'पार्टी नेतृत्व गर्नेले पार्टी सुधारको योजना ल्याउनुपर्छ'

|

काठमाडौं : गगनकुमार थापा, नेपाली कांग्रेसभित्र एक सशक्त युवा नेताको रूपमा गनिन्छन्। नेतृत्वको खुलेरै आलोचना गर्न सक्ने भएका कारण पनि उनी सधैँ चर्चामा आउने गर्छन्। यस्तै, संघीय संसदमा पनि उनको उपस्थिति निकै सशक्त छ।

खासगरी गत वर्ष भएको निर्वाचनपछि अब युवा पुस्तालाई पार्टी नेतृत्वको अवसर दिनुपर्ने धारणा राख्दै आएका छन्, थापा। थापासहितका युवा नेताहरूले पछिल्लो समय पार्टीको विशेष महाधिवेशन, युवालाई नेतृत्व हस्तान्तरणलगायत विषयलाई उठाउँदै आएका छन्। के वर्तमान पार्टी नेतृत्व युवालाई नेतृत्व दिन तयार छ त? यसै विषयमा कांग्रेसका युवा नेता गगनकुमार थापासँग थाहाखबरकर्मी चिरञ्जिबी घिमिरेले गरेको कुराकानी प्रस्तुत छ।

निर्वाचनपछि अहिलेसम्म नेपाली कांग्रेसको अवस्था तपाईंले कस्तो देख्नुभएको छ?

पार्टीका आन्तरिक र बाह्य पक्ष हुन्छन्। एक समय पार्टीको आन्तरिक अवस्था ठीक हुन्छ तर बाहिरी पक्ष अप्ठ्यारोमा परेको अवस्था हुन्छ। अहिले हाम्रो अवस्थाचाहिँ दुवैतिर ठीक छैन। नेपाल संघीयतामा गए पनि हाम्रो संरचना छैन, पार्टीका गतिविधि शून्यप्राय: छ। केन्द्रमा भएको गतिविधिबाहेक अन्य ठाउँमा गतिविधि भएको छैन।

निर्वाचनमा गिरेको कार्यकर्ताको मनोबल उकास्ने काम पनि भएको छैन। हाम्रो मुख्य एजेण्डा के हो भन्नेमा आमसर्वसाधारणले थाहा पाउन सकेका छैनन्। संविधान निर्माण र चुनाव गराउने विषय पनि सकियो। नयाँ सरकार आएको छ। अब कांग्रेसको प्रत्येक दिनको क्रियाशीलताको उद्देश्य के हो? पार्टीभित्र यो विषय अलमलमा छ।

पार्टीबाहिर पनि कांग्रेसलाई मत हाल्दै आएका थुप्रै मान्छेहरूले यस पटक पार्टीसँग रिसाएर मत हालेनन्। मैलेचाहिँ यसलाई कांग्रेसी र कांग्रेस भन्ने गरेको छु। कांग्रेसी भनेको पार्टीको सदस्यता लिएको क्रियाशील मान्छे। उनीहरू जस्तोसुकै अवस्थामा पार्टीसँग रहिरहन्छन्। त्योभन्दा बाहेक कांग्रेस भनेर एउटा ठूलो पंक्ति छ। उसको चाहिँ प्रजातन्त्रसँगको आधारभूत कुरासँग सरोकार रहन्छ। त्यसको मुख्य शक्ति भनेको कांग्रेस हो भनेर भोट हाल्दै आएको थियो।

तर यस पटक कांग्रेससँग ती मतदाता रिसाए। रिसाएकासँग कांग्रेसले अब उसको विश्वास पुन:आर्जन गर्नुपर्छ तर त्यो अवस्था छैन। कांग्रेसको नेतृत्वप्रतिको आकर्षण क्षयीकरण हुँदै गएको छ।

यसरी नेतृत्वप्रति आकर्षण घट्नुको कारण के हो?

