|

बाँके : हुलाकी सडक निर्माण गरिरहेको गणपति कन्स्ट्रक्सनले बाल मजदुर प्रयोग गरेको पाइएको छ। कन्स्ट्रक्सनले सडकसँगै नाला निर्माणमा बाल मजदुर प्रयोग गर्दै आएको छ।

पारिश्रमिक थोरै दिनुपर्ने भएकाले निर्माण कम्पनीले निर्माणको काममा बाल मजदुर प्रयोग गरेको स्थानीय सोहनलाल यादवले बताए। बाल मजदुरलाई सिमेन्ट, बालुवा, गिट्टी ढुवानी गर्न प्रयोग गरिएको यादवको भनाइ छ। उनले भने, ‘उमेर पुगेका व्यक्तिलाई काममा लगााउँदा धेरै पारिश्रमिक दिनुपर्ने भएकाले बाल मजदुरलाई काममा लगाउने गरिएको हो।’

हुलाकी सडकअन्तर्गत नेपालगन्ज–कम्दी सडकखण्डमा नाला निर्माणमा बाल मजदुर प्रयोग भएका छन्। एक जना बालकलाई दैनिक तीन–चार सय रुपैयाँ ज्याला दिएर काममा लगाइएको स्थानीयले बताए।

गणपति कन्स्ट्रक्सनका प्रमुख तुलसीराम भण्डारीले नाला निर्माणको काम पेटी ठेकेदारले गरिरहेको बताउँदै मजदुर हेर्ने जिम्मेवारी आफ्नो नभएको बताए। पेटी ठेकेदारले कस्ता मजदुर प्रयोग गर्‍यो भन्दा पनि कामको गुणस्तरीयता हेर्ने काम आफ्नो भएको उनको भनाइ छ। उनले भने, ‘तै पनि यसको अनुगमन गरेर बाल मजदुर प्रयोग गरेको भए काममा लगाउन दिन्नौँ।’

गणपति कन्स्ट्रक्सनले हुलाकी सडकअन्तर्गत नेपालगन्जको पुष्पलाल चोकदेखि नरैनापुर गाउँपालिकाको कालाफाँटासम्म ४२ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का लिएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.