समाज

दुवै हात गुमाएकी किशोरी, जसले देखाइन् हिम्मत

भदौ २६, २०७५

    बुटवल : २०६२ को भदौं महिना। सिमसिमे पानी परिरहेको थियो। कपिलवस्तु वाणगंगा ३ धनकौलीकी रुपा आफ्नी आमा इन्द्रकला रौतारसँग आफन्त कहाँ गएकी थिइन्। 

    मलेसियामा रहेका श्रीमानलाई हालखबर पठाउन चिठी लेखाउन गजेहडा गएकी इन्द्रकलाका लागि त्यो दिन कालो दिन बन्यो। सुतिरहेकी छोरी एक्कासी उठेर छतमा पुगिछन्। नजिकै रहेको बिजुलीको तारको करेन्टले उनलाई झड्का दियो। ‘करेन्टले झड्का दिएछ र उनी टिनको पालीमाथि खसिन्, आमा इन्द्रकला त्यो कहालीलाग्दो दिन सम्झिन्छिन्, 'पालीमा दाउरा थिए। तिनै दाउरा उसको शरीरभरि गोबिएछन्।’ करेन्टका कारण रुपाका हात जलेका थिए। ‘खसीको हाड पोलेजस्तै जलेका थिए, हेर्न पनि डरलाग्दो भएको थियो' उनले सुनाइन्। 

    रुपालाई तुरुन्तै बुटवलको लुम्बिनी अञ्चल अस्पताल ल्याइयो। अस्पतालले काठमाडौं शिक्षण अस्पताल रिफर गर्‍यो। शिक्षणले कान्ति बाल अस्पताल। बाल अस्पतालले दुवै हातले काम गर्दैनन् भन्यो, ‘हातले काम गर्दैनन्। पछि क्यान्सर हुनसक्छ भन्यो,'आमा इन्द्रकलाले भनिन्, 'म त के गर्न सक्थें र, मसँग पैसा पनि धेरै थिएन। डाक्टरहरूकै भर परेर बसेँ।’

    आर्थिक हिसाबले कमजोर इन्द्रकलाकोे परिवारसँग रुपाको उपचारका लागि पर्याप्त रकम थिएन। ‘कसैले त यी नानीलाई यहीँ छाडेर जानुहाेस्, कोही मनकारी आएर उपचार गरिदिन्छन् भने।उनले पीडादायी क्षण सम्झिइन्, 'छोरीले मेरो मुखमा हेरेर आँखाभरि आँसु बनाएकी थिइ। म त्यो हालतमा पुगेकी छोरीलाई छाडेर कसरी घर फर्किन सक्थेँ।’ रुपाको हातको मासु कुँहिदै गएर गन्हाउन थालेको थियो। एक दिन डाक्टरले रुपाका दुवै हात काटिदिएछन्। ‘हामीलाई त हात काटिदिनुपर्ने भयो भन्ने जानकारी पनि गराएनन्' आमा भन्छिन्,'एक्कासी हात काटेर ल्याएपछि मात्रै थाहा पायौं, तर छोरी ठीक हुन्छे भन्ने लागेर मन बुझाएँ।’ 

    इन्द्रकलाले साढे ११ महिना अस्पतालमै डेरा जमाइन्। ‘११ महिना अस्पतालमा बस्दा धेरैजसो दिनमा एक छाक खाएँ। कहिले त दुई दिनमा एक छाक खाएँ' उनी सम्झिन्छिन्,'छोरीलाई ठीक भए हुन्थ्यो भन्ने पीरले सताइरह्यो। उसले खाना नखाएपछि मलाई पनि खानै मन लाग्दैनथ्यो।’ बाबु विष्णुप्रसादको मलेसियाको सबै कमाई रुपाको उपचारमा खर्च भयो। चार लाखजति रुपैयाँ छोरीको उपचारमा खर्च भयो। विद्युतका कारण जलेकाको उपचारका लागि विद्युत् प्राधिकरणले सहयोग गर्छ भनेर प्राधिकरण पुगेकी उनले धेरैपटकको दौडधुपपछि ९७ हजार रुपैयाँ पाइन्। 

    अनि बाटो मोडियो 

    रुपा सानैदेखि गीत गुनगुनाउँथिन्। गीत गाउने रहर थियो उनमा। त्यो रहर आमाबुवा, साथीभाइसँग उनले भनेकी थिइन्। उनको रहरको खबर संगीतालयसम्म पुग्यो। बागेश्वरी संगीतालयले निःशुल्क सिकाउने भयो। उनले संगीत सिक्न थालिन्। उनी गायनमा रुचि राख्थिन्। कोठाभित्र धेरै गीत गाइन्। धेरै मेहनत गरिन्। अनि उनको रहरको दायरा बढ्यो,गीति एल्बम निकाल्ने। उनको यो रहर पूरा गर्न अघि बढे, संगीतालय र मनकारीहरू।

    म त हिम्मत भा कि छोरी नामको एल्बममा ६ वटा गीत छन्। दुई वटाको म्युजिक भिडियो पनि बनेको छ। लेख्दैछु म आफ्नो कहानी, म त हिम्मत भा कि छोरी जस्ता गीत एल्बममा समावेश छन्। 
    गीत गाउने रहर पूरा भएपछि उनी मख्ख छिन्। ‘मेरो एउटा सपना पूरा भयो' उनले भनिन्,'अब म अरु मेहिनत गरेर धेरै राम्रो गर्नेछु। गायनमै मेरो करिअर बनाउनेछु।’

