फिचर

लेखापालको साहित्य यात्रा
SHARES

भदौ २६, २०७५

    उदयपुर : झट्ट अनुहार हेर्दा ३५ देखि ४० वर्षे युवा। उमेर सोध्यो भने भन्छन्, '४७ वर्ष पुगेँ। पेसामा  निजामती सेवा सरकारी जागिरे हुँ। सेवा समूह लेखा, साहित्यमा कलम चलाउँछु। नाम दरिएको साहित्यकार होइन, समाजमा देखेका वास्ताविक मनका वहहरू ऐना जस्तै छर्लंग देखाउँने प्रयास गर्छु।'

    तेश्रो कृति हालैमात्र सार्बजनिक गरेका साहित्यकार चन्द्रमणि पौडेल पेसाले लेखापाल हुन् सरकारी कार्यालयका ।

    हाल कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरमा कार्यरत पौडेलले केही दिनअघिको भेटमा भने, ‘मैले पनि किताब निकाल्ने गरेको छु। अब ‘राप’ उपन्यास बजारमा ल्याउँदै छु।’ पौडेलले भनेको केही दिनपछि भदौ ९ गते काठमाडौंमा रहेको शब्दार्थ प्रकाशनले एकै दिन एउटै कार्यक्रममा २० स्रष्टाका २० पुस्तक सार्वजनिक गर्‍यो । उक्त विमोचन कार्यक्रममा विविध विषय वा विधाका ३० वर्षदेखि ८० वर्ष उमेरसम्मका २० जना स्रष्टाका २० वटा पुस्तकको सामूहिक विमोचन भयो। त्यसमा चन्द्रमणि पौडेलको तेस्रो कृति ‘राप’ उपन्यास पनि थियो। उनको लेखनबाट प्रभावित भएर आफ्नै हाकिम हिरा न्यौपानेले कभर पृष्ट बनाई दिएपछि चन्द्रमणि द‌ंग छन ।

    चन्द्रमणि भन्छन्, ‘भावनाको संसारमा डुबेर होइन, वास्ताविकताको गहिराइमा पुगेर लेख्ने गरेको छु। ‘मैले लेखेका किताबहरूले बजार नपाएको गुनासो बिक्रेताहरूबाट सुनेको छैन’, पौडेलले सरकारी जागिर र साहित्यिक यात्राका उकाली ओराली सुनाउँदै भने, 'पहिलो कृतिमा विज्ञापन मागेर, साथीहरूको साथ सहयोगमा लिएर छपाएको थिएँ तर पनि सहजै खर्च उठ्यो।’

    यसरी आए साहित्यमा

    बाबा जेवलाल पौडेल र आमा भद्रीमाया पौडेलको कोखबाट २०२७ साउन ३० गते जन्मिएका पौडेल २०४९ सालदेखि सरकारी सेवामा प्रवेश गरेका हुन्। २०५२ सालदेखि स्थायी सरकारी जागिरमा प्रवेश गरेका पौडेल हालसम्म सरकारी सेवामै कार्यरत छन्। शनिबार बाहेक बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सरकारी कार्यालयमा नै रमाउने उनको साहित्यक यात्रा भने रोचक छ। 

    ‘भारतको मेघालयमा मेरा बुबा जागिरे हुनुहन्थ्यो। मैले कक्षा १ देखि ८ सम्म त्यहीँ पढेको हुँ। म सिलोङमा बस्दा त्यहाँ धेरै नेपाली साहित्यकारहरूसँग भेट भयो। त्यहाँ धेरै साहित्यका किताब मान्छेहरूले किनेर पढेको देखेँ', पौडेल भन्छन्, 'त्यतिबेला मैले पनि सोचेँ- यहाँ किताब लेखेर पनि नाम कमाइने रहेछ।'

    नाम सबैले सबैतिर थाहा पाउने रहेछन भन्ने लागेपछि साहित्य लेख्नुपर्ने रहेछ भन्ने बोध भयो । 'मेरो मनमा साहित्य के हो? साहित्य कसरी लेख्ने भन्ने कौतूहल बढ्यो अनि मैले विभिन्न फुटकर कविता, कथा कोर्न थालेँ', उनी भन्छन्, 'साहित्यकार खेमलाल पोखरेललगायतको साहित्य सिर्जना पढ्दै गएँ।'

    पहिलो कविता छापिँदा

    कक्षा ८ मा सिलोङमै बसेर पढेका पौडेलले लेखेका पहिलो रचना सन् १९८४ मा भारत दार्जिलिङबाट प्रकाशन हुने 'समीक्षक'  पत्रिकामा ‘ए सते’ शीर्षकको कविता प्रकाशन भयो। त्यसपछि उनलाई त्यहाँ भएका साहित्यकार खेमलाल पोखरेल, बलराम पोखरेल लगायतले स्यावासी दिँदै भने, ‘साहित्यमा हुने बिरुवाको चिल्लो पात। बधाई छ, चन्द्रमणि।'

