|

काठमाडौं : आमा मेनुका शिवाकोटीको हृदयाघातबाट निधन भएपछि गायक किशोर सिवाकोटी विक्षिप्त भएका थिए। जब आमाको मुख हेर्ने दिन आयो, उनलाई आमाको यादले औधि सतायो। त्यसपछि उनले आमाको अभावको गीत लेखे :

घर शून्य भो, आँगन शून्य भो,

तिमी बिनाको यो घर अध्याँरो भयो।

आमा… तिमी कहाँ छौ?

छ भने पुनर्जन्म

तिम्रै कोखमा जन्मन पाउँ।

आमा…

त्यसपछि यो गीतमा संगीत भरे। अनि थप गीत जुटाउन थाले। ९ ओटा गीतको एल्बम 'ट्रिब्यूट' (समर्पण) ल्याउन सफल भए।

गायक प्रेमध्वज प्रधान, फिल्म निर्देशक एवं गीतकार तुलसी घिमिरे, गीतकार डा. कृष्णहरी बराल, गीतकार डा. नवराज लम्साल लगायतले बुधबार 'ट्रिब्यूट' एल्बमको विमोचन गरे।

अमेरिकामा बस्दै आएका किशोरको एल्बम बारे बोल्दै प्रेमध्वजले आमाप्रति समर्पण गरेको गीत राम्रो भएको बताएका थिए। उनले भने, 'आमाप्रति समर्पण गरेको गीत र एल्बमले खुसी तुल्यायो।' त्यस्तै उनले गीत लेखन, संगीत र गाउने त्रिवेणीको कामको प्रसंसा गरेका थिए।

एल्बमबारे बोल्दै डा. कृष्णहरी बरालले भने, 'गीतमा भावुकता समेटीएको छ।' उनले किशोरको 'गायन, संगीत र गीत लेखन राम्रो भएको छ। भविष्यमा कुन क्षेत्र समात्ने भन्ने उहाँलाई गाह्रो छ किनकि उहाँले तीनवटै क्षेत्रमा राम्रो गर्नुभएको छ।'

गीतमा चर्चीत भारतीय गायिका आशा भोस्लेले पनि साथ दिएकी छन्। आशाले 'गुराँस फूल्यो…' बोलको गीतमा आवाज दिएकी हुन्। जसको भिडियोमा नायिका प्रियंका कार्कीको मोडलिङ रहेको छ। विमोचन कार्यक्रममा उक्त गीतको भिडियो प्रदर्शन गर्नुका साथै किशोरले तीनवटा गीत गाएका थिए।

एल्बममा गायक किशोरका साथै सरबजीत राई, डा. नवराज लम्साल, एकनारायण भन्डारी, अम्बर सुब्बा, दिपक दशनामी, कुशुम गजमेरका शब्द रहेका छन्। त्यस्तै संगीतमा किशोरका अलवा रञ्जित गजमेर, सुनील मास्के, सत्य-स्वरुप आचार्य, अम्बर सुब्बा, किरण गजमेरको रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.