|

बाग्लुङ : बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा रहेको तुरतुरेमा पहिरो खसेर बडिगाड खोला थुनिएको छ। खोला थुनिएर ताल बनेपछि आसपासका भिङगिठे बजार, खाल बजार, खारबजार र खर्बाङ बजारदेखि रुद्रवेणीसम्मकाते तटीय भाग जोखिममा परेको छ। 

खोला थुनिएर बनेको ताल फुट्ने त्रास स्थानियवासी रहेका छन्। थुनिएको क्षेत्रभन्दा तल्लो भागमा रहेको सयौं घर जोखिममा परेका छन्। यद्यपि, कति घर जोखिममा छन् भन्ने यकिन भैसकेको छैन। खोला छेउमा रहेका चार घर खोला थुनिएर बनेको तालले ढुबाएको प्रहरीले जनाएको छ। खोला थुनिएपछि  खर्बाङ बजार क्षेत्रका नागरिक रातभर जाग्राम बसेको स्थानीयले बताए। 

सम्भावित खतराबाट बच्न प्रशासनले स्थानीयवासीलाई सचेत बनाइरहेको छ। शुक्रबार दिउँसोदेखि नै तुरतुरेमा अलिअलि पहिरो बगिरहे पनि राति करिब ११ बजे भीषण पहिरो खसेर बडिगाड खोला थुनिएको प्रहरीले बताएको छ। पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध छ। यात्रुहरु र तटीय किनारमा मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको प्रहरीले जनाएको छ।

पहिरो खसेको खबर पाए लगत्तै राति नै सदरमुकामबाट हिँडेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलसहित नेपाली सेना र प्रहरीको टोली घटनास्थलमा पुगेको छ। प्रमुख जिल्ला अधिकारी खरेलले थुनिएर बनेको तालको पानी शनिबार बिहानदेखि ओभरफ्लो भएर बग्न थालेको जानकारी दिए। ताललाई सुरक्षित रुपमा खोल्ने विषयमा अध्ययन भैरहेको प्रजिअ खरेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.