फिचर

गाईगोठका करोडपति गोठाला

वार्षिक पाँच करोडको कारोबार : युरोपियन गुणस्तरको डेरी प्रोडक्ट, एग्रो ग्राम र रिसोर्टको सपना

भदौ २३, २०७५

    बुटवल : उनको परिचय समय समयमा फेरिइरहन्छ। कुनै बेलाका शिक्षक, कहिले सञ्‍चार उद्यमी त कहिले बैंकर! तर, अहिले भने उनको परिचय फेरिएको छ। अहिले उनी 'करोडपति गोठाला'को रूपमा परिचित छन्। उनी अर्थात् तिनै करोडपति गोठाला शशि पौडेल। रूपन्देहीको तिलोत्तमा टिकुलीगढमा छ उनको गाई गोठ। देशकै ठूलो गाई गोठका मालिक हुन् पौडेल। उनले भर्खर राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्री पदक पाए।

    २०६७ वैशाखमा सञ्‍चालनमा ल्याएको गोठको नाम हो, 'लुम्बिनी एग्रो एण्ड रिसर्च सेन्टर'। गोठमा छन् ४५० गाई। एउटा गाईलाई एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म पर्छ। एक करोड ५० लाख रुपैयाँ लगानी पुगेको गोठमा ३५ जनाले काम गर्छन्।

    गोठका १७० गाईले एक दिनमा दुई हजार लिटर दूध दिन्छन्। दूध बुटवल, भैरहवाको बजारमा बिक्री हुन्छ। यी गाई दुहुने मेसिन जोडिएको छ। एकै पटक २५ वटासम्म गाई मेसिनले दुहुन्छन्। यो दूध बेचेर दैनिक एक लाखदेखि एक लाख ३० हजार रुपैयाँसम्म आम्दानी हुन्छ। आम्दानीको लगभग ६० प्रतिशत खर्च हुन्छ। फर्मकै २२ बिघा जमिन छ, जसमा गाईलाई चाहिने घाँस खेती हुन्छ।

    सरी खुल्यो गाई फर्म

    पर्वतको कुर्घामा जन्मिएका हुन् शशि। रूपन्देही तिलोत्तमाका बासिन्दा यिनको लगाव शिक्षण पेसाबाट बैंक र सञ्‍चार उद्यमतिर थियो। ३० वर्षअघि आठ वर्षजति जनजागृति माध्यमिक विद्यालयमा शिक्षण पनि गरे उनले। शिक्षणमा उनको मन बसेको थिएन। यही बीचमा सन् २००१ मा अमेरिका भ्रमणको अवसर जुट्यो। दुई वर्षे कागजी बिदा लिएर अमेरिका भ्रमणमा निस्किएका उनी एक सातामै फर्किए।

    फर्किएपछि शिक्षणमा मन गएन। उनको मन ‘कृषिप्रधान देश नेपाल’लाई सार्थक बनाउनतर्फ मोडियो। भन्छन्, 'हामीले पाठ्यपुस्तकमै कैयौँपटक कृषिप्रधान देश भनेर पढ्यौँ तर हामी किसानका छोराछोरी त्यसमा सन्तुष्ट थिएनौँ।’

    उनलाई आत्मैदेखि लागेको थियो, कृषिमा केही गर्छु। उनी गाई पाल्ने योजना बुन्न थाले। सुरुमा पाँच जना मिलेर कम्पनी दर्ता गरे। तिलोत्तमा नगरपालिका- १४ मा ५०० जति गाई पाल्न सकिने गोठ बनाउन थालेर गाई खोज्न थाले। होलिस्टिन फ्रिजियन र जर्सी जातका २५० गाई गोठमा ल्याए।

    यसबीचमा उनका साझेदारमध्येका दुई जनाले उनको साथ छाडे तर उनले हार खाएनन्। ‘त्यसबेला गाई पालेर फाइदा हुनसक्छ भन्ने थिएन', उनी सुनाउँछन्, 'मसँग भएका दुई जना साथीहरू, जो पशु क्षेत्रमै हुनुहुन्थ्यो, उहाँहरूले प्रगति हुने देख्नुभएनछ अनि छाड्नुभयो।’

    दुई जनाले साथ छाडे पनि अरू तीन जनाले योजना अघि बढाए। गाईले दूध दिन थाले। आम्दानी हुँदै गयो। गाई फर्ममा उत्पादन भएको गोबरलाई कम्पोस्ट मल बनाउने, गोबर ग्यास निकाल्ने योजना पनि अघि सारे उनले। नयाँनयाँ योजनाहरू थपिँदै थिए तर यहीबीचमा अरू दुई जनाले उनको साथ छाड्ने मनस्थिति बनाएछन्।