चुनावमा खासगरी नवजवानहरू र अरू अस्थिर गरी हाल्ने भोटहरू, जुन कहिले कांग्रेसलाई हाल्छ, कहिले एमालेलाई हाल्छ, ती भोटहरू यस पटक कांग्रेसलाई आएनन्। यसको कारणचाहिँ हामीले सरकारमा रहँदै गर्दा गरेका कामहरू पनि छन्। त्यो काम सही थियो वा गलत थियो, त्यो हाम्रो व्याख्याको विषय होला तर ती मतदाताले हाम्रो व्याख्या बुझ्दैनन्।

ती मतदाताको नजरमा कांग्रेस प्रजातन्त्रको च्याम्पियन पार्टी हो। यसबाट जनताले आशा राखेका हुन्छन्। जस्तो : चितवनमा पहिलो पटक कांग्रेसले आफ्नो पार्टीभन्दा फरक पार्टीलाई मत हाल्यो। रणनीतिक हिसाबले ठीक थियो होला तर कांग्रेसले अहिलेसम्म आफ्नो पार्टीभन्दा अर्को पार्टीमा मत हाल्न आह्वान नै गरेको थिएन। यो कार्यकर्तालाई स्वीकार्य भएन। पछि फेरि हामीले कहीँ मेधेसी, कहीँ राप्रपालाई भोट हाल्न लगायौँ। यसले पनि मतदातामा असर पार्‍यो।

न्यायपालिकामा मान्छेहरूको ठूलो सम्मान हुन्छ। हामी सरकारमा हुँदा अदालतप्रति हामीले गरेका व्यवहारले मानिसमा चिसो पस्ने काम भयो। तर त्यो ठीक या गलत थियो, आफ्नो ठाउँमा होला। हामीले त्यसको डिफेन्ड (बचाउ) पनि गर्न सकेनौँ। यी कारणले पनि हामीसँग मतदाता रिसाए। मान्छेहरूले मत हाल्दै गर्दा विगत पनि हेर्छन् तर निर्णयचाहिँ भविष्यमा उत्साह दिनसक्छ कि सक्दैन भन्ने हेरेर निर्णय लिन्छन्। त्योबेला कम्युनिस्ट पार्टीले एउटा आशाचाहिँ जगायो।

लमो समय अस्थिर राजनीति भएका बेला जनतालाई कम्युनिस्ट पार्टीले स्थिर सरकार दिन्छ र समृद्धि हुन्छ भन्नेचाहिँ भयो। फेरि अर्को कुरा भारतले नेपालसँग गरेको हेपाहा प्रवृत्तिको पनि अन्त्य गर्छु भन्यो। नेपालको सम्मानको कुरा गरेर फरक अवस्थाको आशा जागृत गरायो। यद्यपि, अहिलेसम्म टिकेन तर निर्वाचनको बेला आशा जगायो। तर हामीले त्योबेला कम्युनिस्टले अधिनायकवादको कुरा गर्‍यौँ, विगतमा संविधान बनाएको कुरा गर्‍यौँ।

तर यो कुरासँग त नवजवानहरूलाई सरोकार भएन नि! यसमा हामी चुक्यौँ। जनतामा आशा जागृत गराउन सकेनौँ। अहिले पनि हामी त्यो अवस्थाबाट बाहिर निस्कन सकेका छैनौँ। अहिले सरकारले गलत काम गरिरहेको छ। त्योअनुसार हामीले संघर्ष गर्‍यौँ, ठीक छ। त्यो हाम्रो ड्युटी हो। तर यसको अर्थ लाखौँ युवाले कांग्रेस हाम्रो भविष्य हेर्ने पार्टी हो भन्ने त बनाउन सकेका छैनौँ नि! युवाले त त्यो खोज्छन् नि!

कांग्रेसको प्रत्येक दिनको क्रियाशीलताको प्रश्न गर्नुभयो। के अब कांग्रेस सिद्धान्तविहीन भएको हो त?

