|

दार्चुला : भालुका पित्तसहित पक्राउ परेका दुई अभियुक्तलाई १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। २५ असारमा महाकाली नगरपालिका वडा नम्बर ४ बांगाबगड क्षेत्रबाट ६ थान भालुको पित्तसहित दुई जनालाई प्रहरीले प्रकाउ गरेको थियो। 

प्रकाउपछि  जिल्ला वन कार्यालयको जिम्मा लगाएकोमा यस्तो घटना जिल्लामा पहिलो भएका कारण कारबाही प्रकियामा अन्‍योलता देखिएको थियो। आवश्‍यक परामर्शपछि कार्यालयले साइटिस महासन्धिको प्रावधानमा टेकेर अघि बढ्ने निर्णय गरेको हो। यो महासन्धिमा भालुको पित्तसम्बन्धी मुद्दामा पाँचदेखि १५ वर्षसम्म कैद र पाँचदेखि १० लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। यही व्यवस्थाअनुसार भालुको पित्तसहित प्रकाउ परेका हुम्लाका बम रेकश शाही र व्यास गाउँपालिका- ६ हुती दार्चुलाका धनसिंह धामीलाई कारबाही प्रकिया अघि बढाइएको हो।

‘घटनाको अनुसन्धान, विधिविज्ञान प्रयोगशालाको रिपोर्ट र जिल्ला सरकारी वकिल कार्यालयको सल्लाहअनुसार साइटिस महासन्धिको प्रावधानअनुसार उनीहरूविरुद्ध मुद्दा चलाउन लागिएको’ डिभिजन वन प्रमुख सञ्जय तिवारीले बताए। जिल्ला वन कार्यालयले सुरुमा तत्कालीन जिल्ला वन कार्यालयले रेन्जर रणेन्द्र सिंहलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालेको थियो, तर साइटिस महासन्धिको प्रावधानअनुसार मुद्दा चलाउनुपर्ने अवस्था आएपछि अधिकृतस्तरका कर्मचारीलाई अनुसन्धान अधिकृत तोकी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ।

साइटिस महासन्धि १९७३ का आधारमा नेपालमा २०७३ सालमा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्टिय व्यापार नियन्त्रण ऐन बनिसकेकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को प्रावधान अनुसार कारवाही नहुने जिल्ला वन कार्यालयको भनाइ छ।
भालुको पित्तसम्बन्धी मुद्दा वन्यजन्तु तथा वनस्तपतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐनको व्यवस्थाअनुसार अगाडि बढाउन लागिएको डिभिजन वन कार्यालय प्रमुख संजय तिवारीले जानकारी दिए। 

साइटिस महासन्धिको अनुसूची १ मा कालो भालुलाई संकटापन्न वन्जयन्तुमा राखिएको छ। ‘विधिविज्ञान प्रयोगशालाको परीक्षणबाट कालोभालुका पित्त रहेको पुष्टि भएपछि साइटिस महासन्धिको प्रावधानलाई आधार बनाउन लागिएको हो’ डिभिजन वन प्रमुख सञ्जय तिवारीले बताए।  

साइटिस महासन्धि १९७३ अनुसार दुर्लभ वन्यजन्तुको संरक्षण गर्नुपर्ने हुन्छ। नेपाल महासन्धिको पक्षराष्ट्र भएकाले दुई वर्ष अगाडि यस विषयमा विशेष ऐनसमेत बनाइसकेको छ। २०७३ सालमा बनेको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्टिय व्यापार नियन्त्रण ऐनको दफा २० र २१ को प्रावधान अनुसार भालुको पित्तसम्बन्धी मुद्दा अगाडि बढाउन लागिएको हो। 

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्टिय व्यापार नियन्त्रण ऐन २०७३ निर्माण भए पनि २०७४ वैशाख १० देखि कार्यान्वयनमा आएको हो। वन डिभिजनले पक्राउ परेको ४५औं दिनमा जिल्ला अदालतमा दुबैजनालाई पेश गरेको छ।