    त्यसपछि उनले निरन्तर नेपाल र भारतबाट प्रकाशन हुने साहित्यिक स्तम्भ भएका राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा कविता, गजल, कथा छपाउँदै गए। कुनै पत्रिकाले पैसा दिन्थ्यो, कुनैले दिँदैनथे। 'तर पैसाका लागि भन्दा पनि साहित्यिक क्षेत्रमा चिनाउन र समाजमा भेटेका, देखेका कुरालाई साहित्यको माध्यमबाट जस्ताको त्यस्तै उतार्ने गर्दै आएँ', पौडेल भन्छन्।

    घटनामा आधारित रहेर यसरी लेखे तीन कृति

    बजारमा कृतिको संख्या थुपारेर ठूलो लेखकमा दर्ज गराउने भन्दा वास्तविकतामा आधारित लेखेर स्तरीय, पठनीय तथा ज्ञानवर्द्धक पुस्तक बजारमा ल्याउने गरेको बताउँछन् उनी। ‘म जागिरे भए पनि आर्थिक अवस्था कमजोर भएको लेखक हुँ। परिवार पाल्नका लागि जागिर खाएको हुँ, त्यही जागिरले अहिले एक छोरा र छोरी अनि श्रीमती पाल्नुपर्छ। प्रशस्त पैसा हुँदैन', उनले भने, ‘मेरा कृतिहरू प्रकाशन गृह र साथीभाइको साथ सहयोगमा प्रकाशन हुँदै आएको छ।’

    पौडेलको पहिलो कृति हो, ‘बाँसुरीभित्र रोएको मान्छे' (कथासंग्रह, २०५२)। यस कथासंग्रहमा विभिन्न शीर्षकका नौवटा कथा रहेका छन्। सबै कथा वास्तविकतामा आधारित छन्, त्यसमध्ये उनलाई मनपरेको कथा भनेको ‘बाँसुरीभित्र रोएको मान्छे’ हो। यस कथाका पात्र र घटनामा आधारित रहेर लेखिएको उनको भनाइ छ। उनका आफन्तको घर निजकैका छिमेकीका बारे लेखिएको रहेछ कथा। 'एक दिन म आफन्तको घरमा गएको थिएँ।

    मैले एक जनाले विरह लाग्ने बाँसुरी बजाएको सुनेँ। चार दिन आफन्तको घरमा बस्दा दैनिक बाँसुरीको धून सुनेँ। ममा कथा, कविता कोर्ने मेरो लत बसेको थियो। मैले पाँचौँ दिनमा उसलाई भेटेँ। त्यो बाँसुरी बजाउने व्यक्तिका आमाबुबा, दिदी सबै दुर्घटनामा बितेका रहेछन्। ऊ एक्लै बाँचेको रहेछ', उनी भन्छन्, 'काकाको घरमा बस्दा मन भुलाउन बाँसुरी बजाउँदोरहेछ। बाँसुरी बजाउँदा बजाउँदै बाँसुरीबाट मीठामीठा धून निकाल्न थालेछ। मैले सबै कुरा सुनेर उसैको जीवनलाई लिएर कथा लेखेँ।' त्यही कथालाई लिएर 'बाँसुरीभित्र रोएको मान्छे' कथासंग्रहको नामाकरण गरेको बताउँछन् पौडेल। 

    दोस्रो कृतिको पौडेलले ‘खरानीभित्रका लासहरू’ (उपन्यास, २०६४) बजारमा ल्याएका हुन्। ‘कुनै बेला भारतको मेघालयमा आप्रवासी नेपाली दाजुभाइमाथि ठूलो हमला भयो। मैले त्यो हमला नजिकैबाट देखेँ। त्यहाँ नेपालीहरूलाई निर्घात कुटपिट गरेर मारियो। त्यहाँ नेपाली दाजुभाइका वस्तुभाउका गोठमा आगो लगाइयो', पौडेल भन्छन्, 'गाईका भुँडीहरू बमझैँ पड्केको देखेँ अनि त्यहीँ मुनामदन जस्ता जोडीहरू पनि सँगै बिक्षिप्त भएर भागेको देखेँ। जोडीहरूले एकअर्कामा समर्पण गर्ने प्रेमलाई आक्रमणकारीले भावविह्वल बनाए। त्यसैलाई कथा बनाएर उपन्यास लेखेँ।'

    तीन कृति बजारमा ल्याएका लेखक पौडेल भन्छन्, ‘बजारमा भावनामा लेखिएका किताबहरूको माग बढी छ। त्यसमा पनि सेक्स, माया पिरतीलाई जोड दिएर लेखेका हुन्छन्। तिनै किताबहरू बजारमा छ्यापछ्याप्ती पाइन्छन्।' ती किताबहरूले आउने पुस्तालाई सकारात्मक बाटोमा लैजानुभन्दा बढी नकारात्मकतर्फ धकेलिरहेको उनको बुझाइ छ।

