|
Photo : mirror.co.uk

ला लिगा अन्तर्गतको सोमबार बिहान सम्पन्न खेलमा रियल मड्रिडले जित हासिल गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई २-१ गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो। 

घरेलु मैदान इस्टाडियो सान्टियागो बेर्नाबेउ मैदानमा भएको खेलमा मड्रिडले खेलको ७ औँ मिनेटमा अग्रता लिएको थियो। करिम बेन्जिमाले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। तर, खेलको २८ औँ मिनेटमा बिल्बाओका सविन मेरिनोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने रियलले बाजी मार्‍यो। खेलमा अल्भारो मोराटाले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए। उनले खेलको ८४ औँ मिनेटमा गोल गर्दै टोलीलाई २-१ गोलको जित दिलाउन सफल भए। 

यसैगरी आइतबार राति सम्पन्न खेलहरूमा सेल्टा भिगो, सेभिल्ला, मलागा र भिल्लारियलले जित हासिल गरेका छन्। सेल्टा भिगोले डिपोर्टिभो ला कोरुनालाई ४-१ गोलअन्तरले, सेभिल्लाले एथ्लेटिको मड्रिडलाई १-० गोलअन्तरले, मलागाले लेगानेसलाई ४-० गोलअन्तरले र भिल्लारियलले लास पाल्मासलाई २-१ गोलअन्तरले पराजित गर्दै अंकतालिकामा ३ अंक जोड्न सफल भएका छन्। 

खेलपछि रियल मड्रिडले ९ खेलबाट २१ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। यस्तै, आइतबार रातिको खेलमा जित हासिल गरेको सेभिल्ला ९ खेलबाट २० अंकका साथ दोस्रो स्थानमा छ भने समान खेल खेलेको बार्सिलोना १९ अंकका साथ तेस्रो, समान खेलबाट १९ अंक नै जोडेको भिल्लारियल गोलअन्तरका आधारमा चौथो र ९ खेलबाट १८ अंक जोडेको एथ्लेटिको मड्रिड पाँचौ स्थानमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.