|

तेह्रथुम : जिल्ला सदरमुकाम म्याङ्लुङमा रहेको बस बिसौनीमा दिनानुदिन सवारीसाधनको चाप बढेको छ। करिब दुई दशक अगाडि निर्माण गरिएको यो बसपार्कमा वर्षेनी सवारी साधनको संख्यामा बृद्धि हुँदै गएपछि साँघुरो बन्दै गएको हो। 

बजारभित्र रहेको यो बसपार्कको व्यवस्थापन नगरिदा अर्थात् विकल्पको रुपमा अर्को व्यवस्थित बसपार्क नबनाउँदा यो बसपार्क अस्तव्यस्त भएको स्थानीयबासीले जनाएका छन्। यो बसपार्कबाट बसन्तपुर हुँदै धनकुटा, धरान जाने र जिल्लाभित्रका फेदाप,आठराईको संक्रान्ति बजार, छथर शुक्रबारे लगायत स्थानमा दैनिक दर्जन बढी सवारी साधन आवत-जावत गर्ने गर्दछन्।

जिल्ला सदरमुकाममा व्यवस्थित बसपार्क नहुँदा समस्या हुने गरेको यातायात व्यवसायीहरूको गुनासो छ। व्यवस्थित र फराकिलो बसपार्क नहुँदा बस, ट्रक, ट्याक्सी, भ्यान, ट्याक्टर, मोटरसाइकल, टेम्पोलगायत थुप्रै सवारी साधनहरू एकै ठाउँमा पार्किङ गर्दा सवारी साधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटना हुने जोखिम उत्तिकै रहेको छ। वर्षातका कारण हाल दुःखले जिल्ला सदरमुकाम म्याङ्लुङसम्म यातायात सञ्चालन हुँदै आएको छ। तर बसपार्कको उचित व्यवस्थापन नगर्नुले यातायात सञ्चालनमा थप असहज भएको लालीगुराँस यातायातका बस सञ्चालक प्रकास रसाइलीले बताए। 

जिल्ला सदरमुकाम जोड्ने सडकको स्तरोन्नति कछुवा गतिमा हुँदैछ। सवारी साधनको संख्या पनि बढ्दो गतिमा छ। तर उचित स्थानमा बस बिसौनी निर्माणको लागि सरोकारवाला कसैले पहल नगर्दा बस तथा सवारी साधन पार्किङमा समस्या हुने गरेको यातायात व्यवसायी डिल्ली रेग्मीले बताए। उनले दिन प्रतिदिन यात्रु र सवारी साधनको चाप बढेकोले सरसफाइमा पनि समस्या भएको भन्दै बसपार्क व्यवस्थापन तथा निर्माणमा सरकारी निकायको ध्यान जानु पर्ने भनाइ राखेका छन्।

बसपार्क अभावमा साँघुरो बस बिसौनीमा सबै खाले सवारी साधनहरू अव्यवस्थित रूपमा राख्नुपर्ने बाध्यता रहेको ट्याक्सी चालक डिकेन श्रेष्ठले बताए। सदरमुकाम म्याङ्लुङलगायत जिल्लाका थुप्रै स्थानहरूमा बसपार्क नभएकाले यसलाई आवश्यकता महसुस गरी बसपार्क निर्माणका लागि आवश्यक पहल गरिनुपर्ने स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.