|

रौतहट : भदौ २६ गते मंगलबार एसिड आक्रमणमा घाइते भएकाहरूको उपचारमा आर्थिक समस्या भएको छ। घाइते चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झना दास र उनकी बहिनी १५ वर्षीया सुस्मिता दासको उपचारमा आर्थिक समस्या परेको हो।

दास दिदी बहिनीलाई मंगलबार राति १२ बजे तिर घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले एसिड प्रहार गरी घाइते बनाएको थियो। घाइते मध्येकी दिदी सम्झनाको अवस्था गम्भीर रहेकाले कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका बाबु जादोलाल दासले बताए। उनको  सघन कक्षमा राखेर उपचार भइरहेको छ। दुवै छोरीहरूको उपचार गर्न खर्चको समस्या भएको काठमाडाैंमा रहेका बुबा दासले गुनासो गरे।

 उपचारको लागी दैनिक अस्पतालमा १५/१६ हजार भन्दा बढी खर्च भइरहेको उनले जानकारी दिएका छन्। घाइते भएका दिदी वहिनीको उपचारमा आर्थिक अभाव भएपछि चन्द्रनिगाहपुरका युवाले चन्दा संकलनमा जुटेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण दासका छोरीलाई उपचार गर्न आर्थिक समस्या भएको स्थानीय युवा सहदेव केसीले बताए। उपचारको लागी केही सहयोग होस भन्ने उद्देश्यले चन्दा संकलन गर्न स्थानीय युवा जुटेको केसीले बताएका छन्।

दुवै छोरीहरूको उपचार गर्न खर्चको समस्या भएको काठमाडाैंमा रहेका बुबा दासले दुखेसो पोखेका छन्। किशोरीका बाबु दासले भने, 'अलिअलि पैसा थियो सकियो।' हालसम्म रौतहटमा रहेको आरडिसी नेपालले २५ हजार , शक्ति समूह नेपालले २० हजार, चन्द्रनिगाहपुरका बिष्णु महत्तोले ५० हजार बिहीबार चन्द्रनिगाहपुर बजार क्षेत्रमा चन्दा उठाएर ३६ हजार सहयोग गरेका छन्। पीडितलाई सहयोग गर्न शनिबार पनि रकम संकलन अभियान थालेको केसीले बताएका छन्।

घटना भएको ५ दिन बितिसक्दा पनि अपराधी अझै पत्ता लागेको छैन। अपरिचित समूहले राति एसिड प्रहार गरेका थिए। छिटो भन्दा छिटो अपराधी पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न आफूहरूले माग गरेको युवा नेता केसीले बताए। यता प्रहरीले घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्। चाँडै नै अपारधीलाई पक्राउ गर्ने स्थानीयलाई उनले विश्वास दिलाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.