|

काठमाडौ: नेपालमा २०७२ सालभन्दा अगाडि विभिन्न तहमा स्वास्थ्य बिमाको सैद्धान्तिक बहस नभएको होइन। अझ स्व. डा. उपेन्द्र देवकोटाले सबै जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्वास्थ्य बिमा लागू गर्नु पर्ने बिषय बेलाबेलामा उठाउँदै आएका थिए। तर यसलाई मुर्त रुप भने २०७२ चैत २५ गते तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीको पालामा भयो। तत्कालिन स्वास्थ्य मन्त्री अधिकारीले बिभिन्न अवरोधहरु छिचोल्दै सुरुमा इलाम, कैलाली र बाग्लुङबाट स्वास्थ्य बिमाको सुरुवात गरे।

उनले भने 'तत्कालिन सरकारका अर्थमन्त्री र कानुन मन्त्रीले छ महिनासम्म बिमा लागू गर्ने बाटो नै रोक्नु भएको थियो तर मैले स्वास्थ्यमा काम गरेको केही समयमा नै जनतालाई स्वास्थ्यको पहुचँमा पुर्‍याउन स्वास्थ्य बिमा उपयुक्त हुन्छ भनेर विकास समितिबाट बिमा लागू गर्नेगर्ने निर्णय गरेको हुँ।'

तीन जिल्ला बाट सुरु भएको स्वास्थ्य बिमा हाल देशको ४२ वटा जिल्लामा सञ्चालन भइसकेका छन्। भने सरकारले आगामी तीन बर्ष भित्र देशका सम्मपुर्ण जिल्लामा बिमा लागू गर्ने घोषणा गरिसकेको छ।

०७२ सालबाट सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म ९ लाख ३७ हजार ८७४ जनाले स्वास्थ्य बिमाको सेवा लिइ सकेका छन्। सरकारले बिमालाई बिस्तार गर्ने लक्ष्य लिए पनि जनतामा भने बिमा कार्यक्रमप्रति घट्दो चासाे रहेको पाइएको छ।

घट्दै बिमाप्रति आकर्षण

हाल बिमा गराएकाहरुमा पहिलो बिमा गराएका बिमितहरु पुन: अर्को बर्ष नवीकरण गर्नेमा  १६ प्रतिशतले कमी छन्। सरकारले स्वास्थ्य बिमा विस्तार गर्दै गए पनि बिमितहरुले सेवा लिने सरकारी स्वास्थ्य संस्थामा प्रभावकारी र गुणस्तरीय सेवा नहुनु प्रमुख कारण रहेको पूर्व स्वास्थ्य मन्त्री अधिकारीको भनाइ छ। उनले भने 'सरकारले बिमा बिस्तार गर्दै लगे पनि त्यही अनुसारको सरकारी स्वास्थ्य संस्थामा पुर्वाधार र बिशेषज्ञ चिकित्सकहरुको सेवा छैन जसले गर्दा बिमामा जनताको विश्वास कम भएको हुन सक्छ।'

यस्तै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. मदन उपाध्याले पहिलो पटक बिमित हुनेहरु कतिले नवीकरण गरेनन् यकिन तथ्यांक अझै आउन नसके पनि बिमाको आकर्षण घट्दै गएको बताउँछन्।

देशका सबै जिल्लाहरुमा बिमा नपुग्नु र रेफरल अस्पतालको रुपमा रहेका जिल्लाहरुमा बिमा नपुग्नु पनि बिमामा आकर्षण घट्नुको कारण रहेको डा. उपाध्याय बताउँछन्। उनले भने 'देशका सबै जिल्लाहरुमा बिमा लागू नहुनु र ठूला अस्पताल रहेको उपत्यकाकै जिल्लामा बिमा लागू नहुनाले बिमामा आर्कषण घटेको जस्तो देखिएको हो तर सबै जिल्लामा बिमा लागू भए पछि यस्तो अवस्था हुँदैन।'

यो असारसम्म १५ जिल्लाका बिमितले पुन: नविकरण गर्नु  पर्ने हुन्छ। २५ चैत ०७२ देखि सरकारले कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेकोमा पहिलो पटक परिवार संख्या ६३ हजार ९०४ भए पनि नवीकरण गर्ने समयमा १० हजार ५४८ जनाले मात्रै नविकरण गरेका थिए।

कसरी गर्ने स्वास्थ्य बिमा?

सरकारले अहिलेसम्म ५ जना सदस्य रहेको एक परिवारसँग वर्षमा २ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराएको छ। एउटा परिवारमा सामान्यतया ५ जना सदस्य रहने अनुमान गरी सरकारले ५ जनाको परिवारबाट २ हजार ५ सय लिएर परिवारका सबै सदस्यको स्वास्थ्य बिमा गराउँछ। परिवारमा ५ भन्दा बढी सदस्य भएमा एक जनाको थप ४२५ रुपैयाँ तिरेर सदस्य बन्‍न सक्नेछन्। स्वास्थ्य बिमामा सहभागी भएपछि परिवारका सदस्यलाई वार्षिक ५० हजार रुपैयाँ बराबर उपचार खर्च प्रदान गर्ने व्यवस्था छ।

बिमामा आबद्ध भएका बिमितहरुले सरकारी अस्पतालबाट ५० हजार बराबरको ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन्।  तर बिमाबाट कस्मेटिक सर्जरी, व्यक्तिगत झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन सम्बन्धी सेवा भने पाउने छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.