|

काठमाडौं : पूर्व प्रमुख जिल्ला अधिकारी भगिराज इङ्नामको ‘लिम्बू जातिको इतिहास’ पुस्तक सार्वजनिक गरिएको छ।

किरात याक्थुम चुम्लुङको ३०औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले उक्त पुस्तक विमोचन गरेका हुन्।

ललितपुरस्थित चुम्लुङ भवनमा आयोजित विशेष समारोहमा अन्वेषक इङ्नामले लेखेको उक्त पुस्तकमा बलदीप प्रभाकर राईले टिप्पणी गरे। ‘नवपाषाण युगमा नै किरातहरू गुफाहरू छाडेर घरमा बस्न थालेको उल्लेख गर्दै यस पुस्तकले मानवशास्त्रीय दृष्टिकोणहरू प्रस्तुत गरेको छ’, राईले भने, ‘मानव इतिहासमा नै पहिलो घर पाइजावाले बनाएको देखिन्छ, जुन अहिलेको इखाबु गाविसमा पर्छ। यस्ता तथ्य पुस्तकमा प्रस्तुत गरिएको छ।’ उनका अनुसार लिम्बू जातिको इतिहासलाई मानवशास्त्रीय दृष्टिकोणमार्फत् उत्खनन् गरेकाले यो पुस्तक भरपर्दो सन्दर्भ सामग्री हुने देखिन्छ।

प्राज्ञ वैरागी काइँलाले लिम्बू जातिका बारेमा एकमुष्ठ बुझ्नका लागि इङ्नामको पुस्तक उपयुक्त हुने बताए। ‘पुस्तकले लिम्बू जातिका बारेमा पर्याप्त प्रमाणसहित बुझ्नलाई सहयोग पुर्‍याएको छ। पुस्तकले नेपालका लिम्बूहरूको ऐतिहासिक अवस्था र योगदानका बारेमा बुझ्न पनि सहयोग हुनेछ।’

लिम्बूका बारेमा सबैभन्दा बढी सन्दर्भ सामग्रीसहित आएकाले अन्य पुस्तकको तुलनामा इङ्नामको पुस्तक आधिकारिक हुने दाबी वैरागीले गरेका छन्।

साथै, याक्थुम चुम्लुङको केन्द्रीय कार्यालय, ललितपुरमा ३०औँ वार्षिकोत्सवको अवसरमा लिम्बू र किराँतका बारे उल्लेखित पुस्तकको बिक्री तथा प्रदर्शनी राखिएको छ। भदौ १५ देखि सुुरु भएको प्रदर्शनी १७ गते सम्पन्न हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.