विचार

कठघरामा दलित आन्दोलन
SHARES

भदौ १५, २०७५

    नेपाली जनयुद्ध र जनक्रान्तिले ल्याएको परिवर्तन हिन्दु सामन्तवादको प्रतिनिधि शाहवंशीय राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हो। भारतीय हिन्दु वर्णाश्रमवादी दर्शनमा आधारित आर्थिक, सामाजिक, सांस्कृतिक आधारमा टिकेको शाहवंशीय राजतन्त्रको अन्त्य भए तापनि आधारमा रूपान्तरण हुन सकिरहेको छैन। राजनीतिक अर्थशास्त्रको आधारभूत सिद्धान्त आधार र उपरी संरचनाको द्वन्द्वात्मक सम्बन्ध हुन्छ। आधारमा रूपान्तरण नभएसम्म उपरी संरचनाको परिवर्तन दिगो हुन सक्दैन। आधारलाई ध्वस्त नगरीकन नयाँ निर्माण गर्ने कुरा निकै जटिल र कठिन कार्य हो। जस्तै : पुरानो घरको जगमा नयाँ घर निर्माण गर्ने भनेको पुरानै डिजाइनको घर बनाउने हो। यो कुरा पहिले आफूले आफूमाथि वैचारिक रूपले निर्मम भएर कार्यान्वयन गर्नुपर्छ। त्यसपछि अरूलाई विश्वास दिलाउने प्रयत्न गर्नुपर्छ। अन्यथा कसैले पनि विश्वास गर्न तयार हुँदैन। 

    बल प्रयोगको सिद्धान्तले अस्थायी रूपमा उपरी संरचनामा परिवर्तन ल्याउन सक्छ तर त्यसको निरन्तरताले स्थायित्व कायम गर्न सक्दैन। प्रत्येक मार्क्सवादीले संघर्ष निरपेक्ष र एकता सापेक्षको सिद्धान्तलाई जडतामा बुझ्नुहुँदैन, यसको द्वन्द्वात्मक सम्बन्धलाई राम्रोसित बुझ्न आवश्यक छ। कम्युनिस्टहरूले उपरी संरचनामा पहुँच स्थापित गरेपछि आधारलाई परिवर्तन गर्न त्याग र बलिदानका साथ कठिन परिश्रम गर्न सक्नुपर्छ अन्यथा प्रतिक्रान्ति हुन्छ, त्यसलाई क्रान्तिबाहेक अरू कसैले रोक्न सक्दैन। यसलाई विगतको इतिहासले पुष्टि गरिसकेको छ। जस्तै : २००७ सालको क्रान्तिपछि ०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याएपछि कांग्रेसी नेता कार्यकताहरू मात्तिएका थिए, जसको परिणाम ०१७ पुस १ गते शाही 'कू' भयो।

    तानाशाही पंचायती व्यवस्थाले ३० वर्ष शासन गर्‍यो। त्यसको अन्त्यका लागि २०४६/०४७ सालमा कम्युनिस्ट-कांग्रेस मिलेर आन्दोलन गर्नुगर्‍यो। त्यही रोग बहुदलवादीहरूमा सल्किएपछि ०५२ फागुन १ गतेबाट तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा जनयुद्धको थालनी भयो। सात दल र माओवादीबीचको १२ बुँदे सहमति भयो। त्यसैको जगमा २०६२/०६३ सालको १९ दिने जनआन्दोलन भयो। त्यसले राजनीतिक परिवर्तन ल्याएको छ तर त्यसले स्थायित्व प्राप्त गर्न सकिरहेको छैन। संविधान जारी भएको छ, निर्वाचन सम्पन्न भएको छ र कम्युनिस्टहरूको दुई तिहाई बहुमतको सरकार बनेको छ। पाँच दशकसम्म फुट र विभाजन भएको कम्युनिस्ट पार्टीका दुई ठूला घटकहरू एक भएको अवस्था छ। विगतको संकीर्ण, गुटगत मानसिकताको विरासतलाई ध्वस्त पार्न आवश्यक छ। माओ भन्नु हुन्थ्यो रे- 'खुला र स्पष्ट होऊ, छलछाम र षड्यन्त्र नगर, एकजुट होऊ, न फुट।' केही आदर्श वाक्यहरूप्रति निष्ठावान् हुन आवश्यक छ। 

    नेतृत्व र विचारबीचको द्वन्द्वात्मक सम्बन्ध हुन्छ, एकबिना अर्को लँगडो हुने गर्छ। विचार मार्क्सवादी र व्यवहार ब्राह्मणवादी भएको अवस्थामा समाज रूपान्तरणको उचित तापमान पैदा हुन सक्दैन। यो कुरा नेपाली कम्युनिस्ट आन्दोलनमा मात्र लागू हुँदैन, दलित मुक्ति आन्दोलनमा पनि लागू हुन्छ।

