|

बारा : 'चिल्लो कार चाहिँदैन मलाई ...' बोलको तीज गीतकी गायिका हुन्, जानुका अधिकारी। युट्युवमा करिव नौ हजार भ्युअर्स पाएको यस तीज गीतकी गायिकाको मुख्य पेसा भने शिक्षण हो। बाराको निजगढ नगरपालिका- १० लालमा जन्मेकी जानुका सोही गाउँकै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षक हुन्।

विद्यालयमा विद्यार्थीलाई ज्ञानगुनको कुरा सिकाउने जानुकाले दर्शक श्रोतालाई भने माया प्रेमको भाकामा रमाउने बनाउँछिन्। चर्चामा रहेको तीज गीत जानुकाको दोस्रो कोसेली हो। उनको पहिलो सा‌ंगीतिक पाइला भने एक वर्षअघि गत साउनमा सार्वजनिक भएको थियो। पहिलो गीत नै उनको 'नपाउने मायालाई मैले धेरै मनपराएँ ...' रहेको थियो, जुन गीतको युट्युब भ्युअर्स २४ हजार रहेको थियो। यो गीतले उनलाई गायिकाको परिचय दिएको थियो।

फरक खालको विषयमा तीज गीत

प्राय: तीज गीतमा पति-पत्नीका संवाद सुनिन्छ। संवादमा विषय गरगहनाको हुन्छ तर जानुकाले गाएको गीतमा भने प्रेमी-प्रेमिकाको संवाद छ। प्रेमीले प्रेमिकालाई तीजको बेलामा घुम्न जान गरेको प्रस्तावबाट गीत सुरु हुन्छ। गीतको भिडियो चितवनको वसन्त चोकस्थित शिवालय मन्दिरमा छायांकन गरिएको छ। भिडियोमा स्थानीय कलाकारको नृत्य तथा अभिनय रहेको छ।

हरितालिका तीज नेपाली नारीहरूको परम्परादेखि चलिएको रीतिरिवाज भएकाले तीजले नारीको जीवनमा उत्साह र उमंग लिएर आउने उनको भनाइ छ। वर्षभरिको घरको कामको बोझले नारीको थकित् शरीरलाई पुनः स्फुर्ती ल्याउने पर्वको रूपमा मनाउने परम्परालाई आत्मसात् गर्नु समय सापेक्ष हुने उनकाे धारणा छ। त्यस्तो बेलामा माइतीघर गएर आमाबुबाको सान्निध्यमा मीठोमीठो परिकार खाने, साथीसंगी भेट्ने, दुःख सुखहरू गीतको माध्यमबाट साटासाट गर्ने र नाचगान गरेर रमाइलो गर्ने अवसरको रूपमा लिनु पर्ने उनी बताउँछिन्।

पछिल्लो समय तीज आउन नपाउँदै महिलाहरूले तडकभडकका साथ गरगहना प्रदर्शन गरी फजुल खर्च गरेर दर खाने परम्परा राम्रो नभएको धारणा छ गायिका जानुकाको।

सानैदेखि गायनमा रुचि

जानुकालाई गीत संगीतप्रतिको रुचि सानैदेखिको हो। सानो छँदा घर अगाडिको बाटो हिँड्ने गाउँलेका लागि उनको बालस्वर निकै प्रिय थियो। उनको स्वर नसुने कतै उनी बिरामी पो भइन् कि भन्ने संका गर्थे गाउँलेले। ‘मैले गीत नगाएको दिन म बिरामी भएँ कि भनेर गाउँका काकाकाकीहरू घर छिर्थे’, बाल्यकाल सम्झँदै जानुकाले सुनाइन्, ‘त्यतिबेला रेडियोमा बजेका आधुनिक गीत मलाई मुखाग्र थियो।’ जानुकालाई पिङ खेल्दै गीत गाउन असाध्यै मनपर्थ्यो। विद्यालयमा प्रत्येक शुक्रबार उनको स्वर गुञ्जिन्थ्यो। ‘स्कुले जीवनमा गीत नगाएको कुनै कार्यक्रम हुँदैनथे', जानुका भन्छिन्, ‘प्रायः कार्यक्रम मैले गीत गाएर सुरुवात हुन्थ्यो।’

