|

बिर्तामोड : आफूलाई पूर्वको सम्राट भन्न रुचाउने चर्चित हाँस्य गायक श्रीकृष्ण लुइटेल ‘बोकेदाह्री’ बेलाबेला चर्चामा आइरहन्छन्। गत वर्ष ‘पागल बनायो नारायन पापी फेसबुकले’ बोलको उनको गीत कान्तिपुर टिभीले ‘ब्याण्ड’ गरिदियो । त्यो कुरा समाचारमा आएपछि गीत झनै हिट भयो । श्रीकृष्ण पनि हिट भए। 

उनी यसपटक पनि चर्चाको शिखरमा छन्। कारण, उनको १२औँ एल्बम ‘बब्लु’ले बजार तताएको छ। बालक, युवा, बृद्ध सबैलाई उनका गीतका शब्द आउँदो भइसक्यो । चाडबाडको यो समय श्रीकृष्णलाई स्टेज प्रोग्रामका लागि निम्तोको ओइरो छ। उनलाई भ्याइ–नभ्याइ छ। भर्खरै एक हप्ता भारतको आसाम तताएर नेपाल फर्किएका उनी अहिले पूर्वी नेपालका विभिन्न स्थानमा आयोजना भइरहेका अधिकांश कार्यक्रममा देखिन्छन्। 

श्रीकृष्णको ‘बब्लु’ एल्बममा १० वटा गीत समावेश छन्। ५ वटाको भिडियो नै सार्वजनिक गरिसके उनले- ‘नलगाउ छोटा कपडा’, ‘ओके छ त’, ‘डल्लेकी बहिनीले’, ‘बाख्रा स्टाइल’ र ‘कलियुगको धर्म’। अहिले अधिकांशले यीनै गीतका शब्द प्रयोग गरिरहेका हुन्छन् । बब्लु एल्बमकै गीत गुन्गुनाइरहेका हुन्छन्। ५ वटै गीतको छायाङ्कन झापा र इलाममा गरिएको हो। बिर्तामोड, धाइजन, इटाभट्टा, सालबारी, शान्तिनगर, बर्नेलगायतका स्थानमा भिडियो खिचिएको श्रीकृष्णले बताए। 

यी ५ वटै गीतको भिडियोमा श्रीकृष्णले आफैँ अभिनय गरेका छन्। उनलाई गतिलो साथ दिएकी छिन्, अम्बिका अधिकारीले। श्रीकृष्णकी ८ वर्षीया छोरी सृष्टि लुइटेलको पनि अभिनय तथा नृत्य देख्न सकिन्छ भिडियोमा। ५ वटा गीतको भिडियो बनाउन ५ लाख खर्च भएको श्रीकृष्णले सुनाए। १० वटै गीतको भिडियो पूरा गर्दा १२÷१३ लाख रुपैयाँ खर्च हुने उनको अनुमान छ। स्टेज प्रोग्राममा व्यस्त उनी एक वर्षमै सम्पूर्ण लगानी उठ्ने बताउँछन्। बाँकी ५ वटा गीतको भिडियो भने तिहारपछि सार्वजनिक गर्ने उनले सुनाए। 

हाल सार्वजनिक गरिएका गीतमध्ये ‘ओके छ त’ सर्वाधिक चर्चामा छ। तर, यस गीतले यति धेरै चर्चा पाउछ भन्ने चाहिँ उनले सोचेकै रहेनछन्। किन यो गीतले यति धेरै चर्चा पायो त? उनी भन्छन्, ‘दर्शक तथा श्रोताको भाषामा भन्नुपर्दा यो गीत अलिक हाउडे छ। म चाहिँ यसलाई फन्नी गीत भन्छु,’ श्रीकृष्ण भन्छन्, ‘कतै जाँदा के छ भनेर सोधियो भने ओके छ त भन्छन्, धन्यवाद भन्दा पनि ओके छ त भन्छन्, मलाई यो शब्द मिठो लागेर गीतमा हालेको हुँ।’ 

यही गीतमा ‘ल्याङल्याङ’ शब्द पनि छ। उनी भन्छन्, ‘डिक्स्नेरीमा ल्याङल्याङको अर्थ त छैन होला, यसको अर्थ चाहिँ गनगन, कचकच भन्ने नै हो। यो फ्यामस शब्द हो, गीत हिट हुनुको कारण यही नै हो।’ यस एल्बममा स्वर, सङ्गीत, शब्द सबै श्रीकृष्णकै हो। भिडियोको निर्देशन पनि उनले नै गरेका हुन्। ‘टिपिकल सुटिङ’ भएकाले दर्शकले भिडियो मन पराएको उनी बताउँछन्। सुपारीको बोट, धानबारी, खोलाको किनारमा भिडियो छायाङ्कन गरिएको छ।

