अर्थ : मेरो सपना

नमुना च्याउ फर्म स्थापित गर्न चाहन्छन् गंगाधर

भदौ ८, २०७५

    बुटवल : वाग्लुङमा जन्मिएर वि. सं. २०५२–२०६२ सम्म साउदी अरबमा निर्माणको काम गरेका गंगाधर शर्मा घरपरिवारको मायाले घर फर्किए। वर्षौंसम्म विदेश बस्दा उनमा घरपरिवारकोे चिन्ता त थियो नै, त्योसँगै अर्को चिन्ता पनि थियो- देश फर्किएर के गर्ने? 

    घर फर्किएपछि भने उनको दिमागको बत्ती बल्यो– अब देशमै केही गरेर देखाउँछु। हाल कंचन गाउँपालिका रूपन्देहीका बासिन्दा उनले धेरैतिर खोजतलास गरे, के गर्दा नयाँ, नमुनायोग्य काम गर्न सकिन्छ र घरपरिवारको आयस्तर बढाउन सकिन्छ। 

    नयाँ कामको खोजीका क्रममा उनले देखे– च्याउ खेती गर्छु। एक मनले भनिरहेको थियो– बाहुनले च्याउ खानै हुन्न, खेती गर्न कसरी आँट्नु! बाउबाजेका पालादेखिको मान्यता तोडेर अघि बढ्ने वाचा गरे। त्यसपछि उनले च्याउको बारेमा सोधीखोजी गरे। च्याउ खेती गरेकाहरूका अनुभव सुने। 

    विदेशमा निर्माणको काम गर्दा उनको मनमा कुरा खेल्थे– यति धेरै मिहिनेत गरे त देशमै सुन फलाउन सकिन्छ। तर देश फर्केर आइसकेपछि अनेकन समस्याका थुप्रा देखे। सरकारी नीति सहयोगी देखिए पनि व्यावहारिक रूपमा सहयोगी देखिएन। 

    तर पनि उनले हार खाएनन्। उनको आँटले हारेन। प्रविधि र पैसाको जोहो गरे। उनले सुरु गरे च्याउ खेती एक लाख रुपैयाँबाट। ५० हजार रुपैयाँमा च्याउका लागि एउटा टनेल तयार भयो। २०६६ मा परीक्षणका रूपमा च्याउ खेती सुरु गरेका उनले २०६८ बाट व्यावसायिक रूप दिए। 

    च्याउबाटै वार्षिक १९ लाख कारोबार

    उनले अहिले घरै अगाडि छवटा टनेल बनाएका छन्। परिवारले सकेको काम गर्छन्। सिजनको समयमा सात–आठ जना कामदार थप्छन्। कामदार थपे पनि भ्याइनभ्याई हुन्छ। 

    ‘सिजनको बेलामा पराल तयार गर्ने, टनेल मर्मत गर्ने जस्ता धेरै काम हुन्छन्। हामीले मात्रै गर्न सक्ने अवस्था हुँदैन’, च्याउ उत्पादक किसान संघका केन्द्रीय सदस्यसमेत रहेका उनी भन्छन्, ‘कामदार थपेर काम गर्छौं।’

    औसतमा दैनिक ४० किलो च्याउ उत्पादन हुन्छ उनको फर्मबाट। सिजनमा दैनिक १०० किलो उत्पादन हुन्छ। फर्मको नाम दिएका छन्– स्पिन्जर च्याउ। उनले दूधे च्याउ र कन्ये च्याउ उत्पादन गर्छन्। 

    च्याउ फर्मको लगानी अहिलेसम्म २० लाख रुपैयाँको सेरोफेरोमा पुगेको छ। उनले वर्षमा १९ लाख रुपैयाँको च्याउ बेच्छन्, जसबाट सात–आठ लाख रुपैयाँ नाफा हुन्छ। 

    बाबुछोरा नै च्याउ खेतीमा 

    उनकै शब्दमा सानासाना सपना देख्ने सामान्य किसान हुन् गंगाधर। तर उनले देखेका सपना चानेचुने भने छैनन्। 

    च्याउ तराईमा हुँदैन र सफल हुन गाह्रो छ भन्नेलाई उनले उदाहरण दिइसके। उनी चाहन्छन्– विदेश जाने शक्ति देशभित्रै बसेर केही गरोस्। अरू नगरे च्याउ खेती गरोस्। 

