|

सिन्धुली : दसैँ नजिकिदै जाँदा सिन्धुलीका बजारहरुमा खसी, बोकाको व्यापार बढ्दै गएको छ। 

दसैँका लागि मासुको जोहो र नवदुर्गाको पूजाका लागि खसी तथा बोकाको किनबेचका लागि ग्राहहरुको माग बढ्दै गएपछि व्यापारमा बृद्धि आएको हो।  जिल्लाका कतिपय शहरी इलाका र अन्य क्षेत्रका मानिसहरुले खसीबोकाको खरिद गर्ने र ग्रामिण भेगका विपन्न कृषकहरुले दसैँका लागि खाद्यान्न, लत्ता कपडा र अन्य समानको जोहो गर्न आफुले पालेका खसीबोका बिक्रीबाट आर्थिक जोहो गर्ने भएकाले व्यापारमा बृद्धि आएको खसी व्यापारी देवीप्रसाद फुँयाल बताए। 

भदौंको पहिलो सात देखि नै सिन्धुलीको बजारहरुमा खसी बोकाको व्यापार सुरु भएपनि एक सात यता भने खसीबोकाको किनबेचमा निक्कै वृद्धि भएको छ। व्यापारीहरुका अनुसार यस अवधिमा मात्रै जिल्लामा एक हजारबढीको सङ्ख्यामा खसिबोकाको किनवेच भैसकेको छ भने दसैँको मुखसम्ममा कम्तीमा पनि १५ हजार बढी खसीबोकाको किनवेच हुने अनुमान गरिएको छ। 

जिल्लामा खपत नहुँने खसीबोकाहरु राजधानी समेत लैजाने गरिएको छ। ग्रामीण क्षेत्रबाट बिक्रीका लागि सदरमुकामसम्म तथा तराईका जिल्ला र राजधानीमा समेत लैजाने गरिएको छ। यसैबिच व्यापारीहरुले गत वर्ष जिल्लामा १३ सयदेखी १५ सय रुपैयाँ धार्नीमा पाइने खसीबोकाको मूल्य धार्नीमा १८ सय देखी २ हजार ५ सय रुपैयाँसम्म कायम राखेका छन्। गत वर्षको तुलनामा यस वर्ष कृषकहरुले नै खसीबोकोको मुल्य बृद्धि गरेका कारण बजारमा व्यापारीहरुले समेत मुल्य वृद्धि गरेको अर्का खसी व्यापारी तिलक श्रेष्ठको दाबी छ।

अघिल्लो वर्ष जिल्लामा खसीको मूल्य १७ सय देखी २ हजार रुपैयाँसम्म कायम गरिएको थियो। तर यसरी बजारमा बिक्रीका लागि ल्याइएको खसीबोकाको स्वास्थ्य परीक्षण भने हुने गरेको छैन्। जिल्लाका ग्रामिण क्षेत्रबाट बिक्रीका लागि ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण नगरी बिक्री गर्ने गरिएको व्यापारीहरु बताउँछन्।सरकारले उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै खसी बोकाको स्वास्थ्य परीक्षण गरेर राम्रो रिपोर्ट भएका खसीबोकामात्र किनबेच गर्न आग्रह गर्दै आएको छ। 

जिल्लामा पशुहरुको स्वास्थ्य परीक्षण गर्ने क्वारेनटाइलको व्यवस्था नहुँदा यस्तो समस्या आएको पशु सेवा कार्यालय सिन्धुलीले जनाएको छ। जिल्लामा दसैँलगायतका चाडवाडहरुमा हजारौंको संख्यामा खसीबोका, राँगा तथा सुंगुरहरुको बिक्री वितरण हुने गरेको भएपनि त्यसको स्वास्थ्य जाँचका लागि आवश्यक व्यवस्थापन नहुँदा समस्या आएको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.