|

काठमाडौं : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमा दुर्गादेवी र बुबा यज्ञराज पन्तले गृहमन्त्री रामबहादुर थापालाई भेटेर न्यायको माग गरेका छन्।

उनीहरूले शुक्रबार गृहमन्त्रालय पुगेर मन्त्री थापा ‘बादल’लाई भेटेका हुन्। निर्मलाका आमाबुबाको पत्र बुझ्दै मन्त्री थापाले १३ वर्षीया निर्मलाको बलात्कार र हत्यामा संलग्न दोषीको पहिचान प्रहरीले गर्न नसक्दा आफू असन्तुष्ट रहेको बताएका छन्।

उनले भने, ‘ दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होलाजस्तो मलाई लाग्छ।’

निर्मलाको हत्याराको नजिक आफुहरू पुगिसकेको भन्दै दोषीलाई कठघरामा ल्याई छाड्ने गृहमन्त्रीले प्रतिवद्धता व्यक्त गरेका छन्। उनले भने, ‘ कञ्चनपुर घटनामा हामीले सुरुदेखिनै धयान दिएका हौँ। घटना लगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौँ, त्यसपछि केन्द्रबाट सिआइबी टोली पठायौँ, त्यसले पनि नभएपछि उच्चस्तरीय छानबिन समिति गठन गरीएको छ। समिति बाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भइरहेको छ।’

उक्त घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरबाहीलाई छुट नदिइने गृहमन्त्रीले स्पष्ट पारेका थिए।

दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै गृहमन्त्री थापाले दोषी पत्ता लगाउन परिवारको समेत साथ लिएर अघि बढ्ने बताए।

निर्मलाका आमा, बुबाले घटना भएको लामो समय बित्दासमेत दोषी पत्ता नलागेको, प्रहरीबाट विगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटो भन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गरेका थिए।

भेटमा गृहसचिव, मानवअधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.