    ‘काम गर्दै जाँदा तपाईंलाई असजिलो भयो जस्तो लाग्यो, हामी बाहिरिन्छौँ, तपाईंले निर्धक्क चलाउनुस् भनेर सहमतिमै राम्रैसँग छाड्नुभयो', एक्लिएका पौडेल सुनाउँछन्, 'साथीहरूले योजनाबाट हात झिके पनि म निरन्तर अघि बढेँ।’ २५० गाईबाट ४५० पुगे। वार्षिक चार-पाँच करोड रुपैयाँको कारोबार हुन थाल्यो। जब गाई फर्म सफलतातर्फ मोडियो, सबैका दृष्टि पर्न थाले।

    उनले पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट विकास रत्न पाए। अहिले जनसेवा श्री पदक। अरू पनि पशु, कृषिसम्बन्धी धेरै पुरस्कारहरू पाइसके। भन्छन्, 'म एउटा निरन्तर अघि बढिरहने यात्री हुँ, अघि बढिरहन्छु।’

    युरोपियन गुणस्तरको डेरी प्रोडक्ट, एग्रो ग्राम र रिसोर्टको सपना

    सुन्दा धेरै ठूला सपना थिएनन् तर सपनाको दायरा फराकिलो थियो। मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन एउटा पाइला चाल्ने। सपना साकार पार्न अरू धेरै योजनाका पोकाहरू उनले तयार पारेका छन्।

    ‘बायो ग्यास, बायो इलेक्ट्रिसिटी, बायो अर्गानिक फर्टिलाइजर, अर्गानिक एग्रो रिसोर्ट, एग्रो चिल्ड्रेन पार्क, कृषि पर्यटनको पूर्वाधार, सिटिइभिटीमार्फत् भेटेरनरी डिप्लोमा कक्षा संचालन, फर्मलाई चाहिने दाना आफैँ उत्पादन र सशुल्क तथा नि:शुल्क वृद्धाश्रम सञ्‍चालन, यी योजना पूरा गर्न बाँकी नै छ', पौडेलले सुनाए।

    योजना अरू पनि छन्। ‘इजरायली कम्पनीसँग मिलेर युरोपियन र अमेरिकन गुणस्तरको दुग्ध उत्पादन गर्ने। उनले कम्पनीसँग सहमति पनि गरिसकेका छन्। इजरायलको एबिइएल नामको कम्पनीले छिटै नै उत्पादनका लागि प्रक्रिया थाल्दै छ। ‘३५ करोडको यो प्रोजेक्टमा उपकरण, प्रविधि र व्यवस्थापन इजरायली कम्पनीकै हुनेछ', उनी भन्छन्, 'डेरीका सबै उत्पादनहरू हामीले गर्नेछौँ।’

    त्यसका लागि दैनिक २० हजार लिटर दूध चाहिन्छ। दुई हजार लिटर आफ्नै फर्मबाट उत्पादन भए पनि १८ हजार लिटर दूध किन्ने सोचमा छन् पौडेल। ‘दुग्ध सहकारीहरूको दूध परीक्षण गरेर हामीले लिने सोच बनाएका छौँ', उनले भने, 'गुणस्तरलाई एकदमै प्राथमिकतामा राख्नेछौँ र यहाँ उत्पादन भएको सामान नेपालका मुख्य शहरहरूमा पुर्‍याउने योजना छ।’

    स्वास्थ्यका लागि हानिकारक कोल्ड ड्रिङ्क्सलाई विस्थापित गर्ने गरी मोही र मिल्क सेक पनि ल्याउने तयारीमा छन् उनी। ‘विदेशमा जसरी खाद्यपदार्थमा सचेतना बढेको छ। हामीकहाँ पनि विस्तारै बढ्दै छ, त्यसलाई बानी पार्नका लागि हामीले स्वास्थ्यका लागि लाभदायक खाद्यवस्तुहरू उत्पादन गर्नेछौँ', उनले सुनाए।

    साथसाथै खाद्यमा पनि हात हाल्दै छन् पौडेल। ‘पास्ता, कुकिज, कर्नफ्लेक्स, मसलाहरू, जस्ता खाद्य सामग्री पनि हामीले उत्पादन थाल्दै छौँ', उनी भन्छन्, 'यो काम अबको केही महिनाबाटै सुरु हुनेछ, खाद्य उद्योग ग्राम बनाउने सोच छ।’

    यसो गर्दा उनले थप १०० बढीलाई रोजगार दिनेछन्। यति मात्रै पनि होइन, उनको दिमागमा अरू पनि सपनाका तानाबाना छन्। पर्यटकलाई तान्ने खालको सुविधा सम्पन्न एग्रो रिसोर्ट बनाउने र बालबालिकालाई भुलाउन सुविधा सम्पन्न चिल्ड्रेन पार्क बनाउने योजना पनि छन् उनीसँग।

