|
प्रतीकात्मक फोटो

लहान : सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रमा ‘स्वाइन फ्लु र हङकङफ्लु’ को संक्रमण भएका बिरामी भेटिएपछि नगर कार्यपालिकाले नगरलाई ‘विपद् क्षेत्र’ घोषणा गरेको छ।

कञ्चनरुप नगरकार्यपालिकाको बिहीबार साँझ बसेको आकास्मिक बैठकले नगर क्षेत्रमा स्वाइन फ्लु र हङ्कङ् फ्लु संक्रमण भएका बिरामी भेटिनुका साथै रुघाखोकी तथा ज्वरोका बिरामीहरू बढ्दै गएकाले विपद् क्षेत्र घोषणा गर्ने निर्णय गरिएको नगर प्रवक्ता राजकुमार साहले जानकारी दिए।

तीन दिन विद्यालय बन्द

स्वाइन फ्लु र हङ्कङ् फ्लु भाइरस संक्रमण फैलिन नदिन भदौ ३१, असोज १ र २ गते गरी तीन दिन नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रवक्ता साहले बताए। प्रवक्ता साहका अनुसार विद्यालयमा पढ्न आउने विद्यार्थीमा भारइसको संक्रमण फैलन सक्ने जोखिम रोक्न विद्यालय बन्द गरिने भएको हो।

‘भाइरसको संक्रमण तथा त्यसबाट बच्ने उपायको बारेमा सचेतना फैलाउन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको हो’ प्रवक्ता साहले भने ‘विद्यालय बन्दको समयमा शिक्षक र विद्यार्थीलाई हरेक घर घरमा भाइरसको संक्रमणबाट जोगिन अपाउनु पर्ने सावधानीको विषयमा सचेतना बिस्तार गर्न परिचालन गर्दैछौँ।’

कञ्चनरुप नगर क्षेत्रमा सामुदायिक ३० र संस्थागत २४ गरी ५४ वटा विद्यालयमा १२ हजारभन्दा बढी अध्ययन गरिरहेको नगर शिक्षा शाखाले जनाएको छ।

खुलेन मृत्युको कारण

कञ्चनरुप नगरपालिका ३ बरमझियाका १४ वर्षीय किशोर राम, ७ धरमपुरका १४ वर्षीय दिवस बस्नेत  र ९ रुपनगरका १४ वर्षीय आमोदकुमार रामको उच्च ज्वरोको कारणले मृत्यु भएपछि सिंगो नगर क्षेत्र त्रसित रहेका बेला कञ्चनरुप ४ का ६० वर्षीया भाल्सेरदेवी सरदारको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको छ। तीन/चार दिनदेखि रुघाखोकीले थिलएकी सरदारलाई बुधबार साँझ उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि त्यहाँबाट रेफर गरी विराटनगर पुर्‍याएर उपचार भइरहेका बेला मृत्यु भएको हो।

उस्तै उमेरका तीन जना किशोर र वृद्धाको मृत्युको कारण खुल्न नसके पनि स्वाइन फ्लु वा हङ्कङ् फ्लुको संक्रमण कारण हुन सक्ने आशंका गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जन प्रसाद यादव मृतकहरुको मृत्युको कारण स्वाइन फ्लु वा हङ्कङ् फ्लु नै रहेको यकिन गर्ने अवस्था नरहेको बताउँछन्। ‘मृत्यु भएकामध्ये कसैको पनि शव परीक्षण भएन’ जनस्वास्थ्य प्रमुख यादवले भने स्वाइन फ्लु र हङ्कङ् फ्लु कारण मरेको हो भन्ने यकिन भन्न सकिँदैन।’

दैवी प्रकोपको आपत्कालीन बैठक

जिल्लाको कञ्चनरुप तथा हनुमाननगर नगरपालिका क्षेत्रमा स्वाइन फ्लु (एचवनएनवन) र हङकङ फ्लु (एचथ्रीवनटु) को भाइरस फेला परेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको आपत्कालीन बैठक बसेको छ। बैठकमा प्रभावित क्षेत्रमा तत्काल विशेषज्ञसहितको स्वास्थ्य टोली परिचालनलाई निरन्तरता दिइने निर्णय गरिएको जनस्वास्थ्य अधिकृत यादवले बताए।

त्यसका साथै, जिल्लाको दक्षिणी सीमा जोडिएको भारतीय सीमा नाका कुनौलीमा बाबाधामसहित भारतका विभिन्न ठाउँबाट आएकाहरुको स्क्रिनिङ गरिने र त्यसका लागि स्वास्थ्यकर्मीहरूको टोली सम्बन्धित ठाउँमा पुगिसकेको जनस्वास्थ्य अधिकृत यादवले उल्लेख गरे।

जिल्लाको पूर्वी नाका कोशी ब्यारेजदेखि पूर्वपट्टि भारतको भीमनगर हुँदै आउनेहरूको पनि स्क्रिनिङ गर्न हेल्प डेस्क राखिएको उनले बताए। भारतको विभिन्न ठाउँमा रहेको शिवालयहरुको दर्शन गरेर फर्किएकाहरूबाट स्वाइन फ्लु र हङ्कङ् फ्लुको भाइरस संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ।

पछिल्लो साउनमा भारतको बाबाधामबाट फर्किएका  कञ्चनरुप ७ बलुवाका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लु (एचवनएनवन) को संक्रमण पुष्टि भएको थियो। उनको धरानमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक डम्बर प्रसाद गुप्ताले बताए।

२४ देखि २६ भदौसम्म कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन गरिएको स्वास्थ्य शिविरमा एक हजार १२२ जनाको रगत संकलन गरिनुका साथै स्वास्थ्य  परीक्षण गरिएको थियो। कञ्चनपुरमा ६ जना र हनुमाननगरका चार जनामा हङ्कङ् फ्लु भाइरस भेटिएको र एक जनामा स्वाइन फ्लुको संक्रमण पाइएको जनस्वास्थ्य अधिकृत यादवले उल्लेख गरे।

नगर क्षेत्रभित्र संक्रमण बढ्न नदिन नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपका डा. सञ्जिव झाको नेतृत्वमा सात सदस्यीय आकस्मिक उपचार समिति गरी २४ घण्टा उपचार सेवालाई निरन्तराता दिइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.