अब हामीले यसरी हेर्नुपर्छ, हामीले बनाएको संविधान दस्तावेज मात्र होइन, यो लिभिङ प्रोसेस हो। कांग्रेसको आजको ड्युटी के हो भने यो संविधानको ट्र्याकबाट नेपाललाई बाहिर जान दिनुहुँदैन।

संविधानअनुसार निर्वाचित सरकार बन्छ भनिएको छ। यसमा हामीले गौरव गर्नुपर्छ, यो हामीले गर्दा भएको हो। तर संविधानले व्यक्तिको आधारभूत स्वतन्त्रता, नागरिको आर्थिक स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई सूनिश्चित गरेको छ। यसले उदार लोकतन्त्रको आधारभूत मूल्य मान्यतालाई सूनिश्चित गरेको छ। यस सन्दर्भमा सरकारको व्यवहार ठीक ढंगले भइरहेको छैन। संविधानको परिपालना गराउने कांग्रेसको ड्युटी हो।

यो संविधानको परिपालना राज्यको अंगसँग मात्र होइन, समाज, व्यक्तिसँग जोडिएको छ। यो संविधानले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुपहिचानयुक्त मुलुकको रूपमा परिभाषित गरेको छ। नेपाल विविधताबीचको एकता भएको मुलुक हो भनेको छ। नेपालले संसारभरिका देशसँग परस्पर सम्बन्ध राख्छ भन्ने संविधानमा छ। यी विषयमा गएको आठ महिनामा सरकारले सही बाटो लिएको छैन। यो बेलामा सरकारको काम राम्रो नराम्रो भन्ने काम त म संसदमा गर्छु तर त्यो मेरो महत्त्वपूर्ण तर सामान्य जिम्मेवारी हो। कांग्रेसचाहिँ संविधानको ट्र्याकमा नेपाललाई राखेर संवैधानिक स्थिरतालाई जोगाउन लाग्नुपर्छ।

अहिले नेपाल कम्युनिस्ट पार्टीको चिन्ता यो सरकार पाँच वर्ष रहनुपर्छ र पाँच वर्षपछि चुनाव जित्नुपर्छ भन्नेतर्फ छ। कांग्रेसको चिन्ताचाहिँ यो संविधानले स्थायित्व पाउनुपर्छ भन्नेतर्फ हुनुपर्छ। त्यो भनेको संघीयता असफल हुन दिनुभएन। समावेशीतालाई असफल हुन दिनुभएन। महिला, दलितको आन्दोलनका कुरालाई सुनुवाइ गर्नुपर्‍यो। कांग्रेसको दृष्टिकोण त्यता भएमा मात्र जनताले बल्ल कांग्रेसलाई हेर्छन्। यो काम सही ढंगले गर्ने हो भने हामीले भोट पनि माग्नुपर्दैन। जनता आफैँ हामीसँग आउँछन्। यो कुरामा कांग्रेस नेतृत्वले यसरी सोचेको छ भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ।

कांग्रेसका नेतृत्व किन संसदमा बोल्दैनन्?

संसदमा पार्टीले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपरेको छ। पार्टी संसदीय दलको नेता तथा सभापति संसदमा विरलै आउनुहुन्छ। उपनेता संसदमा आउँदै गर्दा खासै केहीमा भाग लिनुहुन्न। पार्टीका महामन्त्रीलगायत अरू पदाधिकारीहरू संसदमा बोल्नु नै हुन्न। संसदको नेतृत्व गर्नु पनि हुन्न। हामीले बोले पनि पोजिसनका कारण हामीले बोलेका कुरालाई स्थायित्व गर्न त गाह्रो हुन्छ नि!

फलानोले बोल्यो, राम्रो बोल्यो, तिख्खो बोल्यो भन्नु त नितान्त वैयक्तिक जस्तो हुन लाग्यो। मुख्य र थुप्रै मुद्दाहरूमा त मुख्य नेताले नेतृत्व गर्नुपर्छ नि! यसले पनि पार्टी कार्यकर्तालाई उत्साहित गर्दैन नि! अहिले कर बढाएको विषयमा बोल्दै गर्दा हामीले पनि दुई सय बढी स्थानीय तहको सरकार चलाएका छौँ। त्यहाँ कसरी चलाएका छौँ भन्ने आधार तयार गरेर बोल्नुपर्छ नि!

