|

सुर्खेत : कर्णाली प्रदेशमा नेकपाको पार्टी एकताको लागि जिल्लागत रूपमा नेतृत्व साविकका कुन पार्टीले गर्ने भन्ने भागबण्डा लगभग टुंगाे लगाएको स्रोतले बताएको छ। जसअनुसार पूर्व एमालेले सुर्खेत, दैलेख, जुम्ला र डोल्पा तथा पूर्वमाओवादी केन्द्रले सल्यान, रुकुम, जाजरकोट र हुम्ला जिल्लाको नेत्तृत्व गर्ने भएकाछन्।

स्रोतका अनुसार मुगु र कालिकोटका बारेमा छलफल जारी रहेको छ। तर अन्ततः कालिकोटमा पूर्व माओवादी केन्द्र र मुगुमा पुर्व एमालेको नेतृत्व पाउने स्रोतको दावी छ। कर्णाली प्रदेशको नेकपाको नेतृत्वमा अध्यक्षमा पूर्व एमालेका यामलाल कँडेल र गोरख बोगटीको नाम चर्चामा आएको छ। भने पूर्व माओवादीको तर्फबाट मायाप्रसाद शर्माको चर्चा भएको छ। स्रोतका अनुसार साविकका् माओवादी केन्द्रका जनार्दन शर्मा कर्णालीको प्रदेशको इन्चार्ज हुने भएकोले प्रदेश अध्यक्ष पूर्व एमालेले पाउने सम्भावना छ। 

'कर्णाली प्रदेश सभाका सदस्य समेत रहेका यामलाल कँडेल अध्यक्ष नभएमा पूर्व एमालेका नेता गोरख बहादुर बोगटीले अध्यक्ष पाउन सक्ने सम्भावना छ।’ स्रोतले भन्यो, ‘पूर्व एमालेबाट अध्यक्ष भएमा पूर्व माओवादीको तर्फबाट प्रदेश सचिवमा रामदिप आचार्यको सम्भावना देखिन्छ।’ यता पूर्व एमाले र माओवाली केन्द्रको पार्टी एकताको विषयलाई लिएर कर्णालीका स्थानीय नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन्। कर्णाली प्रदेशमा नेकपाको एकता प्रक्रियामा चरम गुटबन्दीलाई प्रोत्साहान हुने गरी एकतालाई अघि बढाएको स्थानीय नेताहरुले गुनासो गरेका हुन्। कार्यकर्तालाई नेतृत्वले भुठा आश्वासन बाँडेको तथा पार्टी एकतामा पद्धतिका हिसावले कर्णालीका नेताले गम्भीर गल्ती गरेको प्रदेशस्तरीय एक नेताले आरोप लगाए। 

नाम नबताउने सर्तमा नेकपाका ती नेताका अनुसार ‘कर्णाली प्रदेशका ठूला भनेका नेताले आ-आफ्नो जिल्लामा आफू अनुकूल पार्टी कमिटी निर्माण गर्ने गरी जिल्लाको नेतृत्वको बाँडफाँड गरेकाले यसले दीर्घकालीन रूपले  गुटलाई प्रसय दिएको छ।’ ठूला नेताहरूले आफ्नो जिल्लामा आफ्नो अनुकूलको संगठनमा मात्र चाँसो देखाएका छन्। स्रोतका अनुसार जनार्दन शर्माले रुकुम, शक्तीबहादुर बस्नेतले जाजरकोट, महेन्द्रबहादुर शाहीले कालिकोटमा आफ्नो अनुकूलको संगठनमा नेतृत्व लिनमा पहल र अडान राखेको त्यस्तै पूर्व एमालेका यामलाल कँडेलले सुर्खेत, चन्द्रबहादुर शाहीले मुगु, तथा प्रकाश ज्वालाले सल्यान लगायतका आफू अनुकूलका जिल्लामा नेतृत्वको दावी  तथा अडान गरेका छन्। जसले पछि बन्ने पार्टीमा नकरात्मक संदेश दिने स्रोतको दावी छ। यता कर्णाली प्रदेशको राजधानीका रूपमा रहेको सुर्खेत जिल्लामा पूर्व एमालेले नेतृत्व लिने भए पनि सुर्खेत पूर्व एमाले पंक्तिमा सुर्खेतको भावी नेकपाको नेतुत्वका बारेमा चर्चा परिचर्चा व्यापक रूपमा भएको छ। 

एक स्रोतका अनुसार जिल्ला अध्यक्षको दौडमा झण्डै आधा दर्जन नेताहरु लागेका छन्। पूर्व उपाध्यक्ष अमृत बिसी, चुडामणि शर्मा, कवी हमाल र मोहन बडुवालको चर्चा रहेको छ। त्यस्तै सचिवका लागि पूर्व माओवादी केन्द्रबाट जितबहादुर राना, गणेश भण्डारी, हरिमाया शर्मा र लोकेन्द्र रानाको चर्चा रहेको छ। तर यदि पूर्व जिल्ला संयोजक कृष्ण जिसी सचिवको जिम्मेवारी लिन तयार भए अन्य आकांक्षी पछि हट्ने एक नेताको दावी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.