|
फाइत फोटो

हेटौँडा : प्रदेश ३ को प्रदेशसभा बैठकमा मंगलबार दुईवटा विधेयक पेस भएको छ। प्रदेशसभा भवन हेटौँडामा बसेको बैठकमा प्रदेश खेलकुद विकास गर्ने सम्बन्धमा बनेको विधेयक र प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको विधेयक सामाजिक विकास मन्त्री युवराज दुलालले प्रस्तुत गरेका हुन्।

प्रदेश खेलकुद विकास गर्ने सम्बन्धमा बनेको विधेयकको सैद्धान्तिक छलफलमा मीना लामा, रीना गुरुङ, विराजभक्त श्रेष्ठ, राधा घले, शोभा शाक्य, रिता माझी लगायतले धारणा राखेका थिए। त्यस्तै, प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा सिर्जना सैंजु, विराजभक्त श्रेष्ठ, भीमसेन खत्री, ओमबहादुर घलान, बिजुला बर्मा, रिता माझी, रिना गुरुङ, भावना सुवेदी, रामेश्वर फुयाल, शोभा शाक्य र विजया केसी श्रेष्ठले धारणा राखेका थिए। प्रदेशसभा बैठकमा प्रदेश स्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक पारित भएको छ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रशासकीय कार्यविधी (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएको बारे प्रदेश प्रमुखको कार्यालयको पत्रबारे जानकारी गराएका थिए। उनका अनुसार प्रदेश का प्रमुख अनुराधा कोइरालाले सो विधेयक प्रमाणीकरण गरेकी हुन्।

प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले बैठकलाई जानकारी गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.