    तेस्रो कृति उनले ‘राप’ (उपन्यास, २०७५) भर्खरै बजारमा ल्याएका छन्। 'म एक पटक डोल्पाबाट हेलिकोप्टरमा पोखरा आउँदै थिएँ। त्यहाँ एक जोडी भेटेँ। विहे अर्कोसँग भएको छ, माया प्रेम अर्कोसँग झाँगिएको छ। पोखरा उत्रिएपछि त्यही जोडीलाई पोखराको फेवातालमा पनि भेटेँ', पौडेल भन्छन्, 'त्यहाँ धेरै जोडीहरू पनि देखेँ। कोही एकअर्कालाई खुब माया गर्ने अनि कोही झगडा गर्ने पनि भेटेँ र उनीहरूलाई आफ्ना सन्तानले मात्र बाँधिराखेको पनि देखेँ। सबै जोडीका कथा पनि धेरथोर सुनेँ।'

    उनलाई त्यो सब देखेर लाग्यो- एकअर्कामा जोडीहरू रापको तापले जलिरहेका छन्। 'त्यहीँबाट मैले थाहा पाएँ- माया प्रेमको रापले जलिरहेको छ। अँगालोमा एउटासँग बेरिएको हुन्छ, मायाको रापले अर्कैलाई तताइरहेको हुन्छ अनि त्यही रापलाई साफ गरेर उपन्यास बनाएँ।’

    खरानीभित्रका लासहरूको माग बढी

    'सरकारी जगिरे भए पनि खर्चको अभाव हुन्छ। प्रकाशन गर्दा आठ सय प्रति निकालेको थिएँ। सबैको साथीहरूबाट आर्थिक सहयोग जुटाएको थिएँ। साथीहरूलाई भनेको थिएँ', पौडेल भन्छन्, ‘किताब बिक्री भयो भने सबैको पैसा तिर्छु नत्र तिर्दिनँ। नभन्दै किताब निकालेको एक महिनाभित्र सबै किताब बिक्री भयो। सबै पैसा उठ्यो।' 

    पछि प्रकाशनले पुन: प्रकाशन गर्न अनुमति माग्यो।  विदेशमा बढी माग भएकाले पुनः दोस्रो संस्करण निकाल्न तयारी भइरहेको छ।’

    विज्ञापन, सहयोग र प्रकाशनकै पैसाले पुस्तक प्रकाशन

    पहिलो कृति 'बाँसुरीभित्र रोएको मान्छे' विज्ञापन छापेर प्रकाशन गरेको सुनाउँछन्। दोस्रो कृति 'खरानीभित्रका लास'हरू प्रकाशन गर्न साथीहरूले पैसा संकलन गरेर दिएका थिए। जुन धेरै बिक्यो। माग पनि आइरहेको छ। यता अहिले निकालेको ‘राप’ उपन्यास शब्दार्थ प्रकाशनले खर्च व्यहोरेको छ। त्यसमा पनि मेरो पैसा भएको भए किन प्रकाशनलाई किताब प्रकाशन गरिदेऊ भन्नुपर्थ्यो।'

    समालोचकले भने, ‘वेजिना’ उत्कृष्ट कथा

    'समालोचकको नाम मैले ठ्याक्कै बिर्सिएँ। मेरो कथासंग्रहको समालोचना छापिएको रहेछ। मैले पछि थाहा पाएको थिएँ। त्यहाँ एक समालोचकले ‘वेजिना’ शीर्षकको उत्कृष्ट कथा भनेर उल्लेख गरेका रहेछन्', उनले भने, ‘बाँसुभित्र रोएको मान्छे भनेर कथासंग्रहको नाम जुराएको थिएँ तर त्यो कथासंग्रहको उत्कृष्ट कथा वेजिना बनेपछि झनै लेखनमा रुचि बढेको छ।’ म ती समालोचकलाई धन्यवाद भन्छु।

    भावना लेख्ने लेखक बढे

    तीन कृति बजारमा ल्याएका लेखक पौडेल भन्छन्, ‘बजारमा भावनामा लेखिएका किताबहरूको माग बढी छ। त्यसमा पनि सेक्स, माया पिरतीलाई जोड दिएर लेखेका हुन्छन्। तिनै किताबहरू बजारमा छ्यापछ्याप्ती पाइन्छन्।' ती किताबहरूले आउने पुस्तालाई सकारात्मक बाटोमा लैजानुभन्दा बढी नकारात्मकतर्फ धकेलिरहेको उनको बुझाइ छ।

    भावनामा डुबेर कल्पनाको दुनियाँमा रमाउने लेखकहरू एकले अर्काको कुरा काटिरहेका र त्यो नराम्रो पाटो भएको उनको भनाइ छ। 'एक लेखकले अर्को लेखको कुरा काटेको मलाई मनपर्दैन तर यहाँ यही चलन छ', पौडेल भन्छन्, 'साहित्यिक क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने हामीले नै हो तर ठीक उल्टो भएको छ। त्यो ठीक होइन।' साहित्यलाई व्यापार गर्ने माध्यमभन्दा पनि समाजलाई चेतना छर्ने दियो बनाउनुपर्ने उनको सुझाव छ। 'चेतनाको दियो बनाउँदा पनि व्यापार त हुने नै गरेको छ नि!

