|

बागलुङ : भदौ २९ गते खसेको पहिरोका कारण थुनिएको बडिगाड खोला अझै खुलेको छैन्। कडा चट्टान आएर खोला थुनेका कारण सामान्य उपाएले मात्रै खोला खोल्न सम्भव नभएको जिल्ला प्रसासन कार्यालय बागलुङले जनाएको छ। 

मध्यपहाडी लोकमार्गको तुरतुरेमा खसेको पहिरो र त्यसले बडीगाड खोलामा बनेको ताल फुटाउन नेपाली सेनाको इन्जिनियर टोलीले अध्ययन गरेको छ। तालको बस्तुगत अवस्था अध्ययन गरेर सुरक्षित तरिकाबाट ताल फुटाउनका लागि सेनाको प्राविधिक टोली बागलुङ आएको हो।

टोलीमा नेपाली सेनाको पश्चिमाञ्चल पृतना कार्यालय पोखराबाट सेनानी बलबहादुर थापाको कमाण्डमा ११ जनाको इन्जिनियरिङ टोली तथा मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका डिभिजन इन्जिनियर रहेका छन्। नेपाली सेनाको इन्जिनियरिङ टोलीले मंगलवार तालको पानी खोल्न सकिने नसकिने विषयसँगै लोकमार्ग सञ्चालनमा के गर्न सकिन्छ भन्ने भौगोलिक अध्ययन गरेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जानकारी दिए। ‘नेपाली सेनाको टोली कसरी ताल खोल्न सकिन्छ अध्ययन सुरु गरेको छ,’ प्रमुख जिल्ला अधिकारी खरेलले भने, ‘सडकका इन्जिनियरले सडकको अवस्थाबारे नापजाँच सुरु गरेका छन्।’

नेपाली सेनासँगै स्थलगत अध्ययनमा पुगेका प्रमुख जिल्ला अधिकारीले भने, ‘ताल खोल्ने बारे सेनाले निकालेको निश्कर्ष अनुसार अगाडि बढिनेछ।’ पहरीले बनेको तालबाट गत शनिवार बिहान मात्रै ओभरफ्लो भएर बग्न थालेको थियो। तर, पहिरोले बनेको ताल कसरी खोल्ने भनेर विज्ञ टोलीको अध्यनपछि मात्रै बताउने बाग्लुङका प्रमुख जिल्ला अधिकारी खरेलले बताए।

स्थानीय नागरिकले जति सक्यो छिटो तालको पानी हटाउन सम्वन्धित निकायसँग माग गरिरहेका छन्। मध्य पहाडी लोकमार्ग भन्दा करिव ५ सय मिटर माथिबाट पहाडै खसेर अहिले लोकमार्ग नै अवरुद्ध छ। सडक अवरुद्ध भएसँगै बुर्तिबाङहुँदै बाहिर जाने यातायातका साधनहरु बन्द भएका छन् । बुर्तिबाङ निसी भूजी तमान क्षेत्रमा आउने यात्रुहरुलाई समेत अर्को विकल्पको सडक नभएपछि दिनभर जसो भिमगीठेमै अलपत्र अवस्थामा छन् । पहिरोले बनेको तालमा ढोरपाटन नगरपालिकाको वडा नं २ सिमलचौरमा ४ घर डुवानमा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.