|

कपिलवस्तु : नेपालको दोस्रोस्तरमा कायम गरिएको बाणगंगा नदीले प्रतिवर्ष बहाव क्षेत्र विस्तार गर्दै गएपछि नदी किनारका बस्ती संकटमा परेका छन्। जिल्लाको यशोधरा गाउपालिका– ८ को खोरिया गाउँ अहिले नदीले बगाउने खतरा बढेको छ। सो गाउ नदी कटानको उच्च जोखिममा रहेको छ।

बाणगंगा नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा बढेको हो। २४० घरधुरी रहेको गाउँमा नदी कटान ठूलो समस्याको रूपमा देखा परेको छ। ४० वर्ष अघिसम्म पश्चिमतर्फ रहेको नदीको बहाव अहिले गाउँको एकदमै नजिक पुगेको छ। नदीको बहाव क्षेत्रदेखि गाउँ १० देखि १५ मिटरभन्दा कम छ। कटानलाई रोक्न कच्ची बांध मात्र छ। त्यसभन्दा तल कटान रोक्न नदीको पूर्वपट्टी तटबन्ध निर्माण गरिएको छ। वर्षोदेखि स–सानो प्याकेजमा तटबन्ध निर्माण गरिएको छ।

जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालयलगायतका निकायले स–साना प्याकेजका नाममा खोरियाका लागि लक्षित गरी ८ करोड बढी रकम खर्च गरी सकिएको स्थानीय अगुवा मानुल्लाह मुसलमानले बताए। ‘पटकपकट गरी ५०० मिटर तटबन्ध निर्माण गरि सकिएको छ तर कटानको समस्या भने समाधान हुन सकेको छैन’ कटान भएको क्षेत्र देखाउँदै उनले अगाडि थपे ‘ठोस योजनासहीत छिट्टै नदी नियन्त्रणको काम गरिएन भने खोरिया गाउँलाई अब बचाउन मुस्किल छ।’

नदीले बहाव परिवर्तन गर्दै पूर्वतर्फ गएपछि ४० वर्षको अवधिमा दुई हजार बिघा खेतीयोग्य जमिन पनि नदीले कटान गरेको उनले बताए। ‘गाउँका सबै जसोको धेरै/थारै जमिन नदीले बगाएको छ’ उनले भने।

अधिकांस विपन्न परिवार रहेको गाउँमा नदी कटानले खेत बगरमा परिणत भएपछि गाउँलेहरू समस्यामा परेको बताउँछन्। नदीका कारण ५० बिघा खेत गुमाएका जमिरल्लाह मुसलमानले नदी कटान आफ्नो लागि अभिसाप बनेको बताए। ‘भएको खेत जति सबै नदीले खायो, थोरै मात्र बाँकी छ, परिवारको गुजारा चलाउन पनि मुस्किल बनेको छ’ उनले दुःखी हुँदै भने।

नदीले २५ बिघा खेत बगर बनाएपछि पीडामा रहेको स्थानीय कृषक अनारुल हाजीले नदीले गर्दा गाउँलाई नै गरिब बनाएको बताए। ‘उर्भर जमिन जति सबै नदीले बालुवा बनायो, खान लागउँन पनि समस्या परेको छ’ उनले भने।

बनाईएको तटबन्ध नदीको उच्च बहावलाई भत्काउन थालेपछि गाउँलेहरू त्रसित बनेका छन्। तटबन्ध नरहेको दक्षिणतर्फ नदीले धमाधम कटान गर्न थालेको छ। ‘तटबन्ध नभएको ठाउँमा नदीले कटान गर्दै गाउँतिर धकेल्न थालेको छ’ स्थानीय राम मिलन कोरीले भने ‘चाँडै तटबन्ध निर्माण नगरिए नदी गाउँमा पस्नबाट अब कसैले रोक्न सक्दैन।’

दुई वर्षअघि नदी गाउँमा पसेर गाउँ नै डुबानमा परेको थियो। यस वर्ष कम वर्षा भएकोले ठूलो बाढी आएको छैन्। बाढी आयो भने खोरिया गाउँलाई नै बगाउनले ठूलो खतरा रहेको गाउँलेहरू बताउँछन्।

नदी कटानको समस्याले गर्दा खोरियामा गाउलेहरूले रातिको समयमा पालैपालो पहरेदारी गर्ने गरेका छन्। ‘आकाशमा बादल मडारिदा वर्षा हुने जस्तो देखेपछि पालैपालो पहरेदारी गदै आएका छौँ, स्थानीय खजान्ची दर्जीले भने।

खोरिया गाउँको नदी कटानको समस्या बुझ्न स्थलगत अनुगमनमा पुगेको कांग्रेस नेता सुधाकर पाण्डेयले खोरिया गाउँ नदी कटानले उच्च जोखिमा रहेको बताए। यसको नियन्त्रणका लागि सरकारले चाँडै कदम चाल्नु पर्ने उनको जोड छ। ‘नदी नियन्त्रणका लागि सरकारले चाँडो कदम उठाउनु पर्छ, ढिला गरे जनधनको ठूलो क्षति हुने खतरा छ’ उनले भने ‘एकै प्याकेजमा योजना बनाई काम गर्नुपर्छ।’

यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेश पाण्डेयले उच्च जोखिममा रहेको खोरिया गाउँलाई बचाउन आफूले सक्दो पहल गर्ने बताए। ‘यसबारे संघीय र प्रदेश सरकारलाई पत्र लेखेर ध्यानाकषर्ण गराउछु’ उनले भने। नदी कटानको समस्याबारे भने कसैले चासो नदिएको गाउँलेहरू गुनासो गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.