विचार

विपीको योगदानमाथि निष्पक्ष अनुसन्धान आवश्यक
SHARES

भदौ २४, २०७५

    नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को दुई तिहाईको सरकार भन्ने नारा लाग्न थालेपछि भन्न थालिएको छ– विपी असफल राजनीतिज्ञ हुन्। बरु विपीभन्दा त राजा महेन्द्र नै दूरदर्शी थिए। फेरि कुरो आयो, राजा महेन्द्रसँग तुलना गर्दै विपीलाई असफल राजनेताको रूपमा चित्रण गर्ने। यो एउटा फेसन सुरु भएको छ। 

    विपी एउटा खुला किताब हुनुहुन्थ्यो राजनीतिमा। भारतसँगको उहाँको सम्बन्ध भनेको नेपालसँगको समान स्तरमा रहनुपर्ने भन्ने थियो तर तत्कालीन अवस्थामा जहानियाँ राणा शासनको जरो अंग्रेज शासनसँग जोडिएकाले भारतमा भइरहेको अंग्रेजविरोधी आन्दोलनलाई सफल बनाउन क्रान्तिचेतनाको भावनाले नेपालीहरूको पनि सहयोग जरुरी ठानेर  विपीसहितका नेपालीहरू भारतीय स्वतन्त्रता संघर्षमा होमिएका थिए– शुद्ध क्रान्तिचेत र भावी प्रजातान्त्रिक स्वतन्त्र नेपालको कल्पनामा।

    भारत पराईको अधीनमा थियो र विदेशीको जन्जिर चुँडाउनु थियो भने नेपाल नेपालीको बन्धनमा जकडिएको थियो र त्यो बन्धन फुकाउनु आवश्यक थियो। राणा शासनको आधार भनेको भारतको अंग्रेज शासन थियो भने भारतको शासन भनेको समुद्रपारिे बेलायतीे राजतन्त्रको पराधीन थियो। विपीले आफ्नो समूहमार्फत् नै भारतलाई सहयोग गर्दैै नेपालमा प्रजातन्त्र स्थापनाको कल्पना गर्नुभयो। त्यसभन्दा पहिले पनि प्रजापरिषद्मार्फत् मुलुकमा क्रान्तिचेत फैलाउने काम भएकै थियो र त विपीले प्रजापरिषद्का नेता टंकप्रसाद आचार्यलाई नै आफ्नो राजनीतिक संगठन नेपाली राष्ट्रिय कांग्रेसको अध्यक्ष बनाएर संस्था संचालन गर्नुभएको थियो।

    विपीको राजनीतिक जीवनमा आएका उतारचढाव भनेका नै तत्कालीन राजनीतिमा देखिने नयाँनयाँ आयामले निर्धारित गरेको पाइन्छ। र त उहाँ एउटा दूरदर्शी नेताको रूपमा इतिहासमा अंकित हुनुहुन्छ। आजको राजनीति र विपीको त्यसबेलाको राजनीतिमा समानता थिएन। त्यसैले आजको अवस्थासँग तुलना गरेर जम्मा १८ महिने शासनकालमा केके हुनसके भनेर लेखाजोखा गर्नुपर्दा पनि मुलुकको वृहत्तर हितमा कसरी आफूलाई र आफ्नो पार्टी नेपाली कांग्रेसलाई प्रस्तुत गर्ने भन्ने विपीमा सधैँ लालसा भने देखिन्छ। उहाँ अरूलाई परिवर्तन गर्नुभन्दा आफूमा नै रूपान्तरण गर्ने स्वभावमा इतिहासमा देखिनुहुन्छ र जति पनि प्रयास सुरु भएका थिए, तिनको आज पनि उत्तिकै महत्त्व देखिन्छ। यातायातको विकासमा क्षेत्रीय संगठनको सहयोग, उद्योगको सूत्रपात, शहरीकरणको परिकल्पना, कृषि विकासका लागि भूमिसुधारको परिकल्पना, राजा रजौटा उन्मूलन, वन जंगलको सरकारीकरण जस्ता कुरा त्यसबेलामा ज्यादै महत्त्वपूर्ण योजना थिए, जुन आज पनि कल्पनामा सीमित भएका छन्। 