    गत वर्ष देवदह आइडल समेत जितेकी उनी माध्यमिक तहको शिक्षा पूरा गरेपछि गायनलाई अरु थप समय दिने योजनामा छिन्। ‘अहिले पढाइलाई र गायनलाई सँगसँगै अघि बढाउँछु। पछि गायनलाई अलि धेरै समय दिएर यसमै करिअर बनाउने हो' उनी भन्छिन्, 'पढाई त छाड्दिन, सकेजतिको पढ्छु।’ उनले गाएका गीत सुनेर दंग छिन् गायिका देविका बन्दना। ‘उनले धेरै राम्रो गाएकी छिन्। स्वर राम्रो छ' उनले भनिन्, 'उनलाई गायनमा अघि बढाउन मेरो साथ छ। के सहयोग गर्नुपर्छ म गर्नेछु।’ 

    मनकारीको साथ 

    उपचारपछि निको हुँदैन कि भन्ने चिन्ता त हट्यो। घर फर्केकी रुपाको अध्ययनको चिन्ता थपियो। आमा इन्द्रकला कसले पठाइदिन्छ भनेर खोज्दै हिँडिन्। धेरैले उनलाई अपांगता भएकाहरुको स्कुलमा भर्ना गर्न सुझाए। तर उनी त्यसो गर्न चाहेकी थिइनन्। एक दिन विष्णु श्रेष्ठसँग भेट भयो कपिलवस्तु गजेहडाको होराइजन स्कुलमा। उनले रुपालाई सहयोग गर्ने वाचा गरिन्। 

    बुटवलको दीप बोर्डिङमा निःशुल्क पढ्ने व्यवस्था मिलाउन उनले नै पहल गरिन्। अहिले कक्षा ८ मा पढ्दैछिन् रुपा। स्कुलले उनका लागि छुट्टै प्रकृतिको बस्ने कुर्सी र टेबुल दिएको छ। ‘रुपाका दुईवटै हात छैनन्। तर पनि उनी सिक्न चाहन्छिन्। पढ्न चाहन्छिन् भनेपछि हामीले उनलाई साथ दियौं' दीप बोर्डिङ स्कुलका प्राचार्य टीकाराम न्यौपाने भन्छन्, 'उनलाई हामीले सकेको सहयोग गरेका छौं। यो सहयोगले उनमा रहेको प्रतिभा बाहिर आउन सक्छ। जसले अरुलाई पनि प्रेरणा मिलोस्।’ उनलाई बागेश्वरी संगितालय बुटवलले निःशुल्क रुपमा संगीत सिक्ने व्यवस्था गरिदिएको छ। उनी ६ वर्षदेखि गायन सिकिरहेकी छिन्। ‘शुरुमा स्वर सुन्दा ठीकै लाग्यो। उनका दुवै हात नभएकाले पनि यिनलाई साथ दिनुपर्छ भन्ने लाग्यो। बागेश्वरी संगीतालयका प्रिन्सिपल सुरेश सेन्चुरी भन्छन्,'उनलाई गायनमा अघि बढ्न हाम्रो साथ सदैव रहनेछ।’

    रुपालाई सहयोग गर्ने अर्का एकजना छन्-विकास अग्रवाल। काठमाडौंमा व्यापार गर्ने उनले रुपाका लागि उपचारपछि केही रकम सहयोग गरे। अहिले पनि उनले गीत रेकर्डिङ र भिडियो निर्माणका लागि सहयोग गरेका छन्। 

    चाहना : कृत्रिम हात राख्ने 

    दुई हात काटिएपछि उनी हातले गर्ने काम खुट्टाले गर्छिन्। खुट्टैले लेख्छिन्। खुट्टैले खान्छिन्। एउटा हात कुमदेखि नै काटिएको छ भने अर्को कुहिनोनेरबाट। 
    हात काटिएपछि उनी यसैलाई स्वीकारेर संघर्ष गर्दैछिन्। भन्छिन्,'मसँग हात छैनन्. तर म अरुले गर्ने काम गर्न सक्छु. म इच्छा भए जे पनि गर्न सकिन्छ भनेर उदाहरण देखाउनेछु।’ उनको अर्को एउटा रहर छ, कृत्रिम हात राख्ने। तर पैसा छैन। ‘प्लास्टिकको हात राख्छु भन्छिन्,'उनकी आमा इन्द्रकला भन्छिन्, 'तर हामीसँग त्यसका लागि पैसा छैन. केही गरी उसको रहर पूरा गरिदिनुछ।’ 

    घर छाडेर बुटवल देवीनगरमा डेरामा बस्दै आएका रौतार परिवार सहयोग जुटाएरै भए पनि छोरीको रहर पुरा गर्न लागिपरेका छन्। बाबु विष्णुप्रसाद भन्छन्, 'मेरो सेक्युरिटी गार्डको जागिरले घर खर्च चलाउँनै ठीक्क छ। तर पनि उसको गीत गाउने रहर पूरा भयो। अब हात राख्ने रहर पनि यसैगरी पूरा गरिदिनुछ।’ 

    हेर्नुहोस् भिडियाे
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]