भदौ १५ गते जिल्ला अदालतले तेस्रो पटक ५ दिनको अनुसन्धान म्याद थपेको छ। भदौ २० गतेभित्र अनुसन्धान सम्पन्न गरी जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने डिभिजन वन कार्यालय दार्चुलाको तयारी छ। 

भालुको पित्तसम्बन्धी मुद्दा गम्भीर
दार्चुलामा असार २५ गते समातिएको भालुको पित्तसम्बन्धी मुद्दा गम्भीर भएको संरक्षणकर्मीले बताएका छन्। आधा दर्जन भालुका पित्त एकैपटक बरामद हुनुले संरक्षण क्षेत्रमा गम्भीर चुनौती देखिएको दार्चुलामा कार्यरत वनसेवाका कर्मचारीले बताए।

दार्चुलामा समातिएका पित्त विधिविज्ञान प्रयोगशालाको डिएनए परीक्षणमा हिमाली कालो भालुको पित्त भएको पुष्टि भएको डिभिजन वन प्रमुख सञ्जय तिवारीले बताए। साइटिस महासन्धिअनुसार संकटापन्न वन्यजन्तु रहेको कालोभालुको शिकार हुनु गम्भीर विषय भएको उनको भनाइ छ। 

भारत र चीनसँग सीमा जोडिएको क्षेत्रमा संकटापन्न वन्यजन्तुको चोरीशिकारी र तस्करी भइरहेको पुष्टि गर्ने महत्वपूर्ण घटना भएको छ भालुको पित्त प्रकरण। अपिनाम्पा संरक्षण क्षेत्रबाट कालोभालुको शिकार भएको आशंका गरिएको छ। प्रयोगशालाबाट कालोभालुको पित्त भएको पुष्टि भएको र भालुका पित्त धेरै पुराना नभएकाले दार्चुलामै शिकार भएको हुनसक्ने एक वनकर्मीको आशंका छ। 

डिभिजन वन कार्यालयका प्रमुख सञ्जय तिवारी भने अहिले नै कालोभालुको शिकार दार्चुलामै भएको भन्न नसकिने बताउँछन्। ‘हामी अनुसन्धानको क्रममा छौँ, कुन ठाउँमा सिकार गरिएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन’ उनले भने।

गत जेठ, असार महिनामा व्यास गाँउपालिकाको वडा नम्बर १ अन्तर्गत बुँदी, कुन्तीसाउ, अपि वनक्षेत्रमा भालुको आतंक थियो। यार्सागुम्बा संकलक र उक्त क्षेत्रमा आवतजावत गर्ने धेरैले भालु देखिएको बताएका थिए। व्यासको छाङरुका एक वासिन्दाकाले खच्चर र बाख्रा समेत भालुले खाएको थियो। पछिल्लो समय उक्त क्षेत्रमा भालु नदेखिएकोले त्यही क्षेत्रमा कालोभालुको शिकार भएको आशंका गरिएको छ। 

स्रोतका अनुसार बरामद गरिएका भालुका पित्त भारतीय भूमि भएर नेपाल ल्याइएको अनुसन्धानको क्रममा खुलेको छ। दार्चुला प्रहरीले भालुका पित्त बरामद भएलगत्तै भारतीय प्रहरीले समेत यसबारे चासो राखेको स्रोतले बतायो। ‘भारतीय प्रहरीले भालुका पित्तको ओसारपोसारबारे चासो राख्दै नेपाली पक्षबाट जानकारी लिएको छ’ स्रोतले भन्यो। 

साइटिस महासन्धिअनुसारको गम्भीर घटना भएकाले नेपाल प्रहरीको सिआइबी र डब्लुडब्लुएफले समेत यस घटनाको गोप्य रुपमा अनुसन्धान गरिरहेको स्रोतको भनाई छ। त्रिदेशीय सीमाक्षेत्रमा विगतदेखि नै वन्यजन्तुको ओखेटोपहार चोरीशिकारी र तस्करी हुने गरेको छ। विगतमा दार्चुलामा गैडाको खाग, सालक, बाघको छाला, हात्तीको दात जस्ता ओखेटोपहारको क्षेत्रमा तस्करी हुने गरेको घटना सार्वजनिक भइसकेको छ।  

भालुको पित्तसहित दुई पक्राउ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.