    ‘कोही च्याउ खेती गर्छु भन्छ भने म सहयोग गर्न तयार छु’, उनी भन्छन्, ‘च्याउ खेती सामान्य लगानीबाट सुरु गरेर राम्रो आम्दानी गर्न सकिन्छ।’ तीन सन्तानका बाबु उनले कान्छो छोरालाई बिएस्ससी सकेपछि जेटिए पढाए। च्याउमा बाबुछोरा मरी मेटेर लागेका छन्। 

    सरकारीतर्फबाट आवश्यक सहयोग नपाएको गुनासो गर्ने गंगाधर भन्छन्, ‘हामी आर्थिक समृद्धिका ठूलाठूला गफ दिइरहेका छौँ, नेपाललाई समृद्ध मुलुक बनाउने भनेर सपना देखिरहेका छौँ तर जहाँ लगानी गर्नुपर्ने हो, गरिरहेका छैनौँ।’ उनले सरकारले किसानलाई दिने गरेको अनुदान वास्तविक किसानसम्म नपुगेको दुःखेसो पोखे। 

    ‘हामीकहाँ त सरकारी ऋण, अनुदान लिन पनि हुनेखाने चाहिन्छ, हामी जस्तो सामान्य किसानले त अनुदान पनि पाउन गाह्रो छ’, गंगाधर सुनाउँछन्, ‘जबसम्म कृषिमा मध्यमवर्गीय किसानहरू अगाडि आउँदैनन्, तबसम्म नेपालले कृषिबाट समृद्ध बन्ने सपना देख्नुहुँदैन।’

    सरकारी अनुदानको लोभमा नलाग्ने उनी अब लगानी बढाएर आफ्नै बलबुताले च्याउको खेती र व्यापारलाई बढावा दिने तयारीमा छन्। ‘आउँदो वर्ष नै एक करोडको कारोबार गर्ने योजनामा छु’, उनी सपना सुनाउँछन्, ‘प्रदेशको एक नम्बर र मुलुककै नमुना च्याउ फर्मको रूपमा स्थापित गर्नेछु।’ 

    सिधै उपभोक्तासम्म पुग्ने अभियान

    गंगाधर बुटवल बजारभन्दा २५ किलोमिटर पश्चिम कंचन गाउँपालिका गजेडीमा बस्छन्। त्यहाँबाट बुटवल बजारसम्म च्याउ ल्याएर बेच्नका लागि उनी किसानहरूको संजाल बनाउने र हाटबजारमा किसानका लागि छुट्टै स्थान माग गर्ने सोचमा छन्।

    रूपन्देहीमा च्याउ खेती गर्नेको संख्या यकिन छैन तर १० वटा फर्मले व्यावसायिक रूपमै च्याउ खेती गर्छन्। कार्तिकदेखि माघसम्मको अवधि च्याउको सिजन हो। यो सिजनमा प्रदेश ५ मा एक दिनमा १० क्विन्टलसम्म उत्पादन हुन्छ तर दैनिक माग ३५ क्विन्टल छ। 

    ‘च्याउ खेती गर्न चाहनेलाई प्रोत्साहन गर्ने, च्याउ किसानलाई एकजुट बनाएर संगठन बनाउने र किसान सिधै बजारमा पुगेर उपभोक्तालाई सस्तो र गुणस्तरीय मूल्यमा च्याउ उपलब्ध गराउने योजना छ’, उनी भन्छन्। 

    बिचौलियाका कारण उपभोक्ताले धेरै मूल्य तिर्नुपरेकाले किसान आफैँ उपभोक्तासम्म पुग्न खोजेको उनको तर्क छ। ‘कन्ये च्याउ एक किलोको १७० देखि १८० रुपैयाँमा किसानबाट खरिद भएर बजारमा पुग्दा २८० देखि ३०० रुपैयाँसम्म पर्ने गरेको छ’, उनले अन्तर सुनाए, ‘यस्तै गोब्रे च्याउ २८० देखि ३०० रुपैयाँ किलोमा किनेर ४०० रुपैयाँ बढीमा बेचिरहेको अवस्था छ, यसलाई रोक्नुपर्नेछ।’

    सम्भावना धेरै, काम गर्ने थोरै 

    रूपन्देहीमा च्याउ खेती गर्नेको संख्या यकिन छैन तर १० वटा फर्मले व्यावसायिक रूपमै च्याउ खेती गर्छन्। कार्तिकदेखि माघसम्मको अवधि च्याउको सिजन हो। यो सिजनमा प्रदेश ५ मा एक दिनमा १० क्विन्टलसम्म उत्पादन हुन्छ तर दैनिक माग ३५ क्विन्टल छ। 

