संयुक्त विद्यार्थीले बुझाए देउवालाई ज्ञापनपत्र

|
फोटो सौजन्य : आरसी लामिछाने

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई लगाइएको महाभियोगका सम्बन्धमा पार्टी र संसदीय दलको निर्णय कुर्न आग्रह गरेका छन्।

निलम्बित प्रमुख आयुक्त कार्कीविरुद्व व्यवस्थापिका-संसद्‍मा दर्ता भएको महाभियोग प्रस्ताव चाँडो पारित गराउन माग गर्दै ध्यानाकर्षण गराउन संयुक्त विद्यार्थी सङ्गठनको ज्ञापनपत्र बुझ्दै सभापति देउवाले पार्टी र संसदीय दलको बैठकमा सो प्रक्रियामा बारेमा छलफल गरी जनमतअनुसार निर्णय लिने विश्वास दिलाए

देउवा निवास बुढानिलकण्ठ पुगेको संयुक्त विद्यार्थीको टोलीसँग उनले भने, 'यसमा मेरो कुनै ब्यक्तिगत धारणा छैन, पार्टी र संसदीय दलको निणय कुर्नु। हामी जनमत हेर्दै छौँ।'

राजनीतिक दलहरुबीच महाभियोग सम्बन्धमा दलहरुबीच सामान्य छलफल मात्र भएको बताए। उनले भने, 'महाभियोगका सम्बन्धमा सामान्य छलफल भएको छ। प्रधानमन्त्री भन्दा अरु कसैसँग छलफल भएकै छैन। पहिले आफ्नो पार्टीमा त छलफल गर्नुपर्‍यो नि।'

उनले कानुनी राज्य तथा जनताको सार्वभौम अधिकारलाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

विभिन्न १३ विद्यार्थी सङ्गठनले संयुक्तरुपमा बुझाएको ध्यानाकर्षण पत्रमा मुलुकमा न्यायिक सर्वोच्चता कायम राखी विधिको शासन कायम गर्न सो प्रस्ताव अविलम्ब पारित गराउन आग्रह गरिएको छ।

कार्कीविरुद्व व्यवस्थापिका संसद्‌मा दर्ता भएको महाभियोग प्रस्ताव पास गराउनुपर्ने माग गर्दै संयुक्त विद्यार्थी संगठनको टोलीले शनिबारबाट शीर्ष दलका नेतृत्वलाई ज्ञापनपत्र बुझाउँदै आएका छन्। यस सम्बन्धमा संयुक्त विद्यार्थी संगठनले महाभियोग प्रस्तावमा समर्थन जुटाउन आइतबारदेखि देशभर प्रर्दशन पनि गर्ने भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.