|

सिरहा : पूर्व-पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहाको सीमावर्ती औरही गाउँपालिका- ५ हुँदै बग्ने गागन खोलामा पुल नहुँदा स्थानीय अस्थायी रूपले बनाइएको बाँसको पुलको भर पर्न बाध्य छन्। वर्षातमा काम विशेषले ओहोर दोहोर गर्नै पर्ने स्थानीयलाई बाँसको पुलबाट सकसपूर्ण तरिकाले खोला तर्न बाध्यता रहेको छ।

भारतीय सीमावर्ती गाउँ औरही नजिकै बनाइएको पक्की पुल छाडेर गागन खोला करिब ५०० मिटर पूर्वबाट बग्न थालेपछि ओहोर दोहोर गर्न बाँसको पुल नै अन्तिम विकल्प रहेको स्थानीय बताउँछन्। स्थानीय गोविन्द रायले भने, ‘जिल्ला सदरमुकाम सिरहा पुग्ने छोटो बाटोको रूपमा रहेको हुलाकी सडकको निर्माणको ठेक्का लिएको कम्पनीले पुल नबनाइदिँदा सास्ती भोगेर भए पनि ओहोर दोहोर गर्न बाध्य छौँ।’

औरही गाउँपालिका- ५ दरहैयाका झौली यादवले बाँसको पुल तर्दा पनि संचालकलाई रकम तिर्नुपर्ने बताए। ‘जिल्ला सदरमुकाम र औरहीमा रहेको गाउँपालिका केन्द्र जान बाँसको पुल संचालकलाई रकम तिर्नुपर्छ या ज्यान जोखिममा पारेर खोलाको भेल तर्नुपर्छ’, यादवले सुनाए।

वर्षातमा गागन खोलामा आउने भेलबाट जोगिन स्थानीय मनोज कामत, मुकेश कामत र हरि कामतले २५ हजार रुपैयाँ लगानी गरेर बाँसको अस्थायी पुल बनाएका हुन्। उनीहरूले बाँसको पुल प्रयोग गरेवापत प्रति मोटरसाइकल ५०, प्रति साइकल १० र व्यक्तिलाई बढीमा पाँच रुपैयाँसम्म लिने गरेको स्थानीय वीरेन्द्र शर्माले बताए।

काम विशेषले ओहोर दोहोर गर्न खोलाको भेलको कारणले सकस भएपछि गाउँपालिकाले पनि बाँसको अस्थायी पुल निर्माण गरेको औरही गाउँपालिका- ५ का वडा अध्यक्ष सुरैतलाल ठाकुरले बताए।

सडक निर्माण स्ल्याव कल्भर्ट सँगसँगै

सिरहाको पश्चिमी र पूर्वी सीमाको रूपमा रहेको कमलादेखि बलान नदीसम्म २९ किलोमिटर हुलाकी सडक खण्ड निर्माणको ठेक्का पाएको स्वच्छन्द रोशन महादेव खिम्ती जेभीले गागन खोलामा स्ल्याव कल्भर्ट बनाइने जनाएको छ। उक्त कम्पनीका साइट इञ्जिनियर चन्द्रनारायण यादवले ठेक्का लिएको सात महिनाको अवधिमा पहिलो चरणको सडक निर्माणअन्तर्गत ९० प्रतिशत माटोको काम सकिएको जानकारी दिँदै भने, ‘गागनसहित सिरहा जिल्लाभित्र पर्ने हुलाकी सडकका १२० ठाउँमा ह्युम पाइप, कल्भर्ट र २० ठाउँमा स्ल्याव कल्भर्ट निर्माण गरिनेछ। त्यसमध्ये १० ठाउँमा ह्युम पाइप कल्भर्ट र स्ल्याव कल्भर्ट बनिसकेको छ।'

सेटब्याकसहित ११ मिटर चौडा रहने हुलाकी सडकको सिरहा खण्ड निर्माण गर्न उक्त कम्पनीले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी २४ डिसेम्बर २०१७ मा सम्झौता गरेको छ। हुलाकी सडकको सिरहा खण्ड निर्माण गर्न कम्पनीले एक अर्ब २० करोड २० लाख रुपैयाँमा ठेक्का सकारेको हो। हुलाकी सडक खण्डको सिरहाको बरियारपट्टी गाउँपालिका- ३ मा गत चैत ६ मा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्याश गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.