फक्रेको तरूपुष्प वैलिन गई खस्नेछ बेला पुगे
सेता अक्षरमा दिएर यमले चिठ्ठी पठाई सके।।
शेखी गर्दछ भ्यागुतो रह परी आकाश थाम्दो सरी
कस्तो लोक छ, छन् अनन्त सपना आश्चर्य लाग्यो हरि।।
माथिका श्लोकका रचनाकार मनिराज जोशी हुन्। मध्य र सुदूरपश्चिमका साहित्यकार माझ अग्रपंक्तिमा आउने नाम हो, मनिराज जोशी। झण्डै साढे चार दशकदेखि सक्रिय लेखनीमा रहेका जोशी महाकाव्यकारका रूपमा चिनिन्छन् तर उनको परिचय यतिमै सीमित भने छैन।
जब कन्जुसलाई कविता सुनाएर पाँच रुपैयाँ पाए
२०१२ सालमा डोटीको गाँजरीमा जन्मिएका जोशीले नेपाली साहित्यमा पुर्याएको योगदान अतुलनीय छ भन्छन् उनका समकालीन तथा नयाँ पुस्ताहरू। आठ वर्षकै कलिलो उमेरमा बुबा गुमाउँदाको पीडाले साहित्य लेखनी सुरु भएको बताउँछन् उनी। उनी भन्छन्, ‘वियोगका बेला कोरिएका शब्दहरू कविता भए।’
२०२८ सालमा जन्मथलो डोटीको गाँजरीमा गाउँमै आयोजना भएको एक कार्यक्रममा गाँउभरिको एक जना लोभी व्यक्तिको विषयमा चर्चा भयो। त्यहि व्यक्तिको बानी व्यवहारलाई उठान गरी जोशीले 'कन्जुस' शीर्षकमा कविता लेखे। कविता सुनाएर तिनै कन्जुस व्यक्तिबाट पाच रुपैयाँ इनाम पाएपछि उनले साहित्य लेखनको सुरुवात गरे।
उनी त्यो पुरस्कारलाई कहिल्यै भुल्दैनन्। ‘गाउँमा कन्जुस प्रधान थिए। उनको बारेमा कविता लेखे र सुनाए। 'उनले गोजीबाट पाँच रुपैयाँ झिकेर दिए, मलाई संसार जितेको जस्तो लाग्यो’, त्यो पल सम्झिँदै जोशीले भने।
मनिराजको साहित्य यात्रा
जोशीको साहित्य यात्रा निकै रोचक छ। डोटी, गाँजरी पुर्ख्यौली घर भएका जोशी २०२८ सालमा ज्योतिष सिक्न गए। त्यसै क्रममा उनलाई कविता लेख्ने रहर जाग्यो। रहरमै कविता लेख्दालेख्दै उनी साहित्यका अनुरागी भए। त्यसपछि उनी साहित्यकर्मबाट टाढा रहन सकेनन्। संस्कृतका श्लोक पढ्दै गर्दा कविता लेख्ने रहर पलाएको जोशी बताउँछन्। ‘संस्कृत श्लोक पढ्दा कविता लेख्ने रहर जाग्यो, लेख्दै गर्दा साहित्यको नशा बसेको पत्तै पाइनँ’, उनले भने।
त्यसको सात वर्षपछि २०३५ सालमा जोशीको परिवार तराई झर्यो। १० वर्षसम्म थुप्रै कविता कोरे तर पनि कृति प्रकाशन भएन। २०४५ सालमा शिवरात्रिको अवसरमा कैलालीको बेहडाबाबा मन्दिर पुगेपछि जोशीलाई मन्दिरकै छेउमा बसेर कविता लेख्ने जाँगर चल्यो। फर्किंदा बाटोमा अर्को कविता लेखे, घर पुगेपछि अर्काे। एकै दिनमा तेस्रो कविता लेखे अनि पहिलो कृति 'बेहडाबाबाको उत्पत्ति र महिमा' शीर्षक दिएर प्रकाशन गरे।
खप्तड महाकाव्य तृतीयसोपा श्लोक
साधनाले भए ब्रह्मा सृष्टिव्युत्पन्न गर्दछन्
साधनाले भए शम्भु सर्वत्र पुज्य बन्दछन्।
साधनाले महावीर भयो बाँदर पूजित
शवरी भिल्लिनी हुन्छिन् यशस्वी जगवन्दित।
साधना महुरी गर्छन् महस्वादिष्ट बन्दछ
साधनाले बन्यो स्वर्ग सर्वसाधन सौख्यद।
पुत्रोत्पादन या निद्रा आहार भय मैथुन
गर्दै छन् पशुले हाम्रो के छुट्टै छ र जीवन?
