|

  • दीपक कट्टेल

तेह्रथुम :  राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत २६ किलोमिटर दूरीको म्याङलुङ–वसन्तपुर सडकखण्ड ट्र्याक खुलेको ३० वर्ष पुगेको छ। अहिलेसम्म सडक कालोपत्रे छैन, ठूला बसहरू समेत दिनदिनै ओहोर-दोहोर गर्ने भए पनि कहिले कहाँ फस्ने हो, पत्तो छैन। हिउँदमा धुलोमा फस्छन् र अहिले हिलोमा दिनदिनै फसिरहेका छन्।

जनप्रतिनिधिहरूले पटक पटक कालोपत्रे गरेर सडकको स्तरोन्नतिको आश्‍वासन दिए पनि कालोपत्रे भने हुनसकेको छैन। स्थानीयको पहल र व्यवसायीको हिम्मतको कारण गाडी भने हिँडिरहेका छन्। यो सडकमा रकम नछुट्याइएको पनि होइन, तर उचित प्रयोग भने भएको देखिएको छैन। 

पाँच वर्ष अगाडि ओटासिल प्रविधिको पिच गरिए पनि ठेकेदारले गुणस्तरीय काम नगर्दा केही समयममै सडक उस्तै बनेको छ। अब भने यसलाई गुणस्तरीय कालोपत्रेका लागि आवश्‍यक पर्ने रकम उपलब्ध भइसकेको जनप्रतिनिधिले बताएका छन् भने संघीय सरकारअन्तर्गतको अर्थ मन्त्रालयले चासो राखेको छ। 

अगामी तीन वर्षभित्रमा दुई लेन स्तरको कालो पत्रे सडक निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्यक पर्ने दुई अर्ब सात करोड रुपैयाँ बजेट अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले सुनिश्चितताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेखेको छ।

तर अर्थ मन्त्रालयले उक्त बजेट निकासा नगरी बजेट सुनिश्चितताको बारेमा मात्रै बोलेको हुँदा सडक कालो पत्रे हुनेमा ढुक्क हुन नसकिने स्थानीयको भनाई छ। पत्रको व्यहोरा अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नै आवश्यक बजेटको व्यवस्थापन गर्न भनिएको व्यहोराका कारण पनि अर्थबाट बजेट नआउने र उक्त बजेट सम्वन्धित मन्त्रालय वा लोकमार्गसँग रहेन वा रहेको बारे पत्रबाट नबुझिको भन्दै बजेट व्यवस्थापनमा जटिलता रहेने अगुवाहरूको भनाई छ। 

म्याङ्लुङ–वसन्तपुर सडक खण्ड मन्त्री परिषदबाट स्वीकृत रेखाङ्कनभित्र परेको बाटो भएकाले बहुवर्षीय ठेक्का बन्दोवस्ती सम्वन्धी निर्देशिका वमोजिम आवश्यक मापदण्ड तथा आधारहरू पूरा गरी सकेपछि निर्माण कार्य अगाडि बढाउन भनिएको छ। यो सडक निर्माण कार्य नियमित त्रिवर्षीय प्रक्षेपण भित्रबाट समायोजन हुन नसक्ने भएकाले पुष्पलाल (मध्यपहाडी) लोकमार्गको त्रिवर्षीय बजेट प्रक्षेपणमा नै माग वमोजिमको बजेट थप हुन सक्ने सुनिश्चितताका लागि आएको हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतकै विनियोजनबाट खर्च व्यवस्थापन गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्री परिषदले निर्णय गरिसकेको छ। 

तेह्रथुमे जनताको सर्वाधिक चासोको विषय रहेको वसन्तपुर–म्याङ्लुङ मध्यपहाडी लोकमार्ग  कालोपत्रे गर्नका लागि बजेट सुनिश्चितताको पत्र अर्थ मन्त्रालयले दिएको भन्दै अगामी ३ वर्षभित्रमा २ लेन स्तरको कालो पत्रेको कार्य सम्पन्न हुने प्रदेश नं. १ का सांसद लक्ष्मण तिवारीले बताए। 'विगतमा यो बाटोबाट पुग्न गएको असामान्य अनुभवले हामीलाई दुखित बनायो' सांसद तिवारीले  भने 'यसमा जनप्रतिनिधिको हैसियतले क्षमा प्राथी छु।' 

वर्षायाममा सडक हिलाम्मे हुँदा २६ किलोमिटर दुरीको सडक पार गर्न गाडीलाई हाल छ घण्टा बढी समय लाग्ने गरेको छ। धरान, धनकुटा, वसन्तपुर हुँदै म्याङ्लुङसम्म चल्ने यातायातका साधन सडक हिलाम्मे भएका कारण सयौं यात्रुहरू बाटोमा नै अलपत्र पर्ने गरेका छन्। 



हरेक वर्ष वर्षा मौसममा करिब तीन महिना साना गाडी वसन्तपुरदेखि म्याङलुङ आउँदैनन्। यो वर्ष पनि चार महिनादेखि साना सवारी साधनहरू वसन्तपुर कटेर नआएको भन्दै अबको तीन वर्षमा कालोपत्रे सडक बनेपछि भने धरानबाट तेह्रथुम आउन जान समस्या नहुने यातायात व्यवसायी डिल्ली रेग्मीले बताए। विदेसिने युवालाई रोजगारीको व्यवस्था गरी सडक निर्माणमा लगाउन सके बाटो पनि बनिने र युवा विदेशिनमा पनि कमी आउने उनको भनाइ छ।

सडक कालोपत्रे हुने कुराले हर्षित बनाएको तर सडक भने पहिले जस्तो टालटुले नभई दिगो र भरपर्दो बन्नुपर्ने लालीगुराँस यातायातका बस चालक प्रकाश रसाइलीले बताए। क्षतिग्रस्त सडकमा यात्रा गर्दा ज्यानै जोखिममा राखी यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अब केही सुधार हुन्छ कि भन्ने कुरामा आशा पलाएको यात्रुहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.