|

बुटवल  : ‘गाउँपालिकाका जनप्रतिनिधि ठेकेदार बनेर डोजर चलाउन पाइन्छ?', गत बिहीबार मात्रै प्रधानमन्त्री केपी ओलीले गाउँपालिकाका प्रतिनिधिसँग प्रश्न गरेका थिए। तर जनप्रतिनिधिहरू भने सकेसम्म ठेक्कापट्टामा छन्। त्यो नभए डोजर मात्रै भए पनि प्रयोग गर्दै आएका छन्।

कानुनले गाउँ–नगरका प्रतिनिधिलाई नाफा कमाउने काममा संलग्न हुन वा ठेक्कापट्टा गर्न दिँदैन। त्यसैकारण अधिकांश जनप्रतिनिधिले नातागोता र आफन्तका नाममा डोजर चलाउँदै आएका छन्।

अन्नपूर्ण पोष्टका अनुसार पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमण थापा पेशैले ठेकेदार हुन्। निर्वाचनअघि ठेक्कापट्टा गर्थे। नगरप्रमुख बनेपछि ठेक्कामा नगरकै काम धेरै गरेका छन्। पत्नीका नाममा रहेको सुधा कस्ट्रक्सनले गएको आर्थिक वर्षमा ७० लाख जतिको काम गरेको छ। नगरप्रमुखकै कम्पनी भएपछि ठेक्कापट्टामा पहिलो नम्बरमा छानिने गरेको अन्य ठेकेदार बताउँछन्।

रामपुर मात्रै नभई पाल्पाको रैनादेवीछहरा, माथागढी, वेगनासकाली, तिनाउँ गाउँपालिका र तानसेन नगरपालिकाका जनप्रतिनिधिले पनि आफै वा आफन्तको नाममा डोजर किनेका छन्। अनि आफ्नै गाउँ–नगरमा सञ्चालन गर्दै आएका छन्।

वेगनासकाली गाउँका प्रवक्ता लक्ष्मी अधिकारी पनि विगतमा निर्माण व्यवसायीको काम गर्थे। उनी जनप्रतिनिधिमा निर्वाचित भए। अधिकारीले बहिनी ज्वाइँको नाममा गाउँपालिकाभित्र डोजर चलाइरहेका छन्। तानसेन नगर वडा नंं ५ का सदस्य विष्णुबहादुर कार्कीले सालाको नामबाट डोजर चलाइरहेका छन्।

माथागढी गाउँपालिका १ वडाध्यक्ष शिवप्रसाद घिमिरेले छोरा दीपक र दिनेश घिमिरेको नाममा डोजर चलाएको स्थानीयले बताए। वडा नंं २ का अध्यक्ष जनक रिजालले साला भागीरथ भट्टराईको नाममा डोजर चलाउँछन्।

वडा नंं ६ का अध्यक्ष रनबहादुर खाम्चाले छोराको नाममा डोजर चलाउँछन्। आफ्नै र आफन्तको नाममा डोजर किनेकाहरू सडकको ठेक्का लिने निर्णय गर्दा आफ्नै पक्षमा पार्न कस्सिएर लाग्ने गरेको एक वडासदस्यले बताए। ‘कतिले त प्रमुखलाई समेत कमिसन छुट्याएर काम आफ्नो हातमा लिन्छन्’, उनले दाबी गरे।

पाल्पाकै रिब्दीकोट गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष तुलबहादुर जिसीले फरक व्यक्तिको नाममा डोजर चलाउँदै आएका छन्। तिनाउँ गाउँपालिका वडा नंं ४ का अध्यक्ष दानबहादुर गाहाले गाउँपालिकाभित्रै डोजर चलाउँछन्। उनले आफ्नो वडाको पहिलो काम आफै ठेक्का लिएका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.