आफूले सरकार चलाउन पाएको ठाउँमा सही ढंगले चलाउने, आफूले प्रतिपक्षमा खबरदारी गर्न पाएको जिम्मा सही ढंगले पूरा गर्ने अनि जनतालाई भन्ने प्रतिपक्षको भूमिका पूरा गरेँ, विकास निर्माणका काम त कसरी पूरा गर्न सक्छु? हामीलाई सरकारमा पुर्‍याउनु भएको छैन भन्ने नि! ती काम त सरकारले मात्र पूरा गर्न सक्छ भन्न पाइन्छ नि त! आफ्नो ड्युटी पूरा गरेनौँ भने त्यसले नैतिक बल दिँदैन। सरकारले जिम्मेवारी पूरा गरेन भन्दै गर्दा हामीलाई पनि त प्रतिपक्षको जिम्मेवारी पूरा गरेनौँ भनेर प्रश्न आउँछ नि! त्यसका लागि हामी तयार हुनुपर्छ।

भनेपछि संसदमा कांग्रेस नेतृत्वविहीन जस्तै भयो होइन त?

होइन, म त्यो भन्दिनँ तर मुख्य नेतृत्वको पंक्ति छ, उसले जुन जिम्मेवारी निर्वाह गर्नुपर्ने हो, जुन गाम्भीर्य त्यहाँ देखाउनुपर्ने हो, त्यो गाम्भीर्य नेतृत्वले देखाउन सकेको छैन। त्यसलाई मैले लुकाएर हुने कुरा होइन, सत्य त्यही हो।

संसदमा प्रतिपक्षको जस्तो भूमिका देखाउन कांग्रेसले किन डराएको जस्तो गरेको?

निर्वाचनपछि नेतृत्वदेखि तलसम्म यो एक प्रकारको मनोदशा थियो। त्यो यति छिटो बहुरेर आउँछ भन्ने मलाई लागेको थिएन। त्यसका लागि धन्यवाद, श्रेय सबै यो सरकारलाई दिनुपर्छ। यति छिटो, यति धेरै ठाउँमा सरकारले चुक्ने काम गर्छ भन्ने थिएन। त्यस कारण कांग्रेस डराएको छ भन्ने त मलाई पटक्कै लाग्दैन। हाम्रो पुनरुत्थान हुँदैन भन्ने त मलाई लाग्दै लाग्दैन।

अहिले नेताहरूले सरकारले कमजोरी गरेको छ, सडकमा संघर्ष गरिहालौँ, संसदमा संघर्ष गरिहालौँ, सरकारको लोकप्रियता घटिहाल्छ र आफसे आफ हाम्रो बढिहाल्छ भन्ने सोचिरहनुभएको छ भन्ने भान हुन्छ। योचाहिँ गलत हुन्छ। हामीले अब हामीभित्रको थिति मिलाउनुपर्छ, हाम्रो बारेमा जनताको जुन धारणा बनेको छ, त्यो पनि कामले विस्थापित गर्दै जानुपर्छ।

तपाईंहरू अहिले सरकारको नीति तथा कार्यक्रमको विरोध गर्दै हुनुहुन्छ तर त्यसबेला किन ताली पिटेर त्यही नीति तथा कार्यक्रमलाई पास गर्नुभयो?

त्यसबेला म संसदमा थिइनँ। म संखुवासभाको पार्टी कार्यक्रममा गएको थिएँ। तर काठमाडौं आएर मैले सोधेँ। सोध्ने क्रममा जे पाए पनि मेरो निष्कर्ष के हो भने त्यो त्रुटिपूर्ण थियो। नीति तथा कार्यक्रममा कुनै कुरो पूर्ण हुँदैन। कुनै पनि प्रतिपक्षले सरकारो नीति तथा कार्यक्रमको समर्थन गरेको मैले देखेको छैन।

त्यहाँ हाम्रो गल्ती भयो। यसलाई स्वीकार गर्नुपर्छ। यो अपरिपक्व भयो। आउँदा दिनमा यस्ता गल्ती गर्नुहुँदैन।

कांग्रेस संस्थागत रूपले चलेन भन्ने आरोप पनि छ नि?