    गाईको गोबरबाट बिजुली

    फर्मबाट उत्पादन हुने गोबरबाट बिजुली निकाल्ने सोचमा छन् उनी। ‘७५० किलोवाट विद्युत उत्पादन हुने क्षमताको प्लान्ट छ', उनले भने, 'अबको केही महिनामा ३०० किलोवाट बिजुली उत्पादन हुँदै छ।’ उनले त्यसका लागि संरचना निर्माण गरिरहेका छन्। उत्पादन भएको बिजुली फर्ममा नै प्रयोग हुनेछ। गाई दुहुन, पानी तान्न, खाना पकाउनका लागि त्यो बिजुली प्रयोग हुनेछ। 

    जंक फुडको विकल्प : प्याकिङ गरेको खी

    विद्यार्थीले जंक फुड नास्ताका रूपमा प्रयोग गरेको उनलाई चित्त बुझेको छैन। त्यसको विकल्पमा उनले सोचे- खीर पकाएर प्याकिङ गरेर स्कुल पठाउने। उनको यो योजना पनि छिट्टै सुरु हुँदै छ।

    ‘९-१० दिनसम्म नबिग्रिने गरी र स्वास्थ्यलाई हानि नगर्ने गरी प्याकिङ गरेर गुणस्तरीय हिसाबले बजारमा पठाउने सोच छ। यसका लागि २० लाख रुपैयाँ लगानी लाग्ने अनुमान छ', उनले भने, 'यसको आन्तरिक तयारी सबै सकिएको छ। अब छिट्टै नै काम थाल्दै छौँ।’ यो खीर सुरुमा उनले रूपन्देहीको बजारमा केन्द्रित गर्नेछन्। ‘माग कस्तो आउँछ, त्यसैअनुसार अघि बढ्छौँ', उनले भने।

    टिकटबाटै लाखौँ कमाइ

    देशकै ठूलो गाई फर्म। देशभरका किसान र किसानी गर्न चाहनेहरूका लागि उत्सुकताको विषय हो। यही उत्सुकता मेटाउन देशभरका जाँगरिला किसान उनलाई भेट्न आउँछन्। गोठ हेर्न आएको शुल्क लाग्छ- प्रति व्यक्ति ५० रुपैयाँ। ‘सिजनको बेलामा एक दिनमा २५० जना आउँछन्, गाई, गोठ र यहाँको व्यवस्थापन हेर्छन् र खुसी भएर जान्छन्', उनले सुनाए। उनले गोठ देखाएरै मासिक साढे तीन लाख रुपैयाँजति कमाउँछन्। वर्षमा झण्डै चार करोड।

    सरकारसँग गुनासा

    शशि भन्छन्, 'सरकारले कृषिलाई प्राथमिकतामा राख्नुपर्छ।’ किन? उनी तर्क गर्छन्, ‘दुई तीब्र विकास भएका मुलुकका बीचमा रहेका हामीकहाँ अरू उद्योगधन्दा गरेर विकासको गति समात्न सकिँदैन। हामीसँग भएका चिज हुन् कृषि र पर्यटन।’ उनी कृषिलाई पर्यटनसँग जोड्न चाहन्छन्। पर्यटनलाई कृषिसँग। त्यसैले उनी एग्रो रिसोर्ट र पार्क बनाउने सोचमा छन्।

    ‘हामीकहाँ विकासका लागि बाटो देखाउने र साथ दिने चलन छैन, प्रगति गर्न चाहनेलाई अनावश्यक दुःख दिने चलन छ', उनी दुखेसो पोख्छन्', 'बैंकमै हेर्नुहोस् न, गाडी चढ्छु ऋण लेऊ भन्ने हो भने ७-८ प्रतिशत ब्याजमा सजिलै ऋण पाइन्छ, गाई पाल्छु, खेती किसानी गर्छु भन्ने हो भने अनावश्यक झन्झट र नीति ल्याउँछन्। एक अर्बको सम्पत्ति धितो राखेर २-४ करोड दिन पनि खोज्दैनन्, सेवा र शर्त जटिल बनाएर ब्याज दोब्बर लिन्छन्।’

    उनलाई लाग्छ, यसले प्रगतितिर लैजाँदैन। ‘हामीले कसरी आयात रोक्ने भन्नेतिर ध्यान दिन जरुरी छ', उनले तर्क गरे, अरू उद्योगधन्दा गरेर आयात रोकिन्न, सबै उतैबाट ल्याउनुपर्छ, आयात रोक्न कृषिमै जोड दिनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]