|

बैतडी : संविधान जारी भएको दिनको खुसीयालीमा बैतडीमा देउडा र छलिया खेलेर संविधान दिवस मनाइएको छ। खुसीयालीमा खेलिने छलिया नृत्य संविधान दिवसको अवसरमा खेलिएको हो।

सदरमुकाममा आयोजित कार्यक्रममा छलिया नृत्य प्रदर्शन गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए। साहीलेक बजारबाट बाजागाजा र छलिया नाचसहित दिवसको अवसरमा र्‍याली निकालिएको थियो।

संविधान प्राप्त भएको दिन खुसीयालीमा छलिया खेलेर संविधान दिवस मनाइएको उनले बताए। र्‍याली र छलियापछि दशरथचन्द नगरपालिकाको हलमा अन्तरक्रियासमेत सम्पन्न गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा प्रमुख अतिथी रहेका थिए।

दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले संविधानको सफल कार्यान्वयनमा जोड दिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो।

यस्तै दिवसको अवसरमा पाटन नगरपालिका ८ खोड्पे बजारमा देउडा कार्यक्रमको आयोजना गरिएको छ। स्थानीयको सहभागितामा दिवसको अवसरमा देउडा खेलिएको पाटन नगरपालिका प्रवक्ता लोकबहादुर भण्डारीले बताए। 'जनताको संविधान जारी भएको दिनको खुसीयालीमा जनताको सहभागितामा देउडा खेलिएको हो' उनले भने।

देउडामा संविधानका विशेषता झल्किने शब्द प्रयोग गरिएका र यसले नागरिकलाई संविधानको बारेमा थप बुझाइ भएको पाटन नगरपालिका खोड्पेका हरिश बिष्टले बताए। पाटन नगरपालिका ८ मा भएको देउडा प्रतियोगितामा पुरुषतर्फ भाष्करदत्त पन्त प्रथम, महेश भट्ट द्वितीय नयनसिंह बोहरा तृतीय भएका छन्।

यस्तै महिलातर्फ वासु भट्ट प्रथम, लक्ष्मी पाण्डे द्वितीय र लीला महरा तृतीय भएका छन्। प्रतियोगितामा प्रथम हुनेलाई दुई हजार पाँच सय, द्वितीय हुनेलाई दुई हजार र तृतीय हुनेलाई एक हजार पाँच सयका दरले पुरस्कार वितरण गरिएको छ।

यस्तै पाटन नगरपालिकाको आयोजनामा पनि पाटनमा अन्तरक्रियाको आयोजना गरी संविधान दिवस मनाइएको छ। नगरप्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा दिवस मनाइएको हो।

यस्तै पुरचौडी नगरपालिका ३ मा रहेको विणेश्वर माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। राधेराधे जनरल स्टोरको आयोजनामा भएको प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने नगद पुरस्कार र प्रमाण पत्र वितरण गरिएको छ। यस्तै दिवसको अवसरमा राधेराधे जनरल स्टोरले विणेश्वर मावि नकालीमा २५ हजार बराबरको अक्षयकोष स्थापना गरेको जनरल स्टोरका प्रोपाईटर अनिरुद्र जोशीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.