पार्टी संस्थागत रूपमा चल्यो कि चलेन भन्ने पहिलो स्रोतचाहिँ पार्टी विधानअनुसार चल्यो कि चलेन भन्ने हो। विधानअनुसार पार्टी चलेन भनेचाहिँ सानो सानो कुरामा पनि त्यसले अर्थ राख्छ।

अहिले पनि हामीले हेर्ने हो भने पार्टी सभापतिको निवासमा शीर्ष नेताको बैठक बस्छ। त्यो बैठकले एकपछि अर्को निर्णय गर्छ। त्यो निर्णय हामी छापाबाट थाहा पाउँछौँ। हेर्दा सामान्य लाग्छ तर हाम्रो विधानले के भन्छ भने केन्द्रीय समिति बस्न नसकेको अवस्थामा एउटा सानो कार्यसम्पादन समिति बनाऊ, त्यसले निर्णय गर भन्ने छ।

तर विधान उल्लंघन गर्ने बानी भएपछि त्यो गर्न कहाँ मन लाग्नेरहेछ र! संसदमा पनि हेरौँ न- संसद चलेको अवस्थामा विधानले प्रत्येक १५ दिनमा संसद कार्यसमितिको बैठक बस भन्छ। हामीले कार्यसमिति बनाएकै छैनौँ। विधानले छाया सरकार भन्छ, त्यो पनि बनाएकै छैनौँ। संसदीय दलको बैठक बस्दै बस्दैनौँ। केन्द्रीय समितिको बैठक नबसी कसरी जिल्लाको बस्छ अनि जिल्लाको नबसी कसरी तलको बस्छ त?

बैठक नबसेपछि निर्णय बाहिरबाट हुन्छ। निर्णय बाहिरबाट भएपछि कहाँ संस्थागत रूपले चल्छ त? नेतृत्व यो विषयमा सचेत भएन भने यस्तो हुन्छ। अझ २० वर्ष, ३० वर्षदेखि विधान नमानेका नेतालाई हामीले बोल्दै गर्दा भारे भुरेले अहिले हामीलाई सिकाउने भन्ने त लाग्छ होला, हाम्रा कुरा त सुन्छन् तर पालना गर्न तयार हुँदैनन्। त्यस कारण समस्या यस्तै साना कुराबाट हुने हो।

महाधिवेशनपछि क्रियाशील सदस्यता बढाअौँ, फागुनमा स्थानीय तहमा अधिवेशन गरौँ। यसले त देशभर कांग्रेसको नयाँ रौनक आउँछ। काम गर्नुपर्ने ठाउँमा हाम्रो संगठन नै छैन। स्थानीय तह र प्रदेशमा सरकारसँग प्यारालाल काम गर्न संरचना नै छैन। संरचना भए पो खबरदारी गर्छ।

अझ पार्टीको संरचना नै छैन हाम्रो त। देश ७५३ वटा स्थानीय तहमा गइसक्यो, हामी अझै गाविसको संरचनामै छौँ। देश दुई वर्ष अगाडि पुगिसक्यो, हामी अझै दुई वर्ष पछि छौँ। हामी अगाडि हुनुपर्ने हो। हामीले अघिल्लो महाधिवेशनमा बडो फुर्ती लगायौँ- देश संघीयतामा गएको छैन, हामीले प्रदेश/प्रदेशबाट प्रतिनिधि केन्द्रीय सदस्य बनायौँ भनियो तर देश संघीयतामा कहाँ पुगिसक्यो, हामी जहाँको त्यहीँ छौँ। नेताको योजना हेर्‍यो भने हामीले हस्तक्षेप गरेर बाध्य बनायो भने, उहाँहरूको योजनाअनुसार संरचना बन्छ अढाई वर्षमा। चुनाव भएको एक वर्ष भयो, अब अढाई वर्ष र एक वर्ष गर्दा साढे तीन वर्ष हुन्छ। स्थानीय चुनाव आउनुभन्दा डेढ वर्षअघि हाम्रो संरचना बन्ने रहेछ। यस्तो पनि कहीँ हुन्छ?

नेताहरू किन संरचनाअनुसार पार्टी चलाउन चाहँदैनन्?

