|

एसियाली देशहरुको सर्वाधिक ठूलो स्पोर्टस् इभेन्टका रुपमा रहेको एसियाड फुटबलको औपचारीक सुरुवात भएको छ। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले जकार्ताको गेलारो बुुङ कार्नाे रंगशालामा शनिबार राति भब्य समारोहबीच एसियाली खेलकुदको १८ औं संस्करण सुरु भएको घोषणा गरेका हुन्।

राष्ट्रपति विडोडो एसियाडको उद्घाटन गर्न आफ्नो निवासबाट कार्गेटमा आए पनि बीच बाटोमा कार्गेटबाट ओर्लिएर आफैं मोटरसाइकल चलाएर रंगलाशाला प्रवेश गरेका थिए। मोटरसाइकलमा रंगशाला प्रवेश गरेसँगै १८ औं एसियाडको भव्य उद्घाटन समारोह औपचारिक रुपमा सुरु भएको थियो। मोटरसाइकल चढेपछि रंगशाला पुुग्नुु अघि राष्ट्रपति विडोडोले आकर्षक स्टन्ट समेत प्रदर्शन गरेका थिए।

राष्ट्रपति विडोडोले प्रतियोगिताको उदघाटन गर्दै भने, ‘एसियाको नयाँ शक्ति इन्डोनेसियामा तपाईहरुलाई स्वागत छ। एसियाड आजबाट सुरु भएको घोषणा गर्छु।’ एसियाली खेलकुदकै इतिहासमा दुुई फरक शहरमा हुन लागेको एसियाडका खेलहरु सेप्टेम्बर २ तारिखसम्म राजधानी जकार्ता र पालेम्वाङमा हुनेछ।

दोस्रो पटक एसियाड आयोजना गरेको इन्डोनेसियाले सन् १९६२ को चौथो संस्करण आयोजना गरेको थियो। ४५ देशका ११ हजार पाँच खेलाडी सहभागी एसियाडमा विभिन्न ४० खेलमा ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ। एसियाडमा हालसम्मकै सर्वाधिक खेलमा सहभागिता जनाएको नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्नेछ। १२९ पुरुष र ५६ महिला खेलाडी एसियाडमा सहभागी छन्। नेपालले एसियाडमा सहभागी गराएको खेलाडी संख्या दोस्रो धेरै हो।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का अध्यक्ष अहमद अल फहाद अल अहेमद अल सवाहले एसियाडको उद्घाटन समारोहलाई सम्बोधन गर्दै इन्डोनेसियाले ४५ राष्ट्रलाई एउटै स्थानमा ल्याएको र भाइचारको सम्बन्ध स्थापित गर्न सहयोग गरेको बताए। उनले इन्डोनेसियाको अतिथि सत्कारले सबैलाई प्रभावित पारेको बताउँदै ५३ वर्षपछि इन्डोनेसियामा एसियाड फर्केको बताए।

त्यस्तै, आयोजक कमिटिका अध्यक्ष तथा एनओसी इन्डोनेसियाका अध्यक्ष इरिक थोहिरले एसियाडले नयाँ इतिहास रचेको बताए। उनले इन्डोनेसियाले आयोजनाका लागि राम्रो तयारी गरेको बताउँदै खेलाडी राष्ट्रको शक्ति भएको बताए।

रंगशालाको मध्यभागमा कृतिम पहाडमा झरना बनाएर मञ्चलाई आकर्षक बनाइएको थियो। इन्डोनेसियाको पर्यटकीय एवं चर्चित स्थल बालीको पहाडलाई झझल्को दिने गरी मञ्चमा कृतिम पहाड तयार पारिएको थियो।

कमलले बोके नेपाली झन्डा

दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनका एक मात्र स्वर्ण विजेता कमलबहादुर अधिकारीले मार्चपासमा नेपालको झन्डा बोकेका थिए। मार्चपासमा नेपालबाट ११० सदस्यीय टोली सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.