|

तेह्रथुम : करिब २० वर्ष अघिसम्म पहाडका गाउँगाउँमा झुरुम्म बसेका बस्ती दशवर्षे सशस्त्र द्वन्द्वसँगै शान्ति सुरक्षाको कारण देखाई बसाइँ सर्ने गरेका थिए। पछिल्लो समय देशमा शान्ति स्थापना भई स्थानीय तह कार्यान्वयन भएपछि पनि बसाइँ सराईको क्रम रोकिएको छैन।

अधिकार गाउँगाउँमा आयो तर गाउँमा बासोबास गर्ने मानिसको संख्या भने दिनानुदिन घट्दै गइरहेको छ। सिंहदरबारको अधिकार गाउँगाउँमा आइरहँदा पहाडी जिल्लाका गाउँ र सदरमुकाम भने सुनसान बन्दै गएका छन्। प्रदेशको राजधानी समेत तराईमा तोकिएपछि पहाडी जिल्लाका बासिन्दा बसाइँ सराइमा अग्रसर देखिएका हुन्।

प्रदेश-१ का चौध जिल्लामध्ये दश पहाडी जिल्लामा राजधानी नबनाई तराइका चार जिल्लाको सहजताका लागि विराटनगरमा राखिएपछि पहाडको जनसंख्या एकाएक बसाइँ सराइतर्फ उन्मुख भएको तेह्रथुमका स्थानीय बताउँछन्। अधिकांश पहाडी क्षेत्रका नागरिक ठूला सहर तथा तराईतिर बसाइँ सर्न थालेपछि पहाड साँच्चिकै रित्तिने पो हो कि भन्ने चिन्ताले व्यवसायीहरू पनि पिरोलिन थालेका छन्।

सदरमुकाम सुनसान बन्दै गएपछि व्यापार व्यवसायमा पनि प्रत्यक्ष असर परेको होटल व्यवसायी दिपक खनालले बताए। सिंहदरबारको अधिकार गाउँगाउँमा आयो भन्छन् तर युवा जति विदेश गए। केटाकेटी र बुढापाका मात्रै घरमा छन्। गाउँघरमा मानिस मर्दा मलामी जाने मान्छेसमेत छैनन् फेदाप गाउँपालिका-३ जलजलेका धनबहादुर नेपालीले गुनासो पोखे। 

पछिल्लो समय पहाडी जिल्ला तेह्रथुमबाट निरन्तररुपमा बसाइँ सर्न थालेपछि पहाड रित्तिन लागेको आभास भएको स्थानीय बुद्धिजिवी नारायण लुइँटेलले बताए। पहाडी क्षेत्रमा भएका सम्भावनाहरूको खोजी कार्य नभएकाले पनि मानिसहरू तराईतिर बसाइँ सर्न थालेको बुद्धिजिवी लुइँटेलको भनाई छ। विकास निर्माण, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा सुविधा तथा रोजगारीका अवसर पनि तराइकेन्द्रित हुन थालेपछि तराइमा बसाइँ सर्नेको चाप बढेको हो।

हाल राज्य संघीय व्यवस्थामा गएको तर संघीय व्यवस्थामा पनि केन्द्र वा तराइकेन्द्रित भई राजधानी समेत सुविधा सम्पन्न ठाउँमा नै बनाइएका कारण पहाड़ रित्तो हुने प्रबल सम्भावना रहेको उनको ठम्याई छ। तेह्रथुममा हाल अधिकांश घरजग्गाको कारोबारमा पनि मन्दी आएको छ, कतिपय घरहरू बिक्रीका लागि भनिए पनि किनबेच नहुँन् युवा व्यवसायी टिकाराम खुलालले बताए।

पहाडबाट भइरहेको अत्याधिक बसाइँ सराई रोक्नका लागि पहाडकेन्द्रित विकासमा स्थानीय तथा प्रदेश सरकारले ध्यान नदिए पछि पछुताउनु बाहेक हामीसँग केही विकल्प नरहने उनको भनाई छ। पछिल्ला केही दशकयता तेह्रथुम जिल्लाबाट स्थानीय बासिन्दा तराइतिर बसाइँ सर्ने क्रम बढेपछि पहाडका गाउँ तथा सदरमुकाममा जनसंख्या कम हुँदै गएको तथ्यांकले देखाएको छ।

गाउँपालिका र नगरपालिका निर्माणका समयमा पनि न्यूनतम जनसंख्या नपुगेको यथार्थ ताजै छ। पहाडी क्षेत्रबाट निरन्तर भइरहेको बसाइँ सराइले तराइमा जनसंख्याको चाप समेत बढेको छ। यसले तराइको खेतीयोग्य जमिन मासिँदै गएको छ भने पहाडका सम्भावनाहरू ओझेलमा पर्दै गएको म्याङ्लुङ क्याम्पस, तेह्रथुमका प्राध्यापक खेम निरौला बताए। 

युवालाई स्वदेशमा नै रोजगारको व्यवस्था तथा व्यवसाय सञ्चालनमा सहयोग गर्ने कार्य गर्न सके विदेशिने क्रम घट्ने थियो। अब पनि पहाडको बसाइँ सराइलाई नरोक्ने हो भने समानान्तर विकास प्रणालीमा असर पुग्न गई पहाड रित्तिने र तराइको अन्नभण्डार क्षेत्र मासिई राष्ट्रको समृद्धिमाथि नै प्रश्नचिन्ह उठ्ने सम्भावना उत्तिकै जटिल रूपमा देखापर्ने खतरा रहेको सम्वन्धित सरोकारवालाको विश्लेषण छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.