पार्टीभित्र गुट बन्ने, भत्किने स्वाभाविक प्रक्रिया हो। यो सबै पार्टीमा हुन्छ। तर गुटको प्रभाव पार्टी संचालनमा कस्तो रहन्छ भन्ने हो। कांग्रेसचाहिँ गुटको बन्धक भयो। पार्टीको नेतृत्वमा जानुभन्दा पहिला एउटा गुटबाट गएको हुन्छ। यो जहाँ पनि यही हो तर मुख्य नेतृत्वमा गएपछि त उसको झुकाव गुटप्रति हुनुहुँदैन नि! ऊ सबैको हुनुपर्छ।

पार्टीको नेतृत्वले त सबैलाई लिएर अघि बढ्दै लोकप्रिय काम गर्नुपर्छ। यसले त नेतृत्व गरेर आएको गुटलाई पनि फाइदा हुन्छ। नेतृत्व लिएर पार्टीमा राम्रो काम गर्न सके उसको गुट पनि त बलियो हुन्छ। कांग्रेसमा त्यो पटक्कै भएन। सभापति पार्टी संचालनभन्दा पनि गुट संचालनतिर लाग्नुभयो। नेतृत्व लिनुभन्दा अघि गुट संचालन गर्नु स्वाभाविक हुन्थ्यो होला तर नेतृत्व लिएपछि यसो गर्नुभएन। पार्टी सभापतिले नै यसो गरेपछि तल्लो तह र भ्रातृ संगठनका सभापतिहरूले के गर्छन्?

कांग्रेसमा राम्रा कुरा पनि छन्। फरक धारणा निर्धक्क साथ राख्न पाउँछ। कम्युनिस्ट पार्टीको नेता भएर मैले जस्तो बोलेको भए सदस्यता पनि रहन्थ्यो रहँदैनथ्यो। राम्रा कुरालाई बढाउँदै जाऊँ, नराम्रालाई छाड्दै जाऊँ।

कांग्रेस पाँच वर्ष सरकारबाहिर रहँदा केही नेताको व्यक्तिगत जीवनबाहेक अरू कसैको जीवनमा केही फरक पर्दैन। नेपाल कम्युनिस्ट पार्टी हाम्रो जस्तै केन्द्र र सातै प्रदेशको सरकारबाट बाहिर रहोस् त पानीबिनाको माछा जस्तै हुन्छ। त्यसका लाखौँ मानिसहरूको जीविकोपार्जन पार्टी सरकारमा हुनुसँग जोडिएको छ। पार्टीको सत्तामा आश्रित भएका लाखौँ मान्छे छन्। कांग्रेसको केही पनि छैन। हामीलाई कांग्रेस सरकारमा हुने/नहुने कुराले भावनात्मक रूपमा फरक पार्ला तर दैनिक जीवनमा केही फरक पार्दैन। यो हाम्रो सबल पक्ष हो।

अब अर्को निर्वाचन नआएसम्म नेतृत्व यसरी नै अघि बढ्ने हो भने कांग्रेस यहाँभन्दा माथि उठ्न सक्ला?

हामी त नेतृत्व बदल्न चाहन्छौँ। त्यसका लागि एउटा बाटो छ, त्यो बाटो भनेको महाधिवेशन हो। हामी जतिसक्दो चाँडो महाधिवेशन गर्न चाहन्छौँ। महाधिवेशन सार्न सकेनौँ भने पनि विधानले तोकेको चार वर्ष अर्को फागुनमा पुग्छ। हामी त्यसबेला महाधिवेशन गर्न चाहन्छौँ। त्यो महाधिवेशनबाट उहाँहरूलाई धन्यवाद दिएर बिदा दिन चाहन्छौँ। उहाँहरूलाई सम्मानका साथ बिदा गर्न चाहन्छौँ। यो नै पार्टीको हितमा छ।

तर पार्टी नेतृत्व त यो सम्भव छैन भन्छ नि?