    समय प्रवाहमा विकास भएकै छ तर मुलुकको विकासका लागि परिकल्पना जुन उहाँको सरकारले गरेको थियो र जनताको अवस्थाको जुन सपना स्पष्ट खाकामा आउन थालेको थियो, आजसम्म पनि त्यो शिक्षा, सूचना, जीवनस्तर र उत्पादनशीलताले बाटो समाउन सकेको पाइँदैन। छिमेकीहरूसँगको सम्बन्धले पनि राम्रोसँग सन्तुलन दिन नसकेको देखिन्छ। सायद विपीको भारत, चीन, इजरायल, अमेरिका र रुसप्रतिको स्पष्ट अडान नै उहाँको सरकार विघटनको कारण हुनसक्छ भन्ने विश्लेषक पनि छन्।

    सबैभन्दा त विपीले प्रजातन्त्रका बारेमा जुन चट्टानी अडान लिनु भयो र विश्वमा एउटा धुरन्धर प्रजातन्त्रवादी, संसदीय व्यवस्थावादी राजनेताको पहिचान बनाउनुभयो, त्यो नै हामी जस्ता तेस्रो विश्वका जनताका लागि गौरवको विषय बनेको छ। विश्वस्तरमा गन्न मिल्ने आधुनिक नेपाली नेताको पहिचान भनेको विपीको मात्र बनेको छ। 
    विपी आफैँ रूपान्तरणवादी व्यक्ति हुुनुहुन्थ्यो र मानवलाई देवत्वकरण गर्ने कुरामा विश्वास गर्नुहुन्नथ्यो तर पनि आफ्नो राष्ट्रहितप्रति गरिएका स्वाभाविक र निष्कपट प्रयासमाथि लाञ्छना लाग्दा भने केही दिक्क मान्नुहुन्थ्यो होला तर जनताको सार्वभौमसत्ताप्रतिको अविचल आस्था, व्यक्तिको व्यक्तिगत अधिकार र सामूहिक अधिकारको रक्षा प्रजातान्त्रिक व्यवस्थाले मात्र जनताको कल्याण हुनसक्छ भन्ने कुरामा भने सदैव सजग हुनुहुन्थ्यो र अडान राख्नुहुन्थ्यो। 

    विपी कसरी असफल राजनीतिज्ञ हुनुभयो भन्दा वामशक्तिसँगको सहकार्य गरेर पंचायतका विरुद्ध नलडेकाले पंचायत उहाँको जीवनकालमा ढलेन, त्यसैले उहाँ असफल भन्नेहरू अहिले छ्यापछ्याप्ती देखिएका छन्। 

    कम्युनिस्टसँगको नेपाली कांग्रेसको सहकार्यका बारेमा जुन कोणबाट विश्लेषण गरे पनि हुने अवस्था छ। पंचायत लागू हुनु २०१७ पुस १ भन्दा पहिलेकोे कम्युनिस्टको सांठनिक अवस्था र पंचायत ढलेका दिनको कम्युनिस्टको जनसांख्यिक अवस्था दाँजेर हेर्दा आउने परिणाम, जनमतसंग्रहमा बहुदलका विरुद्ध लाग्ने कम्युनिस्ट शक्ति र राजासँगको साँठगाँठलाई सायद विपीले अथ्र्याउन खोज्नुभएको थियो। एकातिर विपी मिल्दैनन् भन्ने र पंचायतलाई आफ्नो संगठन सुदृढ गर्ने अवस्थासम्मको प्रयोगलाई अब कसरी अथ्र्याउने हो? जुन कुरा अहिले पनि तत्कालीन माओवादीका बारेमा अनुसन्धानले दिएको परिणाम र विस्तारै हुन थालेको खुलासाले कस्तो व्याख्या गर्ने हो भन्ने अन्योल छँदै छ। 