‘कलियुगको धर्म’ बोलको गीतले सर्वाधिक चर्चा पाउने श्रीकृष्णको अनुमान थियो। भइदियो ठीक उल्टो। युट्युवमा ५ वटै गीतको भ्यूअर हेर्दा यो गीत चौथो नम्बरमा पर्छ। ‘अहिलेको युगमा घरको वातावरण कस्तो हुँदैछ भन्ने कुरा प्रष्ट पारिएको छ भिडियोमा, बिचार नमिल्दा छोराबुहारीले बाबुआमालाई घरबाट निकालेको कुरा देखाइएको छ,’ श्रीकृष्ण भन्छन्, ‘युट्युवमा हेर्दा यस गीतमा कमेन्ट्स धेरै छन्। तर, भ्यूअर कम। एकपटक गीत हेरेपछि मन परेर डाउनलोड गरिहालेर यस्तो भएको होला।’

श्रीकृष्णले तिहारपछि निकाल्ने ५ वटा गीतमध्ये एउटा गीत निकै रोचक र घोचक छ। गीतमा उनले क्षेत्री–बाहुनको उछित्तो काडेका छन्। गीत यस्तो छ–

ओल्लो टाउन, पल्लो टाउन, सिलिगुढीको टाउन
क्षेत्री–बाहुन् खसी खाउन्, राईले जनै लाउन्
देउरालीको चुच्चे ढुङ्गा, देवी भन्दै पुज्छन्
जता सुँगुर च्वाँ–च्वाँ ग¥यो, त्यतै बाहुन् कुद्छन्
पहिले–पहिले बाहुन भाग्थे सुँगुरलाई देख्दा
अहिले सुँगुर भाग्छन् गाँठे बाहुनलाई देख्दा

यो गीतको भिडियो सार्वजनिक भएपछि सर्वाधिक हिट हुने उनको अनुमान छ। तर, उनको अनुमानमा विश्वस्त हुन सकिँदैन। किनकि, अहिलेसम्म उनको अनुमानले सधैँ फेल खाएको देखिन्छ। 

एकदशक अघि ‘ए बा किन्देउ न भटभटे’ बोलको कमेडी गीतबाट श्रीकृष्ण एकाएक हिट भएका थिए। ‘बोकेदाह्री’ एल्बमको त्यही चर्चितले उनलाई यहाँसम्म ल्याइपुर्‍यायो। तर, त्यो गीत पनि उनले ‘कामचलाउ’का लागि एल्बममा राखेका थिए। ‘साली कमला...बिमला त पोइल गई दोकान सम्हाल’ उनले आशा गरेको गीत थियो। ‘तर, ठ्याक्कै उल्टो भइदियो त्यसबेला पनि,’ उनी भन्छन्, ‘एल्बमका लागि सातवटा मात्र गीत भएकाले आठ पुर्‍याउनलाई मैले ए बा किन्देउ न भटभटे थपेको थिएँ।’

मोरङको अमरदहमा हुर्किएका श्रीकृष्ण झापा बसेको १० वर्ष भयो। पूर्वका कुरा देशभर देखाउने/सुनाउने आफ्नो चाहना भएको उनी बताउँछन्। ‘यहाँ बारीमा, भीरमा फूल्ने फूल काठमाडौँमा गमलामा फुल्छ। फूलको अस्तित्व त यहाँ छ नि!’ उनी भन्छन्, ‘मैले काठमाडौँ छोड्को होइन, काठमाडौँले चाहिँ मलाई छोडेको हो।’ उनी काम पर्दामात्र काठमाडौँ आइजाई गर्छन्।

श्रीकृष्ण यतिबेला पूर्वको सम्राटका नामले चिनिन थालेका छन्। आफ्नो फेसबुक आइडीमा पनि उनले ‘पूर्वको सम्राट श्रीकृष्ण लुइटेल’ लेखेका छन्। उनी पूर्वमै रमाएका छन्। ‘पूर्वमा कोही सम्राट छैनन्, सबै राजधानी छिरिसके,’ उनी भन्छन्, ‘जब यहाँ कोही सम्राट छैनन् र सबै काठ्माडौँमुखी भए भने यहाँको सम्राट त मै हुँ नि!’ काठमाडौँ जान खासै मन नलाग्ने बताउँछन् उनी। श्रीकृष्ण भन्छन्, ‘प्रोग्राम छैन काठमाडौँमा, म यहीँ रमाएको छु। उताका गायकहरुले फोन गरेर पूर्वमा प्रोग्राम मिलाइदिनु पो भन्छन्!’

श्रीकृष्णसँग अनौठो कला छ। स्टेजमा चढेपछि उनी गाउँदैनन् मात्र, हसाउँछन् पनि। अनेक थोक बोलेर दर्शक हँसाउन खप्पिस् छन् उनी। ४० लाख नेपालीको बसोबास रहेको भारतको आसाममा यसपटक एकसाता बस्दा उनले त्यहाँका नेपालीलाई पनि खुब हँसाए। ‘त्यहाँका दर्शक त वान्स मोर भन्नुहुन्छ, नाचेको नाच्यै गर्नुहुन्छ,’ श्रीकृष्णले भने। आसाममा आफ्नो प्रस्तुति हेर्न ५ सय किलोमिटर टाढाबाट गाडी रिजर्भ गरेर दर्शक आएको उनले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.