अध्यक्ष ओली बंगलादेश, खनाल जापान, नेपाल भियतनाम जाँदै

|

काठमाडौं : अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्व दर्ता भएको महाअभियोग प्रस्तावमा दलहरुबीच छलफल चलिरहेका बेला एमालेका शीर्ष नेताहरु विदेश जाने भएका छन्। 

पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बंगलादेश जाँदै छन्। एमाले संसदीय दलका नेतासमेत रहेका ओली बंगलादेशको अवामी लिग पार्टीको शनिबारदेखि सुरु हुने २० औं सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेका हुन्। ओली बंगलादेश एयरलाइन्सको विमानबाट दिउँसो पौने २ बजे ढाका प्रस्थान गर्ने ओली १० गते स्वदेश फर्कने एमालेले जनाएको छ। 

यस्तै, पार्टीका पूर्व अध्यक्ष एवं वरिष्ठ नेता झलनाथ खनाल शनिबार जापान जाँदैछन्। जापानमा हुने एक कार्यक्रमको प्रमुख अतिथीका रुपमा खनाल त्यसतर्फ जान लागेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए। 

त्यस्तै नेता माधव कुमार नेपाल पनि आइतबार ७ गते भियतनाम जाँदै छन्। अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा भाग लिन नेता नेपाल भियतनाम जान लागेका हुन्।

पार्टीका महासचिव इश्वर पोख्रेल अहिले अष्ट्रेलियामा छन्। अख्तियार प्रमुख कार्की विरुद्वको महाअभियोग प्रस्ताव अघि बढाउनुपर्ने भन्दै सभामुख ओनसरी घर्तीले शुक्रबारदेखि गर्ने भनेको स्वीट्जरल्याण्डको ८ दिने भ्रमण स्थगित गरेकी थिइन्।

महाअभियोग प्रस्ताव आइतबार संसदमा पेश गर्ने तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.