    हो, एउटा अचम्मको संयोग भने देखिन्छ– विपीले जुन संसदीय व्यवस्थाको पक्षधरता देखाउँदै प्रजातान्त्रिक समाजवादको व्याख्या गर्नुभएको थियो, अहिले एक प्रकारले त्यही व्यवस्था संविधानसभाले बनाएको संविधानले स्थापना गरेको छ। तर दुर्भाग्य, उहाँकै दल त्यो राजनीतिक खेलमा कमजोर खेलाडीको रूपमा रिङबाहिरको बक्सर जस्तो भएर तमासे हुने अवस्था सिर्जना भएको छ। यसमा विपी सफल कि असफल? जसले एउटा विद्यार्थी हुँदा नै परिकल्पना गरेको जनताको नियन्त्रणमा रहने व्यवस्था झन्डै सात दशकपछि स्थापना भएको छ, समाजवाद उन्मुख कल्याणकारी राज्यको परिकल्पना गरिएको छ र मौलिक हकसहितको पूर्ण प्रजातान्त्रिक व्यवस्था लागू भएको छ। यसमा एउटा अभियन्ताले परिकल्पना गरेको व्यवस्था लागू भएको छ र त्यसको अभ्यास सुरु भएको छ भने त्यो राजनेता सफल हो कि होइन? जुन राजतन्त्र आफ्ना अनगिन्ती गल्तीले आफैँ विघटन भएको छ, त्यो राजतन्त्रका निरंकुश राजाचाहिँ कसरी दूरदर्शी भए? राजा महेन्द्रका बेलामा भएका सन्धि सम्झौताहरूको विश्लेषण आवश्यक छ र विपीलाई हेर्ने दृष्टिकोणलाई माझ्नु जरुरी छ। 

    साम्यवादको दोहोरो चरित्रको उद्घाटन गर्नसक्ने हिम्मती नेता र प्रजातान्त्रिक व्यवस्थाको मुख्य अभियन्ताको रूपमा, जनताको प्रतिनिधित्व संसदले नै गर्छ भन्ने आस्थाको धरोहरको रूपमा र प्रजातन्त्रका पक्षमा जस्तोसुकै कष्ट, दुःख खप्ने प्रेरणाका श्रोतका रूपमा नेपाली जनमानसमा हजारौँ वर्षसम्म उहाँ रहनुहुनेछ।

    हिजो राजाको प्रचार अभियानलाई किन अर्को नकाव लगाएर सहयोग गरिएको थियो भनेर पनि अनुसन्धान जरुरी छ, जसले गर्दा विपीको कम्युनिस्टसँग नमिल्ने मनोविज्ञानको विश्लेषण हुनसक्छ। प्रजातन्त्र स्थापना, प्रजातान्त्रिक व्यवस्थाको सुदृढीकरण गरेपछि कसरी नेपाली कांग्रेस रुसको मिन्सेभिक र चीनको कोमिन्ताङ जस्तै हुनुपरेको हो। त्यसको पनि सायद विपीको विचारसँगै तादात्म्य राखेर निष्पक्ष अनुसन्धान जरुरी छ।

    संविधानसभाको पहिलो निर्वाचनको अवस्था, पहिलो संविधानसभाबाट संविधान नबन्ने अवस्था, दोस्रो संविधानसभाको निर्वाचन, संविधान घोषणाको अवस्था, त्यसपछिका राजनीतिक घटनाक्रमबाट भएको विकासलाई नियालौँ। स्थानीय निर्वाचनभन्दा पहिलेको गठबन्धनको शैली, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनताका भएको एमाले र माओवादी पार्टीहरूको एकता, मधेसवादी दलहरूको निर्वाचनपूर्वको अवस्था र निर्वाचनपश्चात् सरकारको समर्थनमा देखिएको सबै विकासक्रमलाई यदि जोडेर विश्लेषण ग¥यो भने पक्कै विपी कति दूरदर्शी वा सफल वा असफल राजनेता हुनुहुन्थ्यो भन्ने बुझ्न सहज हुन्छ। 

