण भएकाले तीन प्रतिशत जति मात्रै घट्ने अनुमान रहेको उनले बताए। उनका अनुसार यस वर्ष अहिलेसम्म ९७ प्रतिशत रोपाइँ भइसकेको जानकारी दिए। यस वर्ष समयमै पानी नपरेकाले रोपाइ ढिला भएको उनको भनाइ थियो। समयमा पानी नपर्दा उत्पादन घट्न सक्ने उनले बताए। सिँचाइको उचित प्रबन्ध नमिलाउँदा पनि यस्तो समस्या आएको छ।

दाङको अधिकांश खेतीयोग्य जमिन आकासे पानीको भरमा रहेकाले पनि यस्तो समस्या रहेको उनको भनाइ थियो। उचित सिँचाइका लागि हाइड्याम्प बनाउने अनि वर्षातको पानी संकलन गर्ने र सिँचाइका लागि प्रयोग गर्ने गरेमा सहज हुने उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.