|

इलाम : प्रदेश एक सरकारले प्रदेश गौरव आयोजनाको रुपमा राखेको झापाको दमकदेखि पाँचथरको रबि जोड्ने फाल्गुनन्द मार्गको सर्भे भएको २६ वर्षपछि कालोपत्रे गर्ने प्रक्रिया सुरु भएको छ। कालोपत्रे गर्न संघीय सरकारबाट दुई अर्ब २० करोड रुपैयाँ विनियोजन भएसँगै कालोपत्रेको प्रक्रिया अगाडी बढेको हो। दमकदेखि चिसापानीसम्मको सडकको ३४.५ किलोमिटरमध्ये २५ किलोमिटर कालोपत्रे गर्न सरकारले बहुवर्षे ठेक्का स्वीकृति दिएको छ। 

तीन वर्षमा निर्माण सम्पन्न हुने गरी बोलपत्र आह्वानको काम तत्काल अघि बढाउनका लागि अर्थ मन्त्रालयले निर्देशन दिएको हो। पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरका पाँच लाखभन्दा बढी नागरिक लाभान्वित हुने सो सडक कालोपत्रेका लागि अर्थ मन्त्री युवराज खतिवडा, पूर्वसभामुख सुवास नेम्बाङ, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र सांसद धिरेन्द्र शर्मा रमणले पहल गरेको दमक-रबी सडक उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले बताए। 

वि‍.सं २०५१ मा अन्तिम सर्भे सम्पन्न गरी झापाको दमकदेखि पाँचथरको रबी हुँदै पहाडी जिल्ला जोड्ने यो सडक निर्माण शुरु भएको थियो। सडकको ट्रयाक निर्माणका लागि सडक डिभिजन कार्यालय दमक मार्फत काम भएको थियो। मेची राजमार्गको वैकल्पिक मार्गमा रुपमा निर्माण गर्ने लक्ष्यका साथ २०१९ सालमा यस सडकको आइ सर्भे गरिएको थियो। २०४६ सालको राजनीतिक परिवर्तनपछि सडक निर्माणका लागि दबाब दिन उपभोक्ता समिति गठन गरिएको थियो। उपभोक्ता समितिको दबाबपछि सरकारले २०५१ सालमा अन्तिम सर्भे गरेको हो।        

झापाको दमक नगरपालिकाबाट सुरु भएको सडक इलामको माङसेबुङ, पाँचथरको रबी, ताप्लेजुङको ओलाङ्गचुङगोला हुँदै तिब्बत जोड्ने योजनाअनुसार सडक निर्माण सुरु भएको थियो। सरकारी योजना अनुसार झापाको दमक हुदै पाँचथर जिल्लाको रवि ४७ किलोमिटरसम्म २०५१ सालदेखि सडक निर्माण सुरु गरिएको हो। २०४९ सालमा मसिर ६ देखि प्रारम्भिक सर्भेपछि २०५१ सालमा गरिएको डिटेल सर्भेमा सडक निर्माणका लागि २६ करोड ९० लाखको अनुमान गरिएको थियो।  सडकको ट्रयाक खोल्न हालसम्म १५ करोड बढी रुपैयाँ खर्च भइसकेको सडक डिभिजन कार्यालय दमकले जनाएको  छ। 

सडकको १२ किलोमिटर चुरे क्षेत्र भएको र खोल्सा बढी रहेकाले निर्माणमा समस्या रहेको प्राविधिकको भनाइ छ। सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेमा सडक डिभिजन कार्यालयले २०७१ सालमा ट्रयाक खोल्न लक्ष्य राखे पनि २०७४ सालमा मात्रै सम्पन्न भएको थियो।  

चुरे क्षेत्रको भौगोलिक अवस्था, बढी खोला खोल्सीका कारण सडक निर्माणमा जटिलता रहको सडक उपभोक्ता समितिका पूर्वअध्यक्ष सुरेश सुब्बाले बताए। सडकको १२ किलोमिटर क्षेत्र रतुवा, दुधे, मझुवा, शंकरे, घर्तीलगायतका खोला र खोल्सा रहेको क्षेत्रमा अहिले पुल र कल्भर्ट लगाउने काम भइरहेको छ। हाल यस सडकखण्डमा पाँच वटा पुल रहेका छन्। त्यसमध्ये रतुवा खोलास्थित पुल निर्माण भइसकेको छ भने अन्य चार वटा निर्माणाधीन अवस्थामा छन्।

मन्त्रीले गरे 'फाल्गुनन्द मार्ग' को निरीक्षण
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.