|

लहान : सिरहाको धनगढीमाई नगरपालिका– १२ गडम्मे बजार क्षेत्रबाट बिहीबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना अञ्चल ब्युरोस्तरका नेता सुतली बम र खुकुरीसहित पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा ताप्लेजुङ खप्तालुङ २ घर भएका करिब ३५ वर्षीय यम लिम्बु र सिन्धुली हरिपुर २ घर भएका ३५ वर्षीय आकाश राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले लिम्बु नेकपाको मेची अञ्चल ब्युरो र राई जनकपुर अञ्चल ब्यूरो सदस्य र सिरहा सप्तरी जिल्ला इञ्चार्ज रहेको खुलेको बताए। 

प्रहरीका अनुसार उनीहरू सिरहाको उत्तरी क्षेत्रमा पर्ने चुरे जंगल नजिकै रहेको गडम्मे बजार क्षेत्रबाट पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी र धनगढीबाट गएको प्रहरीले उनीहरूकाे साथबाट सात वटा झोला बरामद गरेको छ। झोलाबाट दोस्रो जनयुद्धसम्बन्धी पर्चा, पम्प्लेट, पुस्तकहरु बरामद भएको प्रहरीले जनाएको छ।

त्यसअघि प्रहरीले सिरहाको लहान नगरपालिका १३ पक्की टोलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरीसहित चार जनाविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को सार्वजनिक उपद्रव सम्बन्धी मुद्दा चलाएको छ। मुद्दा चलाइएकाहरूमा धनुषाको धनुषाधाम नगरपालिका ५ ठेगाना रहेका जिल्ला सेक्रेटरी इन्दल साहसहित कार्यकर्ता बताउने सिरहाको गोलबजार नगरपालिका ५ का गोविन्द सदाय, अनिता सदा र ६ की वीनादेवी मुखिया छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.