|

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघभित्र महाधिवेशनको विषयलाई लिएर पुनः हलचल सुरु भएको छ। कातिक अन्तिममा महाधिवेशन गर्नका लागि भन्दै तीन समूहका नेता निरन्तर गोप्य बैठक बसे पनि संगठनभित्र केही समूहले विवाद सुरु गरेपछि नेविसंघभित्रको विवाद उत्कर्षमा पुगेको हो। 

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला निकटका नेताहरू निरन्त एक हप्तादेखि छलफलमा बसेका थिए। तर संगठनमा ती नेताहरूले एकलौटी गरेको भन्दै पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला सहमहामन्त्री प्रकाशशरण महत निकटका विद्यार्थी नेताहरूले विवाद गरेपछि अन्तिम चरणमा पुगेको गोप्य बैठक पनि निष्कर्षविहीन बनेको बैठकमा सहभागी एक नेताले बताए। 

सभापतिनिकट संगठनका अध्यक्ष नैनसिंह महर र सहमहामन्त्री बद्री मुडवरी, नेता रामचन्द्र पौडेलनिकट तथा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, उपाध्यक्ष प्रकाश राना र नवीन राई, नेता सिटौला समूहबाट महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लिराम सुवेदी र सहमहामन्त्री माधव ढकाल एक हप्तादेखि गोप्य बैठकमा छन्। उनीहरूले कातिक अन्तिम हप्तासम्म महाधिवेशनका लागि खाका तयार बनाएर केन्द्रीय समितिको बैठक पनि बोलाएका थिए। तीन समूहको सहमतिपछि महामन्त्री काफ्लेले शुक्रबारका लागि बैठक बोलाउँदै पत्र काटे।

उक्त पत्र देखेपछि असन्तुष्ट रहेका अर्का महामन्त्री सरोज थापाले पनि २४ गतेका लागि महाधिवेशनका बारे छलफल गर्न भन्दै बिहीबार अर्को पत्र काटे। उक्त पत्र आएपछि संगठनभित्र पुनः किचलो सुरु भएको छ। उक्त पत्रसँगै पार्टी नेताहरूले पनि संगठनतर्फ ध्यान दिएको बैठकमा सहभागी एक नेता बताउँछन्। बिहीबार सबै विषय टुंग्याउने भनेर एक नेताको घरमा बसेको तीन समूहको बैठक निष्कर्षविहीन बनेको स्रोतको दाबी छ। पार्टी सहमहामन्त्री डा. महतले हस्तक्षेप गरेपछि बैठक निष्कर्षविहीन बनेको ती नेता बताउँछन्।

‘सहमहामन्त्रीज्यूले नैनसिंहजीलाई बोलाउनुभयो’, स्रोतले भन्यो, ‘अर्को गुटलाई मिलाउने बाहानामा आफ्नैलाई छाड्ने? अहिले भ्रातृ संगठनमा हाम्रो अवस्था के छ भन्दै अध्यक्षलाई पार्टी सहमहामन्त्रीले थर्काउनुभएछ। त्यसैले बैठकमा कुरा मिल्न सकेन।’ महामन्त्री महतले महरलाई बिहीबार भेटेका थिए। बैठकमा कुरा नमिलेसँगै शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठक पनि अनिश्चित बनेको स्रोतले बताएको छ। बिहीबार ९ः३० सम्म गौशालास्थित एक नेताको घरमा बसको बैठकमा संगठनका सहमहामन्त्री थापाको पत्रबारे चर्चा गरिएको थिए। अध्यक्ष महर समूहका थापालाई अध्यक्षले मिलाउन नसकेको चन्दै अन्य गुटका नेताहरूले आलोचनासमेत गरेको स्रोतको दाबी छ। 

पछिल्लो समय अध्यक्ष महर नेविसंघको महाधिवेशनका लागि सक्रिय बनेका छन्। नेविसंघको महाधिवेशन गरेर आफ्ने गिरको शाख जोगाउँदै पार्टी राजनीतिमा जाने योजना उनको रहेको उनी निकट एक विद्यार्थी नेताले बताए। उनलाई महाधिवेशन गर्नका लागि पार्टी महामन्त्री पूर्णबहादुर खड्काले साथ दिएको बताइएका छ। 

तर पार्टी सहमहान्त्री महत भने महाधिवेशनको पक्षमा नरहेको बताइएको छ। उनी महाधिवेशन भए पनि उमेरहद लगाएर आफू निकट विद्यार्थी नेता प्रेमराज जोशीलाई अध्यक्ष बनाउन चाहन्छन्। तर यो विषयमा भने सभापति देउवा निकटकै नेतामा विभाजन रहेको छ। उपसभापति निधि र नेता खाँड भने उमेरहद खुलाएर अहिलेका महामन्त्री सरोज थापालाई अध्यक्ष बनाउने पक्षमा छन्। 

स्रोतका अनुसार काठमाडौं उपत्यकाका क्याम्पसबाहेक अन्य क्याम्पस र जिल्लाका विवाद मिलिसकेको छ। केही विषय मिलाउन बाँकी रहेको भए पनि नेताको दबावका कारण अध्यक्ष महरपछि हटेकाले निष्कर्षमा पुग्न सकेको थिएन। महरले आफू निकटकालाई मिलाउन नसक्दा यस्तो अवस्था आएको उनी निकट एक नेताले बताए। ‘अध्यक्षले भूँइको टिप्दाटिप्दै गोजीको झरेको थाहै पाउनु भएन’, उनी भन्छन्,‘उहाँले आफ्नालाई मिलाउन नसक्दा महाधिवेशन झन अप्ठयारोमा पर्‍यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.