नेपाली कांग्रेसले हामीलाई युवा, भुरा जे भनोस्, तर पार्टी हामीले भनेको ठाउँमा आइपुगेको छ। तर केही ढिला भएको छ। ढिलो आएकामा नेतृत्वले मूल्य चुकाएको छ। नेतृत्वको विषयमा पनि पार्टी युवामा आइपुग्छ। यो कुरामा ढिलो हुनुहुँदैन। यसमा पनि ढिला भए पार्टी बर्बाद हुन्छ।

नेपाली कांग्रेसको पुनरुत्थानको निम्ति पनि नेतृत्व परिवर्तन गर्नुपर्छ। यसको अर्थ पार्टीको नेतृत्वको क्षमता नभएको होइन। यहाँभन्दा बढी अपेक्षा गर्नु उहाँहरूप्रति अन्याय हुन्छ। किनकि यत्रो संकटको बेलामा कांग्रेसलाई नेतृत्व गर्ने, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने, यत्रो संकटमा निर्वाचन गराउने काम त गरिसकेकै हो नि! उहाँहरूलाई धन्यवाद, योभन्दाअघिको यात्रा हामी गर्छौं।

तपाईंहरू युवा नेताले विशेष महाधिवेशनको कुरा उठाउनुभएको थियो, कहाँ पुग्यो?

महासमितिको बैठकपछिचाहिँ गाउँपालिका, जिल्ला, प्रदेशका लागि महाधिवेशन नपर्खौं, तत्काल गरिहालौँ, अर्ली महाधिवेशन भनेको त्यही हो। केन्द्रको नेतृत्व अगाडि गर्न पाए असाध्यै राम्रो हुन्थ्यो।

त्यो गर्न सभापतिलाई चाहना नभए अर्को वर्ष फागुनमा गरौँ। एक वर्ष समय थप्ने काम नगरौँ। केन्द्रीय नेतृत्व छान्न अर्को वर्ष महाधिवेशन गर्नु परे पनि गाउँपालिकाको नेतृत्व छान्न किन समय कुर्नुपर्‍यो?

महाधिवेशनपछि क्रियाशील सदस्यता बढाअौँ, फागुनमा स्थानीय तहमा अधिवेशन गरौँ। यसले त देशभर कांग्रेसको नयाँ रौनक आउँछ। काम गर्नुपर्ने ठाउँमा हाम्रो संगठन नै छैन। स्थानीय तह र प्रदेशमा सरकारसँग प्यारालाल काम गर्न संरचना नै छैन। संरचना भए पो खबरदारी गर्छ।

यसको बारेमा केन्द्रीय सभापति मात्र होइन, कोही पनि बोल्नुभएको छैन। आज नेताहरू सभापति लड्छु भन्दै विज्ञापन गर्नुहुन्छ। उहाँहरूलाई केन्द्रको मात्र चिन्ता छ। तलको संरचना खोइ?

अब आउने महाधिवेशनबाट नेतृत्वमा युवाको सम्भावना छ?

यो विषयको सन्दर्भमा एउटा प्रयास मैले गरेँ। त्योबेला आवश्यक थियो। त्योबेला पार्टीभित्र पुस्तान्तरणको विषय खाली बोल्ने विषय मात्र भएको थियो। सशक्त हस्तक्षेप थिएन। तर यो पटकचाहिँ पार्टीको जो नेतृत्व भएर आउँछ, उसले आममानिसलाई उत्साहित गर्छ कि गर्दैन भन्ने हो। त्यो आवश्यकता पूरा गर्नका लागि हामी युवा भन्नेहरूचाहिँ पार्टीको साधारण सदस्य भएर पनि काम गर्न तयार हुनुपर्छ। त्यसमा मचाहिँ तयार छु।

मैले यसअघि महामन्त्री लड्ने एउटा जोखिम उठाएको हुँ। परिणाम के आउँछ भन्ने मलाई थाहा थियो। यो पटकको जोखिम भनेको हामी केन्द्रीय समितिमा पनि नबसौँ। त्यो पनि त एउटा जोखिम हो नि! विकास हुने बेलामा त्यो गर्न पनि तयार छु म तर त्यसको सर्त के हो भने पार्टीको नेतृत्वले भिजन ल्याउनुपर्‍यो। नभए उहाँहरूलाई विश्वास गर्ने आधार के हो त? अहिलेसम्म कांग्रेसका कोही नेताले यस्तो योजना ल्याउनुभएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.