|

काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको भेटमा निर्मलाकी आमा दुर्गादेवी र बुबा यज्ञराज पन्त र प्रदेश ७ बाट प्रतिनिधित्व गर्ने नेताहरूको सहभागीता रहेको थियो। निर्मलाका आमा बाबुले अपराधी छिटो पत्ता लगाइदिन अनुरोध गरेका थिए। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार निर्मलाकी आमा दुर्गादेवीले प्रधानमन्त्रीसमक्ष घटनाबारे जानकारी गराएकी थिइन्।

निर्मलाकी आमाको घटनाबारेको ब्रिफीङ सुनेपछि प्रधानमन्त्री ओलीले आफूलाई उक्त घटनाले दुःखित बनाएको बताएका थिए। उनले भनेका थिए, 'निर्मलाको अभिभावक म पनि हुँ। यो घटनाबाट म पनि अत्यन्त दुःखी भएको छु।'

प्रधानमन्त्री ओलीले सरकारले सुरुमा गठन गरेका समितिले काम नगरेकाले अहिले उच्च स्तरीय समिति गठन गरेर छानबिन भइरहेको बताएका थिए। उनले भनेका थिए, 'पहिलेका समितिले काम नगरेपछि अहिले शक्तिशाली छानबिन गठन गरिएको छ। यो समितिले अपराधी पत्ता लगाउछ।'

प्रहरी प्रधान कार्यालयले आइतबार डिआइजी धिरु बस्नेतको नेतृत्वमा शक्तिशाली अनुसन्धान समिति गठन गरेको छ। यसअघि गृहमन्त्रालयले सह सचिव हरिप्रसाद न्यौपानेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

प्रधानमन्त्री ओलीले निर्मला बलात्कार र हत्याका दोषीलाई पत्ता लगाउन सरकार गम्भीर रहेको बताएका थिए। उनले निर्मलाका अभिभावकलाई भनेका थिए, 'यो विषयमा सरकार गम्भीर छ, सरकारले अपराधी पत्ता लगाउन कुनै पनि कसर बाँकी राख्दैन।'

प्रधानमन्त्रीलाई भेट्न खानेपानीमन्त्री (कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्य समेत रहेकी) बिना मगर, सांसदहरू भीम रावल, लेखराज भट्ट, कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, नेता एनपी साउद र रमेश लेखक लगायत रहेका थिए।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै निर्मलाका आमाबुबा। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.