|

इलाम : बंगलादेशमा जारी साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले शनिवार साँझ ७ बजे आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको बंगलादेशको इतिहास नेपालभन्दा बलियो छ।

सन् १९९५ देखि साफ गेममा सहभागिता जनाएको बंगलादेश र नेपाल साफमै छ पटक आमनेसामने भएका छन्। जसमा पछिल्लो दुई खेल नेपालले आफ्नो पक्षमा पारेको छ २०११ मा १–० र २०१३ मा २–० ले नेपाल विजयी बनेको थियो। साफमा नेपाल सन १९९५, २०११ र २०१३ मा सेमिफाइनलसम्म पुग्न सफल भएको थियो। सन् १९९७, २००३ देखि २००९ र २०१५ मा नेपालले समूह चरण समेत समेत पार गर्न सकेन।

यता बंगलादेश २००३ को विजेता समेत हो। १९९९ र २००५ को उपविजेता बंगलादेश २०११ यता समुह चरण पार गर्न सकेको छैन। फिफा वरियतामा बंगलादेश नेपालभन्दा ३३ स्थान तल रहेको छ।

यस्तो भए नेपाललाई सहज

नेपालले बंगलादेशलाई कम्तीमा एक गोल अन्तरले हराए मात्र पनि सेमिफाइनल प्रवेश गर्नेछ। भदौ २३ मा हुने पहिलो खेलमा भुटानले पाकिस्तानलाई जितेको अवस्थामा नेपालका लागि केही सहज हुनेछ। समूहमा यसअघिका दुवै खेल हारेको भुटानले पाकिस्तानलाई पराजित गर्ने सम्भावना कम रहेको आँकलन गर्न सकिन्छ।

दुई खेल जितेको बंगलादेशको छ अंक छ। पाकिस्तान र नेपालको तीन तीन अंक छ भने भुटान अंकबिवहीन छ। पाकिस्तान र भुटानलाई हराएको बंगलादेशको गोल अन्तर तीन छ भने नेपाललाई २–१ गोलले हराएको र बंगलादेशसँग १–० ले हारेको पाकिस्तानको गोलअन्तर शून्य छ। 

भुटानलाई ४–० ले हराएको र पाकिस्तानसँग २–१ ले हारेको नेपालको गोलअन्तर तीन छ। पाकिस्तानले भुटानलाई कम्तीमा ४–० गोलअन्तरले पराजित गरेमा र नेपालले बंगलादेशलाई कम्तीमा एक गोलको अन्तरमा जितेमा बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ भने नेपाल र पाकिस्तान सेमिफाइनलमा पुग्नेछन्।

पाकिस्तानले भुटानलाई हराएमा नेपालका लागि भने बंगलादेशविरुद्धको खेल जित्नैपर्ने हुन्छ। बराबरी खेलेको अवस्थामा नेपालले पनि बंगलादेशसँग बराबरी खेल्दा गोलअन्तरको आधारमा सेमिफाइनलमा पुग्छ। यसैगरी पाकिस्तानले भुटानलाई चारभन्दा कम गोलअन्तरमा पराजित गरेमा र नेपालले बंगलादेशलाई कम्तीमा एक गोलको अन्तरमा हराएमा नेपाल समूह विजेता र बंगलादेश उपविजेताको हैसियतमा सेमिफाइनलमा पुग्नेछन्।

यी दुई टोलीबीचको खेल बंगबन्धु रंगशालामा हुनेछ। बंगबन्धु रंगशालामा यसअघि नेपाल भाग्यामानी सावित भएको छ। सन् १९९३ को साग गेमको एक मात्र स्वर्ण फुटबलमा जितेको नेपालले २३ वर्षपछि सोही रंगशालामा सन् २०१६ को बंगवन्धु गोल्डकपको उपाधि चुमेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.