    गंगाधर भन्छन्, ‘पहाडमा गोब्रे र सिताके च्याउ तथा तराईमा कन्ये र मिल्की च्याउ उत्पादन गर्न सकिन्छ।’ यहाँको च्याउ पोखरा र काठमाडौंसम्म पुग्छ तर माग धान्न सक्ने अवस्था छैन। यसका लागि अरू किसान थपिनुपर्ने उनको भनाइ छ। 

    चाहेअनुसार भएमा च्याउ खेतीलाई सहकारीमार्फत् एकीकृत बनाउने, ठाउँठाउँमा संकलन केन्द्र, वितरण केन्द्र र बिक्री केन्द्रहरू खोल्ने र च्याउलाई व्यावसायिक हिसाबले अघि बढाउने उनको योजना छ। 

    अहिले पनि धेरै जना च्याउ खेतीका बारेमा सोधखोज गर्न आए पनि खेती गर्नेहरू एकदमै कम संख्यामा रहेको उनले बताए। ‘अहिलेसम्म २० जिल्लाका किसानहरू टिम बनाएर मैले गरेको काम हेरेर धेरै कुरा बुझेर जानुभएको छ। उहाँहरूले च्याउ खेती गर्नुभए राम्रो हुन्छ’, उनले भने। 

    प्रदेश ५ मा च्याउ उत्पादन मागको ३० प्रतिशत मात्रै रहेको छ भने बाँकी ७० प्रतिशत भारतका विभिन्न स्थानबाट आयात हुने गरेको छ। प्रदेश ५ का रूपन्देही, पाल्पा, अर्घाखाँचीका च्याउले नपुगेर भारतको सिलगुडी, बेलहिया र कृष्णनगर नाकाबाट च्याउ आउने गरेको शर्माले जानकारी दिए । 

    परम्परागत उत्पादन शैली बदल्ने सोच

    च्याउ खेतीको शैली परम्परागत छ। परम्परागत शैली बदलेर आधुनिक प्रविधिको प्रयोगबाट च्याउ खेती उत्पादनलाई बढाउने सोच उनले बनाएका छन्। 
    ‘सरकारले हामीलाई दक्ष बनाउन तालिम दिन जरुरी छ’, उनी भन्छन्, ‘हामीले संघीय सरकार र प्रदेश सरकारसँग पनि भनेका छौँ, च्याउ खेतीलाई आधुनिक प्रविधिको प्रयोग गरेर अरू व्यावसायिक बनाउन चाहेका छौँ।’

    अहिले बेमौसममा उत्पादन गरिरहेको शैली आधुनिक बनाउन सके उत्पादन बढ्ने उनको भनाइ छ। ‘च्याउको प्रकृति र हावापानीको कारणले पनि च्याउको उत्पादनमा फरक पारिरहेको छ’, शर्मा भन्छन्, ‘तराईका जिल्लामा उत्पादन हुने च्याउका लागि छुट्टै व्यवस्थापन र प्रविधि आवश्यक पर्छ।’

    बिउ उत्पादनको चाहना

    काठमाडौंको हावापानीमा तयार पारेको बिउले तराईको हावापानीमा कम उत्पादन दिन्छ। ‘जुन ठाउँमा खेती गर्ने हो, त्यहीँको हावापानीअनुसार नै तयार पार्नुपर्छ’, उनी भन्छन्, ‘तराईका लागि बिउ उत्पादन हुन सकेको छैन।’

    तराईका २२ जिल्लाको मौसमलाई सुहाउने गरी बिउ उत्पादन गर्ने चाहनालाई उनले अघि बढाएका छन्। केही छलफल र परामर्श लिएर उनी त्यसलाई अघि बढाउने सोचमा छन्। 

    च्याउको सुकुटी

    कार्तिकदेखि माघसम्म पर्याप्त पाइने च्याउ अरू बेला कमै पाइन्छ। त्यसका लागि बेमौसमी हिसाबले तयार गरेर पनि पुग्दैन।  त्यसको विकल्पको रूपमा खोजी भएको छ– च्याउको सुकुटी बनाएर राख्ने। जसरी साग, माछा सुकाएर राखिन्छ, त्यसरी नै च्याउको सुकुटी बनाउने। यो प्रविधि गंगाधरसँग छ। 

    नेपाल सरकारको अनुदानमा पाएको यो प्रविधि उनी प्रयोग गरिरहेका छन्। ‘च्याउको सुकुटी बनाएर बेच्न सकियो भने पनि राम्रै बजार लिनसक्छ’, उनी भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]