खानपान र सम्मान शान हो क्षणभङ्गुर
साधना मात्र संघर्ष साथ जानै छ तत्पर।
साधना अनि संघर्ष त्याग लोकोपकारको
महिमा जानिए मात्रै भयो सार्थक जन्म यो।
औचारिक शिक्षाबिनाका महाकाव्यहरू
कविताबाट साहित्य यात्रा थालेका जोशीले अन्य विधामा समेत कलम चलाएका छन्। ‘हरेक विधाका छुट्टाछुट्टै पाठक भएकाले सबैमा लेख्नुपर्छ भन्ने लाग्यो’, उनले भने, ‘त्यसपछि कथा, निबन्ध, खण्डकाव्य र महाकाव्य लेखेँ।’
औपचारिक शिक्षा हासिलसमेत नगरेका जोशीले लेखनका क्षेत्रमा ३१ बढी कृति प्रकाशन गरिसकेका छन्। साहित्यको विशिष्टतम् कृति मानिने महाकाव्य मात्रै छवटा प्रकाशन गरेका छन्। सातवटा खण्डकाव्य छन्। उनले सुदूरपश्चिमका प्रसिद्ध व्यक्तित्व एवम् धार्मिक तथा पर्यटकीय क्षेत्रबारे महाकाव्य लेखेका छन्।
जयपृथ्वीबहादुर, शहीद दशरथ चन्द, पहलमानसिंह स्वाँर, प्रकाश, शैलेश्वरी र खप्तड उनका महाकाव्य हुन्। सात खण्डकाव्य, ११ धार्मिक आस्थाका कृति, एक कथासंग्रह र अन्य आठवटा मानव चरित्र निर्माणमा उपायोगी कृति गरी उनका ३१ वटा कृति प्रकाशनमा छन्।
२०३४ सालपछि उनको लेखनीले निरन्तरता पायो। ‘२०३४ सालमा बसाइँसाराइ गर्दै धनगढी आएँ। पत्रपत्रिका र किताबहरू पढ्न थालेँ। लेखनीमा रुचि बढेर गयो', उनले भने, 'स्थानीय पत्रिकाहरूमा लेखेँ, सबैले राम्रो भन्न थाले अनि पुस्तक निकालेँ।’
जोशीले किताबी अध्यन मात्रै ज्ञान हो भन्ने भनाइलाई मिथ्या सावित गरिदिएका छन्। ‘ज्ञान भनेको किताबी ज्ञान मात्रै होइन’, उनी भन्छन्, ‘आदिकवि भानुभक्त आचार्य, कालीदासले कति पढेका थिए र! ज्ञान भनेको त विवेक हो। किताबभन्दा बाहिरबाट विवेक बढाउन सकिन्छ।’
‘श्रीखण्ड जति घोटिन्छ, त्यति नै वास्ना दिन्छ, जब ढुंगा घोटिन्छ, अनि मात्र शालिग्राम बन्छ, जिन्दगी पनि त्यस्तै हो', जोशी भन्छन्, 'नघोटिएको ढुंगा काम लाग्दैन, संघर्षबिनाको जिन्दगी पनि त्यस्तै हो, काम लाग्दैन।’
गुमनाम परिचय कर्मचारी र ज्योतिषी
जोशीको परिचय साहित्यकारमा सीमित छैन। पूर्व निजामती कर्मचारीका रूपमा पनि उनको परिचय जोडिएको छ। ज्योतिष ‘कोर्स’ पूरा गरेको केही समयपछि २०३४ सालमा उनी बसाइँ सरेर धनगढी पुगे। २०३४ सालमा निजामती सेवामा आबद्ध जोशीले त्यहाँ झण्डै दुई दशक सेवा गरे।
२०३४ सालमा धनगढी बसाइँ सरेका जोशी त्यही वर्ष निजामती सेवामा प्रवेश गरे। त्यसपछि पनि उनको यात्रा जारी नै रह्यो। ‘दिनभर अफिसको काम गरेर बिहान–बेलुका साहित्य लेख्थेँ’, उनले भने। २०३५ सालपछि उनी साहित्यमा अझ बढी क्रियाशील भए। त्यतिबेला महेन्द्रनगरबाट प्रकाशन हुने पत्रिकामा उनी निरन्तर रचना पठाउन थाले।
‘रचना प्रकाशन हुन थालेपछि साहित्यमा केही गर्ने हौसला मिल्यो’, उनी भन्छन्, ‘यसले कृति प्रकाशन गर्न आधार बनायो।’ २०५४ सालमा तृतीय श्रेणीबाट उनले स्वेच्छिक अवकास लिए। त्यसपछि उनले ज्योतिषी पेसालाई व्यावसायिक बनाए। उनी धनगढीका ‘नामी’ ज्योतिषी मानिन्छन्। उनीकहाँ चिना हेराउन तथा भविष्यबारे जान्न आउनेको दैनिक भीड लाग्ने गरेको छ। निजामती कर्मचारीका रूपमा कार्यरत रहँदा पनि उनले थुप्रै कृति सिर्जना गरे।