    विपी आफैँ मान्छेलाई देवता मान्ने नेता होइन र देवत्वकरणको कुनै लालसा भएको नेता पनि होइन। आजको अवस्थासम्म आउन विपीको विरोध गर्नेहरूका लागि खुराक आवश्यकता थियो र उहाँका बारेमा पंचायतले बनाएका सबै आरोपहरूको प्रचार गर्न को किन कसरी प्रयोग भयो भन्ने कुरा घाम जस्तै छर्लंग छ। 
    विपीको आदर्श नमुना प्रजातन्त्रको जसले अभ्यास र कार्यान्वयन गर्नुपथ्र्याे, त्यो उहाँले स्थापना गरेको दल नेपाली कांग्रेसले जनतासँग कबुल गरेजस्तै गर्न नसकेको कुरालाई नकारात्मक प्रचारले आजको प्रजातन्त्रको अवस्था भएको हो। प्रजातन्त्र छ तर छैन। जनतन्त्र छ तर छैन। समाजवाद उन्मुख राज्यको कुरा संविधानमा छ तर व्यवहार सम्भव देखिँदैन। जनतालाई सार्वभौम मानिएको छ सिद्धान्तमा तर अभ्यास कता जान थालेको छ भन्ने कुरा अहिलेका समसामयिक समयले उत्तर दिइरहेको छ। 

    एउटा कल्पना गरौँ, यदि आजको मितिमा विपी प्रधानमन्त्री हुनुभएको भए कुनै विश्वविद्यालयको उपकुलपतिलाई अपराधीझैँ प्लेन चढ्न लागेकै बेलामा विदेश जान नदिएर प्रधानमन्त्री निवासमा बोलाइन्थ्यो होला र भेट नै नदिएर फर्काइन्थ्यो होला? विपक्षीबिनाको सरकार संचालन गर्न नसकिने भनेर विरोध गर्नका लागि पत्रिका नै चलाउन आर्थिक सहायता सरकारले नै दिने आदर्श नीति अहिले अभ्यासमा आउन सक्ला? तर विपीले एउटा नमुना प्रजातन्त्रको कल्पना गर्नुभएको थियो। सानासाना उद्योगधन्दा खोलेर सबै नेपालीहरूलाई रोजगारी दिने कुरा गर्नुहुन्थ्यो र विद्वानहरूप्रतिको आस्थालाई सदैव केन्द्रविन्दुमा राखेर सल्लाह लिनुहुन्थ्यो। 

    क्यान्सरले नगाँजेको भए पनि अहिले १०४ वर्षको उमेरसम्म बाँच्नु हुन्थेन होला तर आज पनि नेपाली राजनीतिमा सबैभन्दा चर्चित राजनेताको रूपमा बहसमा उहाँ नै हुनुहुन्छ। साम्यवादको दोहोरो चरित्रको उद्घाटन गर्नसक्ने हिम्मती नेता र प्रजातान्त्रिक व्यवस्थाको मुख्य अभियन्ताको रूपमा, जनताको प्रतिनिधित्व संसदले नै गर्छ भन्ने आस्थाको धरोहरको रूपमा र प्रजातन्त्रका पक्षमा जस्तोसुकै कष्ट, दुःख खप्ने प्रेरणाका श्रोतका रूपमा नेपाली जनमानसमा हजारौँ वर्षसम्म उहाँ रहनुहुनेछ। पक्कै नै उहाँको समयभन्दा सूचना प्रविधि र चेतनाको स्तर धेरै फरक भएको छ र उहाँको आस्थालाई सूत्रका रूपमा लिएर नेपाली राजनीति, अझ उहाँको दल अघि बढेमा नेपालमा प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्र हुने कुरामा ढुक्क हुन सकिन्छ। 

    त्यसैले विपीलाई अहिले पनि नेपाली तथा विश्वका प्रजातन्त्रवादीहरूले सम्झेका होलान्। हामी पनि उहाँका भावना र सिद्धान्तप्रति नतमस्तक हुँदै नयाँ नेपालको कल्पना गरिरहन्छौँ– एउटा स्वतन्त्र प्रजातान्त्रिक समाजवादी नेपाल, जहाँ कुनै पनि नेपाली भोक, रोग र शोकले पिल्सिनु नपरोस्। पराधीन भएर बाँच्नु नपरोस्।

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]