१० जनामा एचथ्रीएनटु

|

लहान : सप्तरीको पूर्वी क्षेत्रमा पर्ने कञ्चनरुप नगरपालिकामा उच्च ज्वरो आएको केही दिनमा तीन किशोरको मृत्यु भयो। ज्वरोकै कारणले तीन जनाको मृत्यु भए लगत्तै जिल्ला जनस्वास्थ्य कार्यालय र नगरपालिकाको अगुवाइमा रगत संकलन र निःशुल्क शिविर सञ्चालन गरिएको छ। 

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)सहितको टोलीले रगतको नमुना संकलन गरेको हो। जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख जनस्वास्थ्य अधिकृत निरञ्जनप्रसाद यादवका अनुसार इडिसिडी, धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्य कार्यालयसहितको टोलीले रगतको नमुना संकलन गरेको हो। उच्च ज्वरो आएको केही दिनमै फरक फरक ठाउँका तर उस्तै उमेर समूहका किशोरको मृत्युको कारण खोज्न धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सात जना चिकित्सकको छुट्टै टोलीले सम्बन्धित ठाउँमा गएर अनुसन्धान गरी फर्किएको छ।  

इडिसिडीका डा. प्रकाशप्रसाद साह, ल्याब टेक्नेसियनका डबल बिसी, जनस्वास्थ्य अधिकृत रेशम लामिछाने र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लोकनाथ भट्टराई, विश्व स्वास्थ्य संगठनकी डा. सोनिया भगत, जनस्वाथ्य अधिकृत यादवसहित, प्राथमिक स्वास्थ्य केन्द्रको टोलीले रगतको नमुना संकलन गरेको हो। 

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञसहितको टोलीसँग समन्वय गरी प्राथमिक स्वास्थ्य केन्द्रमा तीन दिन निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गरेको छ। २६ भदौसम्म संचालित शिविरमा कञ्चनरुप  ३, ७ र ९ नं. वडाका ५ देखि २० वर्ष उमेर समूहका एक हजार एक सय २२ जना बालबालिका तथा किशोर किशोरीको रगतको नमुना संकलन गरिएको जनस्वास्थ्य अधिकृत यादवले उल्लेख गरे। 

एक जनामा एचवनएनवन, १० जनामा एचथ्रीएनटु

संकलित रगतमा एक जनामा भाइरल इन्फ्लुयञ्जा एचवनएनवन र १० जनामा एचथ्रीएनटु पोजिटिभ पाइएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य संयोजक सिनियर अहेब डम्बरप्रसाद गुप्ताले जानकारी दिए। ‘प्रयोगशालाको विस्तृत प्रतिवेदन बिहीबारसम्म आउँछ’ उनले भने, ‘एचवनएनवन पोजिटिभ भेटिएका बिरामीमा पनि सामान्य खालको इन्फ्लुयञ्जा हो, कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार चलिरहेको छ, अवस्था सामान्य छ।’

धरानको विशेष अनुसन्धाट टिम

कञ्चनरूप नगरपालिका ३ बरमझियाका १४ वर्षीय किशोर राम, वडा नं‍. ७ धरमपुरका १४ वर्षीय दिवस बस्नेत  र वडा नं‍. ९ रुपनगरका १४ वर्षीय आमोदकुमार रामको उच्च ज्वरोको कारणले मृत्यु भएपछि धरानस्थित वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सात जना चिकित्सकको टोली मृतकको परिवार, गाउँ, छिमेकीहरुसँग सोधपुछसहित तीन दिनसम्म अनुसन्धान गरेर बुधबार फर्किएको छ। डा. कमलेशप्रसाद यादवको नेतृत्वमा डा. विजय खनाल, डा.राजेशकुमार यादव, डा. श्याम ढोडारी, डा.प्रशान्त त्रिपाठी, डा.ऋचा नेपाल र डा. दृष्टि हलुवाई रहेको अनुसन्धान टोली बुधबारसम्म अनुसन्धान गरेर फार्किएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

आकस्मिक उपचार समिति गठन 

नगर क्षेत्रभित्र आकस्मिक उपचारका लागि नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपका डा. सञ्जिव झाको नेतृत्वमा सात सदस्यीय आकस्मिक उपचार समिति गठन गरेको छ। समितिले केन्द्रमा चौबिस घण्टा बिरामीको उपचारका लागि व्यवस्थापन र समन्वय गर्ने जनाइएको छ। समितिमा डा. राजेशकुमार मण्डल, डा. संजयकुमार साह, वीरेन्द्रकुमार साह, हरिनारायण मालाकार, कविता गुप्ता र गणेश मण्डल सदस्य रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.