१० लाख राशिको ‘मनिराज वाङ्मय अक्षय कोष’ स्थापना
जोशीको परिवारले १० लाख रुपैयाँ राशिको ‘मनिराज वाङ्मय अक्षय कोष’ स्थापना गरी साहित्यिक पुरस्कारको घोषणा गरेका छन्।
साहित्यकार जोशी र उना छोराहरू गोविन्दराज जोशी, वासुदेव जोशी तथा बुहारी तारा रोश्यारा जोशीले संयुक्त रूपमा १० लाखको अक्षयकोष खडा गरी ‘मनिराज वाङ्मय अक्षय कोष’ खडा गरी पुरस्कार स्थापना गरेका हुन्।
केही समयअघि नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी (कैलाली)ले आयोजना गरेको साहित्यिक समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो। पुरस्कार संचालनको जिम्मा नेपाली साहित्यिक तथा संस्कृति प्रतिष्ठान गोदावरीले पाएको छ। प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीलाई जोशी परिवारका सदस्यले कोषमा जम्मा गर्न १० लाख रुपैयाँको चेकसमेत हस्तान्तरण गरिसकेका छन्।
कला साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई वर्सेनि सम्मान गर्ने लक्ष्यसहित पुरस्कार स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले बताए। उनले भने, ‘प्रदेश ७ मा यस्ता ताराहरू थुप्रै छन्, हामी तिनको पहिचान गरी सम्मान गर्न चाहन्छौँ।’
सम्मानको अोइरो
नेपाली साहित्यको योगदान स्वरूप विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका जोशीले यस वर्षको संकृति विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कारसमेत पाए। गत असार २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा उनलाई ५० हजार रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरेका हुन्।
जोशीले हालसम्म सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार, विद्यार्थी साहित्य पुरस्कार, प्रतिभा पुरस्कार (विराटनगर), लेखनाथ काव्य पुरस्कार (त्रिमूर्ति निकेतन), महाकवि देवकोटा पुरस्कार (काठमाडौं), टेकनाथ-शिवा अधिकारी पुरस्कार (विराटनगर), दीनानाथ भट्ट पुरस्कार (कैलाली), नर-राजु मोबरा पुरस्कार, चेतना संरक्षण प्रतिष्ठान पुरस्कार (२०७४), प्रादेशिक प्रतिभा पुरस्कार (२०७५) पुरस्कार प्राप्त गरिसकेका छन्।
मुलुकभरका सय बढी विभिन्न साहित्यिक संस्थाले उनलाई सम्मानित र पुरस्कृत गरेका छन्। उनको योगदानको कदर गर्दै धनगढीका दुई दर्जन संघसंस्थाले उनको रथयात्रासहित नागरिक अभिनन्दनसमेत गरेका थिए। नागरिक अभिन्दनमा हजारौँको सहभागिता रहेको थियो। छवटा महाकाव्यसहित ३१ वटा कृतिका रचयिता जोशीको नागरिक अभिनन्दनमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रशाद उप्रेती प्रमुख अतिथि रहेका थिए।
कुनै पनि औपचारिक शिक्षा हासिल नगरी कला, साहित्य क्षेत्रमा चार दशकसम्म पुर्याएको योगदानको कदर गर्दै महाकाव्यकार जोशीको अभिनन्दन गरिएको हो। मुलुकका विभिन्न क्षेत्रका साहित्यकारले उनको जीवनीबारे कृतिसमेत लेखेका छन्। उनी साहित्यकर्ममा मात्र होइन, समाजसेवामा पनि क्रियाशील छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।