|

बागलुङ : कालिगण्डकी नदीमा बढ्दो प्रदूषण रोकी बस्‍नयोग्य बनाउन बागलुङ बजारमा व्यवस्थित ढल निर्माणको काम सुरु हुने भएको छ। बढ्दो शहरीकरणका कारण त्यहाँबाट उत्पादन हुने फोहोर ढल सिधैँ कालिगण्डकी नदीमा मिसाइदा नदीको स्वरुप र महत्व घट्दै गएकाले ढल शुद्धीकरणका लागि काम सुरु गर्न लागिएको हो।

बागलुङ बजारमा व्यवस्थित ढल नहुँदा बजारनै दुर्गन्धित हुने र घरमा उत्पादन भएको पानीसँगै शौचालय समेत ढलमा मिसिएको गुनासो आईरहेको छ। नदी प्रदुषित भएका कारण व्यवस्थित ढल निर्माणको काम बनाउने योजना अगाडि सारिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख शेखरचन्द्र केसीले जानकारी दिए।

ढल व्यवस्थापनका लागि खानेपानी तथा ढल निकास विभागमार्फत सम्भाव्यता अध्ययन भई डिपिआरको काम सुरु भएको ‘बागलुङ बजार ढल विकास आयोजना’ बागलुङ नगरपालिकासँग सहकार्यमा निर्माण हुन लागेको केसीले जानकारी दिए।

८२ करोड लागत स्टिमेट तयार गरिएको आयोजना सम्पन्न गर्नका लागि नेपाल सरकारको ८५ प्रतिशत र बागलुङ नगरपालिकाको १५ प्रतिशत लगानी रहनेछ। ढल व्यवस्थापनका लागि बागलुङ बजारमा दुईवटा मेन लाइनमार्फत ढल नदीमा मिसाउँने गरी काम सुरु हुनेछ। बागलुङ बजारको तल्लो भेगमा उत्पादन हुने ढल खनियाघाट र माथिल्लो भेगमा उत्पादन भएको ढल कारागार मुनीको समथर भुभागमा निर्मित ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरी नदीमा मिसाइनेछ। 

सम्भाव्यता अध्ययनका क्रममा परम्परागत ढल शुद्धीकरण र आधुनिक प्रविधि प्रयोगबाट ढल शुद्धीकरणको विकल्प देखिएपनि आफूहरूले आधुनिक प्रविधिको प्रयोग गर्ने विकल्प रोजेको आयोजना सम्पन्न गर्न लागिएको आयोजनाले जनाएको छ। परम्परागत प्रविधि अपनाउँन आयोजना सम्पन्न गर्न एक अर्व रुपियाँ र आधुनिक प्रविधि अपनाउँन ८२ करोड रुपैयाँ आयोजना सम्पन्न गर्न सकिने निष्कर्ष निकालिए पनि बागलुङको भौगोलिक अवस्थाका आधारमा आधुनिक प्रविधिको प्रयोग गरी आयोजना सम्पन्न गरिने आयोजनाले जनाएको छ। 

ढल निकासको प्रमुख पाइपलाइन निर्माणका लागि ११ करोड ९९ लाख, शाखा लाइन निर्माणका लागि ३६ लाख, घरघरमा च्याम्बरमार्फत पाइपलाइन जोड्नका लागि तीन करोड ४७ लाख र ट्रिटमेन्ट प्लान्ट निर्माणका लागि ६ करोड ११ लाख रुपियाँ लाग्ने आयोजनाले जनाएको छ। ‘यस क्षेत्र धार्मिक पर्यटनका हिसावले महत्वपूर्ण गन्तव्य पनि हो। हिन्दु धर्मावलम्बीले सालिग्राम पाइने नदीको रुपमा पुज्ने नदी कालिगण्डकी दिन प्रतिदिन प्रदुषित हुँदै गएकाले त्यसको धार्मिक तथा महत्वलाई ख्याल गरेर शुद्ध पानी मात्र कालिगण्डकी नदीमा मिसाउने योजना बनाएका हौं।’ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका प्रमुख केसीले भने।

ढल निकासको प्रमुख पाइपलाइनसँग बागलुङ नगरपालिका - १,२,३ र ४ का बजार क्षेत्रका सबै घरमा पाइपलाइन विस्तार गरी शुद्धीकरण प्रविधि प्रयोग गरी ढल नदीमा मिसाइनेछ। हाल बजारमा रहेको ढल खुल्ला भएकाले सडकको फोहोर सिधैँ मिसिदा ठाउँ-ठाउँमा फुट्ने गरेकाले अब बन्ने आयोजना बीचमा नफुट्ने गरी निर्माण हुनेछ।

बागलुङ बजार मध्यपहाडी लोकमार्गको ट्रान्जिट प्वाइन्ट भएकाले यस नगरपालिकालाई सुन्दर र समृद्ध बनाउँनका लागि ढल निकास आवश्यक रहेकाले ढल निर्माणको काम सुरु गरिएको बागलुङ नगरपालिकाले जनाएको छ।नगरपालिकाले तय गरेको ‘मध्य पहाडी व्यापारिक तथा पर्यटकीय शहर, सुन्दर समृद्ध साँस्कृतिक बागलुङ नगर’को नारालाई सार्थकता तुल्याउँनका लागि ढल निकासलाई प्राथमिकता दिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.