|

काठमाडौं : सोमबार बिहान ललितपुर प्रहरी परिसर जावलाखेलमा सूचना आयो- ललितपुर गोदावरी नगरपालिका- ९ छम्पीको एक घरमा गाडीमै आएका एक समूहले घरै फोडेर लुटपाट गर्दै छन्।  

जावलाखेल प्रहरीको टोली सूचना पाउनसाथ मुभ भयो। तर प्रहरी छम्पी पुग्दा डकैती गर्ने समूह फरार भइसकेको थियो। प्रहरीले खोजी गर्दै जाँदा डकैती गर्ने समूहलाई भैँसेपाटीबाट बिहानको ४ बजे पक्राउ गर्‍यो। उनीहरूले डकैती गर्न प्रयोग गरेको बा१५प ६०८२ नम्बरको पिकअप गाडीसहित चार जना पक्राउ परे।

पक्राउ पर्नेहरूमा सोमलाल स्याङ्तान, सोमलाल थिङ, राजु लामा र कुमार लामा रहेका छन्। उनीहरू चारै जना मकवानपुर ईन्द्रसरोवर गाउँपालिका- ५ का रहेको ललितपुर प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए। उनीहरूले छम्पीका प्रह्लाद विष्टको घरको झ्यालको ग्रिल फोडेर लुटपाट गरेका थिए।

ललितपुर प्रहरीका अनुसार उनीहरूले यसअघि भदौ ३१ गते गोदावरीका गंगाराज थापाको स्टेसनरी पसल, ३१ गतेकै राती ललितपुर हरिसिद्धिका हरि महर्जनको सहकारी लुटेका थिए। महर्जनको सत्य वचत तथा सहकारी संस्थाको ढोका फोडेर उनीहरूले एक लाख २५ हजार रुपैयाँ नगद र अन्य अचल सम्पति चोरी गरेका थिए। त्यसैगरी भदौ १८ मा ललितपुर टीकाभैवको लुम्बिनी बैंकका सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर लुटपाटको प्रयाससमेत गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनीहरूले उपत्यकाका विभिन्न ठाउँमा लुटपाट गर्ने गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले उनीहरूको साथबाट चोरी गरेका सुनको मुन्द्रा एक थान, नौ हजार नगद, क्यामेरा र चोरी गर्न प्रयोग भएका फलामका औजारसमेत बरामद गरेको छ।

दिनमा रेकी, राती लुटपाट

ललितपुर प्रहरीका अनुसार उनीहरूले दिनमा रेकी गर्ने र राती चोरी गर्न हिँड्ने गरेका थिए। ललितपुर प्रहरी प्रमुख धानुकका अनुसार उनीहरूमध्ये केहीले फलाम (ग्रिल)को काम गर्ने र त्यही मौका पारी चोरी गर्ने र घरको रेकीसमेत गर्ने गरका थिए। यो समूहका केही सदस्य फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ। चोरी गर्न प्रयोग भएको पिकअप भ्यानको बारेमा समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

उच्च सुरक्षा सतर्कता

केही दिनअघि मात्रै ललितपुर प्रहरीको प्रमुख जिम्मेवारी पाएका धानुकले ललितपुरको सुरक्षा अवस्था मजबुत पार्ने बताएका छन्। 'नजिकिँदै गरेको दशैँ तिहारलाई लक्षित गरेर चोरी डकैती गर्ने समूह सक्रिय हुन सक्छन्, त्यसको नियन्त्रणका लागि प्रहरी सतर्क रहेको छ', धानुकले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.