    नेपाली कम्युनिस्ट आन्दोलन गुटगत संकीर्ण मानसिकता, अवसरवादी व्यक्तिवाद सामन्ती चिन्तन, अराजकतावादी चरित्र, हिन्दु वर्णाश्रम, जात व्यवस्था र छुवाछुतको परम्परावादी सोचबाट पूर्ण मुक्त हुन सकिरहेको अवस्था होइन। यसको शुद्धीकरण द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणलाई आत्मसातीकरण गरेका नेता कार्यकर्ताको ठूलो जमात तयार गरेर मात्र सम्भव छ। नयाँ विचार र राजनीतिक कार्यदिशासहितको २१औँ शताब्दीको नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्न आवश्यक छ। साविक एमाले र साविक माओवादी केन्द्रबीचको एकता–संघर्ष–रूपान्तरको प्रक्रियाले त्यस प्रकारको पार्टी निर्माण सम्भव छ। त्यस्तै, प्रकारले दलित मुक्ति आन्दोलनको एकता पनि सम्भव छ। 

    इतिहासको कठघरामा दलित 

    नेतृत्व र विचारबीचको द्वन्द्वात्मक सम्बन्ध हुन्छ, एकबिना अर्को लँगडो हुने गर्छ। विचार मार्क्सवादी र व्यवहार ब्राह्मणवादी भएको अवस्थामा समाज रूपान्तरणको उचित तापमान पैदा हुन सक्दैन। यो कुरा नेपाली कम्युनिस्ट आन्दोलनमा मात्र लागू हुँदैन, दलित मुक्ति आन्दोलनमा पनि लागू हुन्छ। सिंगो वर्गीय मुक्ति आन्दोलन समष्टि हो भने दलित मुक्ति आन्दोलन व्यष्टि।

    दलित समस्यालाई बुझ्ने र बदल्ने सवालमा अंश र समग्रको द्वन्द्वात्मक सम्बन्ध रहेको कुरा स्पष्टै छ। अंश अंशलाई जोडेर समग्र वर्गीय मुक्ति आन्दोलनको अभिन्न अंग बनाउने कि कामी, दमाईं, सार्की, वादी, गाइने, पासवान, मुसहर, राम, चमारलगायतका उपजातमा विभाजित गरेर 'फुटाऊ र शासन गर' भन्ने ब्राह्मणवाद लागू गर्ने चुनौती खडा भएको छ। दलितभित्र मौलाएको ब्राह्मणवाद यही हो। यो चरम औसरवाद र आफू केन्द्रित व्यक्तिवादमा अभिव्यक्त हुने गर्छ। आफ्नो स्वार्थको निम्ति आन्दोलनको बलि चढाउने प्रवृत्ति हो यो। यो अध्यात्मिक आदर्शवादी विश्व दृष्टिकोणमा आधारित वैचारिक राजनीतिक सोच हो। यो सोचले व्यक्तिगत स्वार्थलाई आंशिक सम्बोधन त गर्ला तर दलित समुदायका समस्याहरू हल गर्दैन। यसले अमेरिका गए पनि, युरोपतिर भए पनि, खाडी मुलुकतिर छिरे पनि, एसियाभित्र रहे पनि र म दलित होइन सिल्पी हुँ भने पनि दलित समस्याले पछयाउन छाड्नेछैन। किनभने यो समस्या विश्व मानव समाजलाई बुझ्ने र बदल्ने दर्शन र विचारसित सम्बन्धित छ।

    यो अवसरवादी चिन्तनबारे प्रसिद्ध मार्क्सवादी साहित्यकार राहुल साँकृत्यायनले भनेजस्तै 'हमारे अन्डर छुपा हुआ ब्राह्मणवाद जाग उठा।' अरू समय अवसरवादले शिर लुकाएर बस्छ,  मौका पाउनेवित्तिकै शिर उठाउँछ। यो ब्राह्मणवादी प्रवृत्ति नेपाली समाजको उपज हो। यसको घेराबन्दीमा नेपाली दलित मुक्ति आन्दोलन स्थापनाकालदेखि नै पर्दै आएको ऐतिहासिक विडम्बना छ। यो इतिहासको कठघरामा रहेको नेपाली दलित मुक्ति आन्दोलनको विरासतलाई तोड्ने पुन: चुनौती खडा भएको छ। यो चुनौतीलाई स्वीकार गर्ने र यसको सामना गर्न त्याग र बलिदानका साथ निःस्वार्थ संघर्षमा होमिन आँट भएको गतिलो टिम निर्माण गर्न आवश्यक छ। समाजवाद उन्मुख जनताको जनवादमा सामाजिक साँस्कृतिक रूपान्तरण, आर्थिक समृद्धि र विकास निर्माणका लागि दलित समस्याको समाधान अनिवार्य छ। 

तिलक परियार

परियार माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]