|

जनकपुरधाम : विज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विश्वको इतिहासमा संघीयता कार्यान्वयन पक्ष अत्यन्त जटिल भएकाले देशलाई संघीयतामा विकास गर्न एक शक्तिशाली पार्टीको आवश्यकता अनुरुप नेकपाको निर्माण भएको बताएका छन्।

मन्त्री पोखरेलले संविधानको लक्ष्य अनुरुप सबै जनतालाई सुखी र समृद्ध बनाउन एउटा मानिस धनी र अर्को गरिब भएर समृद्धि प्राप्त नहुने भएकाले जनताकाे समृद्धिका लागि प्रविधिमैत्री शिक्षा आवश्यक भएको बताए। शहीदको नगरी शहिदनगरपालिका यदुकूहामा आयोजित नगरस्तरीय शिक्षा विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा शिक्षा मन्त्री पोखरेलले भने,‘ संविधान भनेको जनताकाे परिवर्तनको सूत्र हो। जनताको स्वार्थसँग गाँसिने विषयवस्तु भनेको संविधान हो। यदि त्यो जनताको जनजीविकासँग जोडिदैन भने त्यो कागजको खोष्टा मात्र हुन्छ।’

मन्त्री पोखरेलले देशमा संघीयताका लागि मधेस आन्दोलनले युगान्तकारी परिवर्तनको भूमिका खेलेको भन्दै अब सोही अनुसार शिक्षामा समेत प्राविधिक शिक्षाको युगान्तकारी परिवर्तनको आवश्यकता भएको बताए। शिक्षामन्त्री पोखरेलले यसवर्षमा मात्र  मुलुकका तीन लाख १३ हजार बालबालिका विद्यालय बाहिर रहेकाे तथ्यांक प्रस्तुत गरे। त्यसमा ४९ प्रतिशत विद्यार्थी प्रदेश २ का रहेकोले अब सबैको लागि अनिवार्य शिक्षा, निःशुल्क शिक्षा प्रणाली ल्याई समृद्धिसँग शिक्षालाई जोड्न लागिएको पनि बताए। उनले शिक्षालाई श्रम, सीप, उत्पादन, रोजगारी र समृद्धिसँगै जाडेर अघि लगिए मात्र जनतामा परिवर्तनको आभास हुने दाबी गरे। 

उनले सरकार निर्माण भएदेखि हालसम्म ६ महिनाको अवधिमा २०० सामुदायिक विद्यालयलाई प्राविधि शिक्षासँग जोडिएको बताए। उनले १२ कक्षा बढेका हरेक विद्यार्थीलाई अनिवार्य एउटा सीप सिकेको हुनुपर्ने बताउँदै शिक्षामा जोडका लागि मन्त्री पोखरेलले भने,‘राष्ट्रको उन्नति र प्रगतिको लागि अनिवार्य शिक्षा ल्याउँनुपर्छ।त्यसका लागि सरकारले हाल ४१ जिल्लामा १३ लाख बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेको छ।  क्रमश बाँकी अन्य जिल्लाहरूमा समेत यही शैक्षिक सत्रभित्र खाजाको व्यवस्था गरिन लागिएको छ।’   

शहीद नगरमा प्राविधिक शिक्षालयको घोषणा

विज्ञान प्रविधि तथा शिक्षामन्त्री  पोखरेलले धनुषाको शहीद नगरपालिकाको यदुकूहामा प्राविधिक शिक्षालयको घोषणा गरेका छन्। बिहीबार आयोजित नगरस्तरीय शिक्षा विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले प्रस्तुत गरेको शिक्षालयको योजनापछि मन्त्री पोखरेलले प्राविधिक शिक्षालयको घोषणा गरेका हुन्।

कार्यक्रममा मन्त्री पोखरेलले देशकै कान्छो प्रमुख भनिएको शहीद नगरका प्रमुख उदयकुमार बरबरिया यादवलाई मिशन र भिजनका साथ शिक्षालयको काममा अघि बढ्न सुझाव दिएका थिए। कार्यक्रममा उनले आफूले प्राविधिक शिक्षालयको लागि आवश्यक योजना र रणनीति सहित छिट्टै मन्त्रालय पेश गर्ने दाबी समेत गरे। उनले नगरका विद्यार्थीहरूलाई आफ्नै घरमा बसेर सीप र रोजगारीमूलक शिक्षाका लागि आफू तत्पर रहेको बताए।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जोगकुमार वरवरिया यादव (श्रवण), नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिमार महतो सहितका वक्ताहरूले बोलेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.