कर्मचारीलाई कामु प्रमुख आयुक्तको निर्देशन- दुःख दिने कार्य नगर्नुस्

|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि संसदमा दर्ता महाभियोग प्रस्तावले सिंगो आयोग परिवारलाई आहत तुल्याएको बताएको छ। आयोगका कार्यबाहक प्रमुख आयुक्त दीप बस्न्यातले आइतबार आयोगका कर्मचारीलाई निर्देशन दिँदै महाभियोग प्रकरणले आयोग परिवारलाई आहत तुल्याएको प्रतिक्रिया दिएका हुन्।  

१५७ सांसदले कात्तिक ३ गते प्रमुख आयुक्त कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी निलम्बनमा परेका छन्। उनी निलम्बित भएपछि बस्न्यातले कायम मुकायम प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका छन्।  

बस्न्यातले आयोग जीवन्त संस्था भएकोले निश्चित घटना विशेषका आधारमा आयोगलाई प्राप्त संवैधानिक दायित्व र कार्यसम्पादनको प्रभावकारितामा विचलन नआउने बताए। उनले कर्मचारीहरुलाई आयोगद्वारा निर्धारित आचरण र संवैधानिक तथा कानुनी म्यान्डेट इमान्दारितापूर्वक परिपालना गर्न पनि निर्देशन दिएका छन्।

महाभियोग प्रस्ताव संसदमा प्रवेश गरिसकेकोले संसदको निर्णय सबैका लागि शिरोधार्य हुने बस्न्यातले बताएको अख्तियारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 'आयोग नेतृत्वमाथिको महाभियोग प्रस्तावले संविधान बमोजिम सार्वभौम संसदमा प्रवेश पाइसकेको हुँदा अब यो विषय संवैधानिक प्रक्रियाबाटै निरुपण हुने उल्लेख गर्दै उहाँले सो विषयमा सार्वभौम संसदले गर्ने निर्णय सबैका लागि शिरोधार्य हुने बताउनुभयो', प्रमुख आयुक्त कार्कीमाथि संसदमा महाभियोग प्रस्ताव दर्ता भएको ५ दिनपछि आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

कार्की प्रमुख आयुक्त रहँदा आयोगले विभिन्न व्यक्तिहरुलाई दुःख दिएको आरोप लागिरहेका बेला कार्यबहाक प्रमुख आयुक्त बस्न्यातले दुःख दिने कार्य नगरी सबैमाथि सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन्।

'आयोगमा प्राप्त उजुरीसँग सरोकार राख्ने जो कसैलाई पनि हैरानी वा दुःख दिने कार्य नगरी अनुसन्धानको दायरामा आएका सबैमाथि सम्मानजनक व्यवहार गर्न उहाँले निर्देशन दिनुभयो', विज्ञप्तिमा भनिएको छ। महाभियोग प्रस्तावबारे संसद कात्तिक ९ गते मंगलबारदेखि संसदमा छलफल गर्ने तयारी छ। 

पढ्नुस् अख्तियारको विज्ञप्तिः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.