बिम्स्टेक नसकिँदै फर्किनेछिन् स्वदेश

|

काठमाडौं : बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन नेपाल आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएकी छन्। मोदी र हसिनाबीच द्विपक्षीय भेटवार्ताको समय निर्धारण भएको ढाका र दिल्लीले बताएको छ। 

बिहीबार बिहान करिब १५ मिनेटको अन्तरालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका मोदी र हसिनाबीच भेट हुन लागेको बंगलादेशको पत्रिकाले लेखेको छ। बंगलादेशको पत्रिका द डेलिस्टारका अनुसार मोदी र हसिनाबीच आज साँझ पौने ७ बजे भेट हुने भएको छ। 

भेटवार्तामा बंगलादेशमा डिसेम्बरमा हुन लागेको आम निर्वाचन र पछिल्लो राजनीतिक तनावका बारेमा छलफल हुने बताइएको छ। पछिल्लो समय बंगलादेशमा विद्यार्थीहरूको आन्दोलन चर्किएको छ भने पत्रकारलाई सरकारले पक्राउ गरेकोमा हसिनाको आलोचना भइरहेको छ।

बंगलादेशमा चलिरहेको राजनीतिक आन्दोलनका कारण नै हसिना बिम्स्टेक सम्मेलन नसकिदै स्वदेश फर्किने कार्यक्रम तय भएको छ। उनी भोलि ११ बजे स्वदेश फर्किने भएकी छन्। बिम्स्टेक बैठकको एजेन्डामा शुक्रबार २ बजे मात्रै हस्ताक्षर हुने कार्यक्रम रहेको छ। बिम्स्टेकमा ऊर्जा लगायतका विषयमा सहमति हुने बताइएको छ। 

यसैबीच, बिम्स्टेक सम्मेलनका क्रममा विभिन्न देशका सरकार प्रमुखहरूबीच साइडलाइन भेट हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

बिम्स्टेकमा भाग लिनका लागि ६ सदस्य राष्ट्रका राष्ट्रप्रमुख काठमाडौं आइपुगेका छन्। सम्मेलन आज साढे तीन बजे सुरु हुने भएको छ। जसको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सम्मेलनमा सबै राष्ट्र प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.