एसएलसी दिएको वर्ष जानुकाको परिवार निजगढबाट हेटौँडा बसाइँ सर्‍यो परिवारसँगै उनी पनि हेटौँडामा पुगिन्, उच्च शिक्षा अध्ययन त्यहीँबाट सुरु भयो। मोफसलको गीतसंगीतको उर्वर भूमि पनि हो, हेटौँडा। नयाँ ठाउँ भए पनि उनले कलालाई लुकाइनन्। प्लस टु अध्ययनका क्रममा कलेजमा हुने सांस्कृतिक कार्यक्रममा उनले प्रतिभा देखाएर पुरस्कृतसमेत भइन्। ‘धेरैवटा कार्यक्रमबाट मलाई प्रोत्साहन मिलेको छ’, गायिका जानुकाले खुसी हुँदै भनिन्, ‘साथीभाइ र गुरुहरूले दिएको हौसलाले मलाई प्रेरणा मिलेको छ।’

विवाहपछिको जीवन

धेरैका जीवनमा विवाहपछि आफ्ना इच्छाहरू कुण्ठित हुने गरेको तीतो अनुभव छ। आफ्नो रुचि, परिवारको वातावरण र बुझाइ नमिल्दा चाहनाहरू मार्नुपर्ने आम महिलाभन्दा फरक अनुभूति छ, जानुकासँग। जानुकाको वास्तविक सांगीतिक यात्रा विवाहपछि सुरु भएको हो। उनले गीत रेकर्ड विवाहपछि गरिन्। ‘घरपरिवारबाट मलाई पूरा सहयोग भयो’, जानुकाले भनिन्, ‘गीतसंगीतप्रति सकारात्मक सोच भएको परिवारमा विवाह भएकाले मेरो सांगीतिक यात्राले अघि बढ्ने अवसर पायो।’

घरपरिवारबाट सहयोग नभएको भए सांगीतिक क्षेत्रको ढोका नखुल्ने थियो भन्ने जानुकाको बुझाइ छ। ‘भर्खर विवाह भएको थियो, श्रीमान् काठमाडौं बस्नुहुन्थ्यो’, जानुकाले सुनाइन्, ‘जेठाजुले नै उहाँहरूको संस्थाको कार्यक्रममा गीत गाउनका लागि आग्रह गर्नुभयो। मलाई अप्ठ्यारो लाग्यो, हुन्छ भन्न पनि सकिनँ।’ जानुकाका लागि परिवारबाट सांगीतिक क्षेत्रको ढोका खोल्न भएको पहिलो प्रयास थियो। उनले त्यो अवसर गुमाउने कुरै थिएन। ‘कार्यक्रममा परिवारसँग गएकी थिएँ’, उनले अनुभव सुनाइन्, 'उद्घोषकले नाम लिएर स्टेजमा बोलाए, जेठाजु मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो। मैले गीत सुनाएँ, सबैले प्रशंसा गर्नुभयो। मलाई त्यो दिनदेखि लाग्यो अब मेरो सांगीतिक यात्रा अघि बढाउन परिवारले नै सहयोग गर्छ।’

आममहिलाहरूलाई घरबाट निस्कन अझै सहज छैन। अवसर पाउन धेरै गाह्रो छ। महिलाहरूलाई सांगीतिक क्षेत्रमा प्रवेशका लागि घरपरिवार र साथीभाइले सहयोग गर्न जानुकाले आग्रह गरिन्।

दशैँमा तेस्रो गीतको तयारी

दुईवटा गीतको सफलतापछि जानुका तेस्रो गीतको तयारीमा छन्। जानुका दशैँ पर्वलाई लक्षित गरी तेस्रो गीत रेकर्ड गर्ने बताउँछिन्। 

सांगीतिक क्षेत्र दुःख सुख बिसाउने चौतारी

सांगीतिक क्षेत्र दुःख सुख बिसाउने चौतारी भएको जानुकाको बुझाइ छ। दुःख हुँदा पनि र खुसी हुँदा पनि गीत गाउने भएकाले संगीत दुःख सुख बिसाउने चौतारी बनेको छ उनका लागि। ‘दुःखी हुँदा भावुक र खुसी हुँदा रमाइलो लयको गीत गाउने गरिन्छ। प्राय: मानिसको जीवन दुःखमा व्यतीत भइरहेको  हुन्छ’, जानुका भन्छिन्, ‘म जस्तै आमनेपाली गाउँमा दुःख गरेर हुर्कने भएकाले पनि दुःखका गीत गाउन मलाई मनपर्छ।’

उनलाई नारायण गोपाल र तारादेवीका गीतहरूले मन छुने गर्छन्।  'वास्तवमा गीतले दुःख र सुखको भावलाई बोकेका हुन्छन्, गीतहरू अझ मार्मिक जति बेला हुन्छन्, त्यतिबेला गीतमा दुःख र पीडाका सन्देश झल्कन्छन्', उनी भन्छिन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.