|

दार्चुला : दार्चुलाको अपी हिमाल आरोहण गर्न चेक गणतन्त्रका अाठ नागरिक र दुई नेपालीसहितको टोली अपी हिमालतिर लागेको छ। दोस्रो जनआन्दोलनपछि पहिलो पटक सात हजार १३२ मिटर उचाइको अपी हिमाल आरोहण गर्न टोली लागेको हो।

भदौ २७ मा दार्चुला सदरमुकाम पुगेको टोली सोही दिन अपी हिमालका लागि लागेको थियो। टोलीमा पर्यटन बोर्डका अधिकृत प्रेमकुमार पन्थी र कुविर तामाङसमेत छन्। टोलीले ६० दिनको म्यादसहित आरोहण गर्ने अनुमति लिएको छ।

कसरी पुग्ने अपी हिमाल

आहोरण गर्न सजिलो मानिए पनि अपी हिमाल विरलैले चढ्छन्। सन् १८९९ मा पहिचानमा आई सन् १९६० मा पहिलो पटक आरोहण गरिएको तथ्यांक छ।  काठमाडौंबाट हवाइ यात्राबाट कैलालीको धनगढी पुगेपछि कैलालीकै अत्तरिया हुँदै सडक यात्राबाट दार्चुलाको गोकुलेश्वर वा सदरमुकाम खलंगा पुग्न सकिन्छ। गोकुलेश्वरबाट एउटा र खलंगाबाट दुई गरी अपी हिमाल वेस क्याम्पसम्म पुग्न तीन रुट छन्। सबैभन्दा छाटो रुट दार्चुला सदरमुकाम खलंगा हुँदै हुती, सुन्सेरा, राप्ला हुँदै व्यास भएर अपिहिमालसम्म पुग्ने बाटो त्रिदेशीय सीमा क्षेत्र पर्ने हुँदा विदेशी आरोहीहरुको प्राथमिकतामा पर्ने गरेको छैन। तर यो पटक आरोहीहरुले यही रुट प्रयोग गरेका छन्। 

दोस्रो रुटका रुपमा दार्चुला सदरमुकामदेखि खार, सिप्टी र सितोला हुँदै अपी वेशक्याम्पसम्म पुगिने छ। पर्याप्त दृष्यावलोकन र रमणीय प्रकृतिसँगै यो रुटबाट वेश क्याम्पसम्म पुग्न सकिने भएपनि बाटो र बासको अभावमा यो रुट पनि पर्यटक र पर्वतारोहीको रोजाइमा पर्दैन।

पर्यटक र पर्वतारोहीहरुको लागि सबैभन्दा छोटो रुटका रुपमा दार्चुलाको गोकुलेश्वर हुँदै लटिनाथ, गुल्जर, घुसाको रुट रहेको छ। गोकुलेश्वरबाट बढीमा चार दिन  पैदल यात्रापछि अपिहिमाल बेस क्याम्पसम्म पुग्न सकिन्छ। अपिहिमालसम्म पुग्न आउने पर्यटक र पर्वतारोहीहरुले यही रुटलाई प्रयोग गर्ने गर्दछन्।

सन् २०१५ मा काजुयाको टोलीमा केनरो नाकाजिम र टाकुया मिटरोसहित भरियाहरुको टोलीले अपि हिमाल आरोहण गरेको थियो। सन् २०१६ मा २५ जना विदेशी नागरिक आएको अपिनाम्पा संरक्षण क्षेत्रसँग तथ्यांक छ।

किन आउँदैनन् पर्यटक र पर्वतारोही

अपी हिमाल आरोहण गर्न अप्ठ्यारो हिमाल नभए पनि हिमालसम्म पुग्ने बाटो र बाटोमा पर्यटकलाई आवश्यक पर्ने होटेल तथा अन्य सुविधा नभएकाले आरोहण गर्न कमै आउने गरेको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय बताउँछन्। ‘क्याम्पिङ गर्नेहरुले त आफ्नो व्यवस्था आफैं गरेको हुन्छन् तर आधारभूत सुविधाहरु हामीले पुर्याउन सकेनौं भने पर्यटक घटेर आउँछन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.