|

काठमाडौं : यस वर्षको पद्मश्री साहित्य पुरस्कार नयनराज पाण्डेको संस्मराणात्मक कृति 'यार'ले पाएको छ। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि.सं. २०६२ देखि मोफसलबाट उत्कृष्ट कृतिलाई दिँदै आए पनि वि.सं. २०६६ देखि देश विदेशबाट प्रकाशित कृतिलाई पनि पुरस्कृत गरिँदै आएको छ। यस पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ। यसै विषयमा केन्द्रित रहेर पुरस्कृत कृतिका स्रष्टा नयनराज पाण्डेसगँ थाहाखबरकर्मी राजु पौडेलले गरेको कुराकानी प्रस्तुत छ। 

पद्मश्री पुरस्कार प्राप्त गर्नुभएको छ, कस्तो लागिरहेको छ?

स्वाभाविक रूपमा खुसी नै छु तर उत्ताउलिएको छैन। लेखनमार्फत् मैले गर्ने लडाइँलाई बिर्सिएको छैन। यार संस्मरण कृति हो। यो जोखिमयुक्त विधा हो। इमान्दारी भएन भने यस्तो लेखन छद्म लेखन हुन्छ। मैले यारमा आफैँप्रति अलिक निर्मम बनेर सम्बन्धहरूमार्फत् समाजको मनोदशा खोतल्ने प्रयास गरेको हुँ। पद्मश्रीले त्यही प्रयासको सम्मान गरेको जस्तो लाग्छ।

मदन पुरस्कारका लागि पटक पटक नाम चर्चामा आए पनि तपाईं किन छुट्नुभयो जस्तो लाग्छ?

होइन, म छुटेको होइन। मभन्दा अरू नै बढी सम्भावनायुक्त भएर पाएका हुन्।

नेपालमा प्रतिष्ठितदेखि सामान्य पुरस्कारसम्म निष्पक्ष र स्वतन्त्र छैनन् भन्ने आलोचनाका बीच तपाईंले ठूलै राशिको र प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएको छ, यसमा कतिको निष्पक्ष र स्वतन्त्र निर्णय भएको होला जस्तो लाग्छ?

म निवेदन हालेर, बायोडाटा पठाएर पुरस्कारको दौडमा कहिले पनि लागिनँ। साह्रै निकृष्ट कर्मजस्तो लाग्छ यस्तो काम। मैले आजसम्म जेजति पुरस्कार पाएँ, ती मैले चाकडी गरेर पाएका होइनन्। म कुनै पनि पुरस्कारको जुरीमा छैन। त्यसैले निर्णयको प्रक्रिया के कस्तो हुन्छ, म भन्न सक्दिनँ। तर पुरस्कार जति निष्पक्ष जस्तो देखियो, त्यो त्यति नै सम्मानित हुन्छ। त्यस्तो पुरस्कार लिँदा स्रष्टाको गरिमा घट्दैन। मलाई मैले गरिमामय पुरस्कार नै लिएको छु भन्ने लागेको छ।

पछिल्लो समय स्रष्टामा सम्मान र पुरस्कार मोह बढेको भन्ने आलोचना छ, तपाईं आफूमा यस्तो मोह कतिको पाउनुहुन्छ?

त्यो घातक मोह हो। आत्मप्रशंसा र पुरस्कारप्रतिको अस्वाभाविक मोहले लेखकलाई स्रष्टा होइन, चाटुकार बनाउँछ।

सिर्जना महत्त्वपूर्ण कि सम्मान वा पुरस्कार?

सिर्जना जति महत्त्वपूर्ण अरू के होला? लेखक बाँच्ने आफ्नो सिर्जनामा हो। पुरस्कार सही ढंगले पायो भने त्यसले लेखकको आत्मसम्मान र ऊर्जा बढाउँछ। त्यसले सिर्जनकर्मलाई अझ शक्तिशाली र प्रतिवद्ध बनाउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.