    लेखक तथा सहित्यकारको नजरमा चन्द्रमणि

    चर्चित साहित्यकार डायमण्डशमशेर राणा पौडेलकै उपन्यासमा लेख्छन्, ‘बाँसुरीभित्र रोएको मान्छे’ कथासंग्रह प्रकाशन गरिसकेका साहित्यकार भाइ चन्द्रमणि पौडेलको खरानीभित्रका लासहरू शीर्षकको उपन्यास हेर्दा साहित्यमा निरन्तर लागिपरे यस्ता थुप्रै कृतिहरू रचना गर्न सक्ने सामर्थ्य उहाँमा देखिन्छ। साहित्यिक भावनाको अथाह भण्डार रहेका भाइ चन्द्रमणिले नेपाली साहित्यिक भण्डारमा यस्तै मगमगाउँदा फूलहरू चढाउन सकिरहनू, यही मेरो शुभाशंसा रहेको छ।’

    यसैगरी ईश्वरीप्रसाद पोखरेल उर्फ मसान टिप्पणी गर्छन्, ‘विकराल राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशमा देश बाहिर भित्र नेपालीले भोग्नुपरेका कष्टलाई देशभित्रका नेपाली समक्ष राख्ने उपन्यासकार मित्र हुनुहुन्छ- चन्द्रमणि पौडेल।' 

    लेखक पौडेलको कथासंग्रह र उपन्यासमा टीका टिप्पणी गर्ने चर्चित साहित्यकारहरू पौडेल वास्ताविकतामा आधारित रहेर सिर्जनामा उतार्ने लेखक भएको दाबी गर्छन्। ‘चन्द्रमणिजीका दुईवटा उपन्यास र एउटा कथासंग्रह पढेँ’, कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरका प्रमुख कोष नियन्त्रक हिरा न्यौपाने भन्छन्, ‘साहित्यमा लाग्दै गएको कालो बादल चिर्ने चम्किलो सूर्य चन्द्रमणि हुन्। फरक कथा र फरक प्रस्तुति शैलीमा उहाँका कृतिहरू पढ्न पाइन्छ। अझै धेरै लेख्नुहोस्।'

    सिडिओले प्रष्टीकरण सोधे

    २०४९ सालमा सरकारी सेवामा छिरेका पौडेल २०५३ सालदेखि स्थायी जागिरे भएका हुन्। जागिरे दौरानमा डोल्पा, दैलेख, सुर्खेत, उदयपुर, सप्तरी, सिन्धुली गरी २२ वर्ष बिताएका छन् उनले। यस क्रममा उनले विभिन्न साहित्यिक कार्यक्रममा समेत भाग लिएको र प्रथम भएको पनि दाबी गर्छन्। 

    विभिन्न संघसंस्थाले आफूलाई सम्मान गरेको बताउने पौडेलले भने, ‘डोल्पामा निजामती कर्मचारी दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा डोल्पाका प्रमुख जिल्ला अधिकारीले प्रष्टीकरण सोधेका थिए। मैले ‘प्रजातन्त्र खतरामा छ’ शीर्षक कविता वाचन गरेको थिएँ। ०५४ सालतिरको कुरो हो। त्यो कविता भनेपछि सबैले ताली बजाए। सिडिओले मलाई मात्र हेरे। कार्यक्रम सकिएपछि मेरो कार्यकक्षमा आऊ भने।'

    देशमा माओवादी युद्ध चर्कंदै थियो। उनी सिडिअोको कक्षमा गए। 'किन बोलाउनुभयो सर भनेको उनले तिमी माओवादीको विचार बोक्ने मान्छे हौ कि क्या हो? कवितामा प्रजातन्त्र खतरामा छ भन्यौ भने। मैले म साहित्यकार हुँ सर, जे देखेँ, त्यही लेखेर कविता बनाएँ भने। उनले प्रजातन्त्र राम्रो होस् भनेर कविता किन नलेखेको? भने। मैले मेरो कथासंग्रह दिएँ। त्यसपछि उनी चुप लागे।'

विदुर कटुवाल

कटुवाल थाहाखबरका उदयपुर संवादाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]