|

चिरञ्जिबी घिमिरे

दमक : पछिल्लो समय दमकमा डेंगु रोगका बिरामी बढेका छन्। दुई हप्तामा मात्र दमक आसपासमा १९ जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ। दमकमा रहेका विभिन्न अस्पतालहरुमा अहिले पनि दर्जन बढीको शंकास्पद अवस्थामा उपचार भइरहेको छ। गत वर्ष जिल्ला जनस्वास्थ्य कार्यालय झापाको तथ्यांक अनुसार दमकमा एक जना मात्र डेंगुबाट संक्रमित भएका थिए।

के हो डेंगु?

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोलर सुपरभाईजर जीवन चौलागाईँका अनुसार डेंगु रोग एडिज एजिप्टि जातको पोथी लामखुट्टेले टोक्दा लाग्ने रोग हो। यो लामखुट्टे दिउँसोको समयमा सकृय हुने उनले बताए। 'यो लामखुट्टेले सफा पानीमा आफ्नो लार्भा उत्पादन गर्ने गर्दछ। यो एयर कुलर, घर छेउमा रहेको सफा पानीमा तथा बाहिर ग्यारेजमा राखिएका टायरहरुमा बढी देखा पर्छ' उनले भने। टायर मर्मत सेन्टरमा भएका टायर हटाउन समेत सञ्चालकहरुलाई आग्रह गरिएको उनले बताए।

डेंगु लागेका मानिसमा देखिने लक्षणहरु

लाइफलाइन अस्पतालकी वरिष्ठ फिजिसियन डाक्टर खुश्बु प्रिया मिश्रका अनुसार डेंगु लागेका बिरामीलाई उच्च ज्वरो आउने, वान्ता हुने, जोर्नीका हाडहरु दुख्ने, शरीरमा प्लेटलेस कम भएपछि निलो, रातो डामहरु देखा पर्ने, खान मन नलाग्ने, शरीरमा तागत कम हुने लगायतका लक्षण देखा पर्छ। प्लेटलेट्स कम भएका बिरामीका लागि भने दमकमा उपचार सम्भव नभएको उनको भनाइ छ।

झापाका जोखिमयुक्त क्षेत्रहरु

यो रोग सहरी क्षेत्रमा बढी लाग्ने भएका कारण झापाका मुख्य बजारहरु दमक, सुरुङ्गा, बिर्तामोड, भद्रपुर र काँकडभिट्टा जोखिमयुक्त क्षेत्र रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। भेक्टर कन्ट्रोलर सुपरभाईजर चौलागाईँका अनुसार यस वर्ष दमकमा सबैभन्दा धेरै फेला परेको हो। डेंगुले मानिसको मृत्यु हुन सक्ने भएकाले हेलचक्राईँ नगर्न उनले आग्रह गरे। उच्च जोखिम रहेका क्षेत्रका जनताले उच्च सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।

के गर्दैछ जिल्ला जनस्वास्थ्य कार्यालय?

चौलागाईंका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय झापाले यसअघि दमकमा सचेतनामूलक कार्यक्रमसहित लामखुट्टेको लार्भा नष्ट गर्ने काम गरेको थियो। जनस्वास्थ्यले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग सहकार्य गरेर यसको नियन्त्रणकालागि थप कदम चाल्ने उनले जानकारी दिए।

डेंगु लागेका बिरामीहरुलाई जिल्ला स्वास्थ्य मातहतका सरकारी अस्पतालमा निःशुल्क उपचार गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.