|

रौतहट : गत भदौ २७ गते राती सुतिरहेका दुई किशोरीलाई एसिड प्रहार गर्ने एक जनालाई रौतहट प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिका- ६ बजारटोल निवासी जादोलाल दासका छोरीहरू १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दासलाई एसिड प्रहार गर्ने दासकै छिमेकी बाबुराम पासवानलाई प्रहरीले सार्वजनिक गरेको हो।

अन्दाजी ५० वर्षीय पासवाललाई रौतहट प्रहरीले चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पीडितका बाबु जादोलाल दासको किटानी र कल डिटेलको आधारमा अनुसन्धानका लागि अभियुक्त पासवानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक केदार ढकालले पत्रकार सम्मेलनमा बताए ।

प्रारम्भिक अनुसन्धानअनुसार किशोरीले पासवानको प्रेम अस्वीकारेपछि एसिड प्रहार गरेको हुन सक्ने प्रहरी उपरीक्षक ढकालले बताए। प्रहरी उपरीक्षक ढकालले भने, ‘पासवानले किशोरी सम्झनाको मोबाइलमा १५ दिनभित्र ११८ कल एकतर्फी गरेकाले पनि प्रेमको कारण नै घटना घटेको हुन सक्छ।'

थप अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी ल्याएको प्रहरी उपरीक्षक ढकालले बताए। पासवानलाई पीडित सम्झना र सुस्मिताको उपचार भइरहेको काठमाडाैंको कीर्तिपुर अस्पतालबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। पासवान पीडित परिवारसँगै उपचारको सहयोगी बन्दै अस्पताल नै पुगेका थिए। 

दोषी पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना भइरहेका बेला छिमेकी पासवानमाथि नै शंका बढ्दै गएपछि पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि रौतहट ल्याइएको थियो। मुलुकी संहिता २०७४ का अनुसार एसिड प्रहर गरी अनुहार कुरूप बनाएमा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अंग कुरूप पारेमा तीन वर्ष जेल र ५० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना रहने प्रावधान छ। 

एसिड आक्रमणबाट गम्भीर रहेकी दिदी सुस्मिता र स्वास्थ्यमा सुधार देखिएकी बहिनी सम्झनाको उपचार अहिले राजधानीको कीर्तिपुर अस्पतालमा भइरहेको छ। एसिड प्रहारबाट घाइते भएका दिदी-बहिनीको आर्थिक अभावको कारण उपचारमा कठिन भएको छ। दास दिदी-बहिनीलाई मंगलबार राती १२ बजेतिर घरमा सुतिरहेको अवस्थामा एसिड प्रहार गरी घाइते बनाइएको थियो।

घाइतेमध्ये दिदी सम्झनाको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका बाबु जादोलाल दासले बताए। उनको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ। दुवै छोरीहरूको उपचार गर्न खर्चको समस्या भएको काठमाडाैंमा रहेका बुबा दासले गुनासो गरे। घाइते भएका दिदी-बहिनीको उपचारमा आर्थिक अभाव भएपछि चन्द्रनिगाहपुरका युवा चन्दा संकलनमा जुटेका छन्।

आर्थिक अवस्था कमजोर भएका कारण दासका छोरीहरूलाई उपचार गर्न आर्थिक समस्या भएको स्थानीय युवा सहदेव केसीले बताए। उनको उपचारका लागि केही सहयोग होस् भन्ने उद्देश्यले चन्दा संकलन गर्न स्थानीय युवा जुटेको केसीले बताएका छन्। यसैगरी प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले चन्द्रपुर नगरपालिकालाई पीडित परिवारलाई सहयोग गर्न आग्रह गरेपछि एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.